ग्लोबल


इरान-अमेरिका युद्धविराम सम्झौतामा इजरायलको अडानले अन्योल

इरान-अमेरिका युद्धविराम सम्झौतामा इजरायलको अडानले अन्योल

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
चैत २५, २०८२ बुधबार १४:५५, काठमाडौँ

अमेरिका र इरानबिच भएको युद्धविराम सम्झौतामा लेबननमा पनि आक्रमण रोक्ने कुरा छ कि छैन भन्ने विषयमा द्वन्द्व देखिएको छ।

इरान र द्वन्द्वरत दुई देशबिच मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ दुवैले यो सम्झौता लेबननमा पनि लागु हुने बताएका छन्।

तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘यो युद्धविराम लेबननमा लागु नहुने’ उल्लेख गरिएको छ।

लेबननमा इजरायलको आक्रमण

हालैका हप्तामा इजरायलले दक्षिणी लेबननमा स्थल सेना पठाएको छ र हेज्बुल्लाहबाट हुने कुनै पनि खतरा पूर्ण रूपमा अन्त्य  नभएसम्म लिटानी नदीको दक्षिणी क्षेत्रमा नियन्त्रण कायम राख्ने बताएको छ।

इजरायलले हेजबुल्लाहको नियन्त्रणमा रहेका क्षेत्रविरुद्ध लेबननमा ठुलो मात्रामा आक्रमण गरेको छ। जसबाट त्यहाँ गाउँ तथा घरहरू ध्वस्त भएका छन्, लाखौँ मानिस विस्थापित भएका छन्। इजरायलले हेजबुल्लाह नहटाएसम्म विस्थापितहरूलाई फर्कन अनुमति नदिने बताएको छ।

विपक्षी नेताद्वारा नेतन्याहुको आलोचना

इजरायलका विपक्षी नेता यायर लापिडले युद्ध व्यवस्थापनका सन्दर्भमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आलोचना गरेका छन्।

किनिक नेतन्याहुले इरानसँग अमेरिकाले गरेको युद्धविराम सम्झौता स्वीकार त गरेका छन् तर सँगसँगै यो लेबननमा लागु नहुने बताएका छन्।

नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुईहप्ते युद्धविराम लेबननमा लागु हुने छैन।’ 

तर इरान र पाकिस्तान दुवैले युद्धविराम त्यहाँ पनि लागु हुने बताएका छन्।

विपक्षी नेता लापिडले यस अवस्थालाई इजरायलका लागि ‘राजनीतिक विपत्ति’को संज्ञा दिएका छन्।

उनले भनेका छन्, ‘हाम्रो राष्ट्रिय सुरक्षाका मुख्य मुद्दामा निर्णय गर्ने बेला इजरायल वार्ताको टेबलमै थिएन।’ 

उनले अगाडि भनेका छन्, ‘सेनालाई जे गर्न भनिएको थियो, त्यो सबै गर्‍यो। जनताले ठुलो धैर्यता देखाए, तर नेतन्याहु राजनीतिक रूपमा असफल भए, रणनीतिक रूपमा विफल भए र आफूले राखेका कुनै पनि लक्ष्य हासिल गर्न सकेनन्।’ 

इजरायली सेनाको चेतावनी

यसैबिच इजरायली सेनाले दक्षिणी लेबननको सहर टायरका बासिन्दालाई तुरुन्तै त्यहाँबाट हट्न भनेको छ।

सेनाले स्थानीयलाई भनेको छ, ‘तत्काल आफ्नो घर खाली गर्नू र आफ्नो सुरक्षा सुनिश्चित गर्न जहरानी नदीको उत्तरतिर सर्नू।’ बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad