चिनियाँ कम्पनीहरुले यसै वर्षभित्र नयाँ जेनेरेसनको स्मार्टफोन प्रोसेसर बनाउने तयारी थालेका छन्। अमेरिकाले अत्याधुनिक प्रविधिमा चीनको पहुँच रोक्ने प्रयास गरिरहे पनि चीनले सो सफलता हात पार्ने देखिएको हो।
चीनको सबैभन्दा ठूलो चिप निर्माता एसएमआईसीले सांघाइमा नयाँ सेमिकन्डक्टर कारखाना खोलेको छ। जसले ह्वावेले डिजाइन गरेको चिप उत्पादन गर्ने बताइएको छ।
बेइजिङ चिप निर्माणमा आत्मनिर्भर हुने कोसिस गरिरहेको छ। अमेरिकाले गत अक्टोबरदेखि नै चिप बनाउन अत्यावश्यक प्रविधि चीनमा निर्यात गर्न प्रतिबन्ध लगाएको छ।
अमेरिकाले चीनलाई नयाँ उपकरण हात पार्न नदिन जापान र नेदरल्यान्ड्ससँग समेत सहकार्य गरिरहेको छ।
एसएमआईसीले यसअघि नै किनिसिकेको अमेरिकी र डच उपकरणको सहायताले ५ नानोमिटरको चिप बनाउने तयारी गरेको छ। यसलाई ह्वावेको नयाँ प्रिमियम स्मार्टफोनहरुमा प्रयोग गरिनेछ।
अहिले सबैभन्दा आधुनिक चिप ३ नानोमिटरको हो। ५ नानोमिटर यो भन्दा एक जेनरेसन पछाडि छ। तथापि, ५ नानोमिटर चिपको निर्माणले पनि अमेरिकी प्रतिबन्धका बाबजुद चीनले ठूलो प्रगति गरिरहेको पुष्टि हुनेछ।
गत अगस्टमा ७ नानोमिटर चिप प्रयोग गरिएको मेट ६० प्रो स्मार्टफोन बजारमा ल्याएर ह्वावेले यो उद्योग र यसका विश्लेषकहरुलाई चकित तुल्याएको थियो। एजेन्सी
Shares
प्रतिक्रिया