रुसले विश्वको पहिलो न्युक्लियर पावर्ड अर्थात् आणविक शक्तिले चल्ने क्रुज मिसाइल बुरेभस्टनिक-९एम७३९ को सफलतापूर्वक परीक्षण गरेको छ। यो मिसाइलको दूरी असीमित भएको दाबी गरिएको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार भिडिओ सम्मेलनका क्रममा सबै परीक्षण सम्पन्न भएको बताए।
उनले भने, 'संसारका कुनै पनि देशसँग यस्तो मिसाइल छैन। पहिले धेरै विज्ञ यस्तो हतियार विकास गर्न सकिन्छ कि भनेर निश्चित थिएनन्, तर अब यो वास्तविकतामा परिणत भएको छ।'
रुसी सेना प्रमुख भ्यालेरी गेरासिमोभले अक्टोबर २१ मा मिसाइलको सफलतापूर्वक परीक्षण गरिएको बताए। परीक्षणका क्रममा बुरेभस्टनिकले लगभग १५ घण्टा उडान भरेर १४ हजार किलोमिटरको दूरी तय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
गेरासिमोभले भने, 'यो मिसाइलको अधिकतम दायरा होइन; यसले अझै टाढा यात्रा गर्न सक्छ।'
क्षेप्यास्त्रप्रति विज्ञको चिन्ता
क्षेप्यास्त्र विज्ञ जेफ्री लुइसले रुसले बुरेभेस्टिन क्षेप्यास्त्र परीक्षण गर्नु चिन्ताको विषय भएको बताएका छन्। यो एउटा सानो उड्ने 'चेर्नोबिल' हो।
चेर्नोबिल युक्रेनको एउटा सहर हो। सोभियत युगमा १९८६ अप्रिल २६ मा यो इतिहासको सबैभन्दा खराब आणविक दुर्घटनास्थल थियो।
चेर्नोबिल न्युक्लिएर पावर प्लान्टको एक रिएक्टर विस्फोट भएको थियो, जसले युक्रेन, बेलारुस, रुस र युरोपका धेरै भागमा विकिरण फैलाएको थियो।
जेफ्रीका अनुसार, यो क्षेप्यास्त्र एकदमै खराब र खतरनाक कुरा हो। यो कुनै साइन्स-फिक्नसन फिल्मजस्तै हतियार हो, जसले विश्वव्यापी अस्थिरता बढाउनेछ र हतियार नियन्त्रण अझ कठिन बनाउनेछ।
Shares

प्रतिक्रिया