ग्लोबल


यस्ता छन् युद्धविरामलाई आफ्नो ‘विजय’ भनेको इरानले अमेरिकासँग राखेका १० सर्त

यस्ता छन् युद्धविरामलाई आफ्नो ‘विजय’ भनेको इरानले अमेरिकासँग राखेका १० सर्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी सर्वोच्च नेता मोज्तबा खामेनी (फाइल फोटो))


नेपालखबर
चैत २५, २०८२ बुधबार ११:५१, काठमाडौँ

अन्तत: मंगलबार राति अमेरिका र इरानबिच २ हप्ता युद्धविराम गर्ने सहमति भएको छ। 

युद्धविरामको घोषणा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। 

साथै इरानले पनि युद्धविराम सम्झौता भएको पुष्टि गरेको छ। साथै उसले यसलाई आफ्नो ‘विजय’ भनेको छ। 

पाकिस्तानको मध्यस्थतामा युद्धविराम सम्झौता भएको उल्लेख गर्दै ट्रम्पले यसका लागि इरानबाट दशबुँदे प्रस्ताव आएको जानकारी दिएका छन्।

यसैबिच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो दशबुँदे प्रस्ताव स्वीकार गरेको दाबी गरेको छ।

आफूले राखेका सर्तमा युद्धविराम सम्झौता भएको भन्दै परिषद्‌ले यो ‘देशको जित’ भनी दाबी गरेको छ।

के-के छन् इरानका दश बुँदामा?

१. आक्रमण पूर्ण रूपमा अन्त्य

-अमेरिका र इजरायललाई सबै सैन्य आक्रमण बन्द गरिनुपर्ने माग गरिएको छ।

२. सबै प्रतिबन्ध हटाउने

-सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने माग गरिएको छ।

३. स्थिर सम्पत्ति फिर्ता गर्ने

-आफ्ना सबै फ्रिज फन्ड तथा सम्पत्ति फिर्ता गरिनुपर्ने 

४. युद्धको स्थायी अन्त्य

-युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य गरिनुपर्ने माग

५. अमेरिकी सेना फिर्ता गर्ने

-इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने 

६. क्षतिपूर्ति

-युद्धका क्रममा भएका क्षतिबापत आर्थिक मुआब्जा वा पुनर्निर्माणको व्यवस्था 

७. होर्मुज स्ट्रेटमा नियन्त्रण

-होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण हुनुपर्ने 

८. सुरक्षित आवतजावत तर सर्तसहित

-होर्मुज स्ट्रेटबाट जहाजहरूलाई आवतजावतका लागि अनुमति दिइने तर इरानी सेनासँग समन्वय गरेर।

९. जहाजलाई शुल्क 

-इरानले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने प्रतिजहाज लगभग २० लाख डलर शुल्क लिने प्रस्ताव गरेको छ। जुन ओमानसँग सेयर गरिनेछ।

१०. क्षेत्रीय द्वन्द्वको पनि अन्त्य

-लेबननमा हेजबुल्लाहविरुद्ध आक्रमणसहित क्षेत्रीय आक्रमण पनि अन्त्य गरिनुपर्ने

मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले अमेरिका र इरानबिच युद्धविराम सम्झौता भएको उल्लेख गर्दै स्थायी शान्ति स्थापनाका लागि आगामी शुक्रबार (अप्रिल १० मा) दुई देशका प्रतिनिधिले इस्लामाबादमा थप वार्ता गर्ने बताएका छन्। 

‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ- इरान र अमेरिका आफ्ना सहयोगीहरूसँगै लेबननसहित सबै ठाउँमा तुरुन्तै युद्धविराम गर्न सहमत भएका छन्’, सरिफले एक्समा लेखेका छन्, ‘म यो समझदार कदमलाई हार्दिक स्वागत गर्दछु र दुवै देशको नेतृत्वलाई हार्दिक धन्यवाद दिन्छु। म १० अप्रिल २०२६ शुक्रबार इस्लामाबादमा उनीहरूका प्रतिनिधिहरूलाई आमन्त्रण पनि गर्दछु ताकि सबै विवाद अन्त्य गर्दै अन्तिम सम्झौताका लागि थप वार्ता गर्न सकियोस्।’

उनले इस्लामाबादमा हुने वार्ताबाट दिगो शान्ति प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन्।

उता इजरायलले पनि उक्त युद्धविराम सम्झौतालाई स्वीकार गरेको छ। तर उसले लेबननमा यो सम्झौता लागु नहुने बताएको छ।

आफ्नो आधिकारिक विज्ञप्तिमा इजरायलले भनेको छ, ‘हामी इरानमा आक्रमण दुई हप्ताका लागि रोक्ने राष्ट्रपति ट्रम्पको निर्णयलाई समर्थन गर्छौं- यदि इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्छ र अमेरिका, इजरायल र अन्य देशहरूमा आक्रमण बन्द गर्छ भने।’

इजरायलले अगाडि भनेको छ, ‘इरानले अब आणविक हतियार, क्षेप्यास्त्र वा आतंक नमच्चाउने सुनिश्चितताका लागि अमेरिकाको प्रयासलाई इजरायल समर्थन गर्दछ।’  

अमेरिकाले आफूलाई यी लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको जानकारी दिएको इजरायलले उल्लेख गरेको छ।

विज्ञप्तिमा अगाडि भनेको छ, ‘अमेरिकाले आगामी वार्तामा हामी र हाम्रा क्षेत्रीय सहयोगीहरूसँग यी लक्ष्य साझा गर्नेछ।’

अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता युद्ध जारी थियो। 

त्यसयता इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी, नौसेना कमान्डर अलिरेजा ताङसिरी, नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनाम रेजाई र अहिले गुप्तचर संगठनका प्रमुख माजिद खादेमी पनि मारिइसकेका छन्।

बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको थियो। युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या ५ हजार नाघिसकेको छ।

पछिल्लो तथ्यांक यस्तो छ

इरान : ३,५१९ जना मारिए 

अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।

लेबनन : १,३१८ जना मारिए

लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्।

छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ। तीनै जना सैनिक इन्डोनेसियाली थिए।

इराक : कम्तीमा १०७ जना मारिए

इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान-समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका-समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।

इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।

इजरायल : १९ जना मारिए 

इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ। साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।

अमेरिका : १३ जना मारिए 

अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।

खाडी क्षेत्र

संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्। 

हालै अमेरिकाले जारी गरेको तथ्यांकअनुसार अमेरिकी सेनाका १३ जना मारिएका छन् भने ३६५ सैन्य कर्मचारी घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad