इरानका उपविदेशमन्त्री सइद खातिबजादेहले आफ्नो देश अझै अमेरिकासँग प्रत्यक्ष वार्ताका लागि तयार नभएको बताएका छन्।
खातिबजादेहले अमेरिका आफ्ना कडा सर्त त्याग्न तयार नदेखिएकाले थप वार्ता सम्भावना नभएको बताएका हुन्।
उनले एसोसिएटेड प्रेससँग भनेका छन्, ‘इरानले आफ्नो संवर्धित युरेनियम अमेरिकालाई दिने छैन।’
खातिबजादेहले दुई पक्षबिच सम्पर्क भने भइरहेको बताएका छन्। तर इरान आमनेसामने वार्ताअघि ‘सम्झौताको ढाँचा’ चाहने उनको भनाइ छ।
उनले अगाडि भनेका छन्, ‘अमेरिकाले इरानमा लगाइएका प्रतिबन्धसहित हाम्रा मुख्य चासो बुझ्नुपर्छ र सम्बोधन गर्नुपर्छ।’
यसअघि शनिबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता धेरै राम्रोसँग अगाडि बढिरहेको बताएका थिए।
तर खातिबजादेहको दाबी ट्रम्पको भनाइविपरीत देखिएको छ।
यसअघि हालै पाकिस्तानमा अमेरिका र इरानबिच २१ घण्टा वार्ता भए पनि सहमति हुन सकेन।
Shares

प्रतिक्रिया