डोनाल्ड ट्रम्पले अमेरिकाको नयाँ पुस्ताको फाइटर जेट बनाउने अर्बौं डलरको ठेक्का बोइङ कम्पनीलाई दिएका छन्। अमेरिकाका प्रमुख एरोस्पेस कम्पनीबीचको प्रतिस्पर्धापछि वायु सेनाले बोइङलाई सो ठेक्का दिने निर्णय गरेको ट्रम्पले बताएका छन्।
सो विमान अहिलेसम्म बनेकामध्ये ‘सबैभन्दा आधुनिक, सबैभन्दा क्षमतावान्, सबैभन्दा घातक’ हुने पनि ट्रम्पको दाबी छ।
शक्तिशाली मुलुकहरूबीच छैटौँ पुस्ताको लडाकु विमान बनाउने प्रतिस्पर्धा चलिरहेको छ। हालै चीनले पनि छैटौँ पुस्ताको विमान बनाएर उडाएको रिपोर्टहरू प्रकाशित भएका छन्।
अमेरिकाका ४७ औँ राष्ट्रपति ट्रम्पले अब बन्ने सो विमानको नाम एफ–४७ राखेका छन्। यसले अमेरिकी वायुसेनाको प्रमुख लडाकु विमान एफ–२२ लाई विस्थापित गर्ने छ।
एफ–४७ कार्यक्रमका विवरणहरू गोप्य राखिएका छन्। यो विमान बनाउन कति खर्च लाग्छ, खुलाइएको छैन। तर, गत वर्षको बजेटको आकारअनुसार एफ–४७ को खोज तथा विकासमा वायु सेनाले २० अर्ब डलरसम्म खर्च गर्ने देखिन्छ।
ट्रम्पको घोषणापछि बोइङको सेयर उकालो लागेको छ भने ठेक्का नपाएको लकहिड मार्टिनको सेयर ओरालो लागेको छ। बोइङले यसअघि पनि लकहिड मार्टिनसँग मिलेर एफ–१५ र एफ–२२ बनाइसकेको छ।
यो ठेक्का जित्नुको अर्थ के हो भने बोइङले दशकौँसम्म सयौँ अर्ब डलरको विमानको अर्डर प्राप्त गर्ने छ। जसले संकटमा रहेको सो कम्पनीलाई ठूलो मद्दत पुग्ने अनुमान गरिएको छ।
एफ–३७ को डिजाइन र विशेषता सबै गोप्य छ। तर, यो विमान स्टिल्थ, अत्याधुनिक सेन्सरयुक्त र उत्कृष्ट इन्जिनसहितको हुने छ।
‘एफ–२२ को तुलनामा एफ–४७ सस्तो हुने छ भने यो भविष्यका खतराप्रति ज्यादा अनुकूलनीय पनि हुने छ। हामीसँग एफ–४७ धेरै हुने छन्,’ अमेरिकी वायु सेनाका चिफ अफ स्टाफ जर्नेल डेविड अल्विनले भनेका छने।
अल्विनका अनुसार एफ–४७ लामो दूरीसम्म उड्न सक्ने छ। एजेन्सी
Shares

प्रतिक्रिया