ad ad

ग्लोबल


युकेका नेपालीबीच टेनिस प्रतियोगिता हुँदै, गोर्खा नेप्लिजले गराउँदैछ एक दिवसीय खेल

युकेका नेपालीबीच टेनिस प्रतियोगिता हुँदै, गोर्खा नेप्लिजले गराउँदैछ एक दिवसीय खेल

मगेन्द्र राई
जेठ ९, २०८१ बुधबार १६:४६, बेलायत

मिनि नेपालको रूपमा परिचित बेलायतको एल्डरसटमा गोर्खा नेप्लिज टेनिस क्लबको आयोजनामा एक दिवसीय ‘स्प्रिङ टेनिस प्रतियोगिता’ हुने भएको छ।

क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले बताएअनुसार प्रतियोगिता आउँदो शनिबार (२५ मे) एल्डरसट ग्यारिजन टेनिस सेन्टरमा हुनेछ।

प्रतियोगितामा भाग लिन ८० खेलाडीले नाम दर्ता गराएका छन्।

प्रतियोगितामा मिन्स सिङ्गल्स, भेटेरान्स, नोभाइस, लेडिज सिङ्गल्स  र मिन्स डबल्स खेलाइने क्लबका सचिव क्या. मोहन गुरुङले नेपालखबरलाई बताए।

जसमा, भेटेरान्सतर्फ ४५ वर्षमाथि र ५५ वर्षमाथि तथा मिन्स सिङ्गल्सतर्फ ओपन ए र बी खेल समावेश हुनेछन्। प्रतियोगिता बिहान ९ बजेबाट साँझ ८ बजेसम्म सन्चालन हुनेछ।

‘टेनिस इन्डिभिज्युअल खेल हो। यसमा हरेक खेलाडीबीच खेलको स्तर फरक हुन्छ। कोही पुराना र अनुभवी हुन्छन्, कोही भर्खर खेल्न सुरु गर्नेहरू हुन्छन्। उनीहरूबीच ठूलो अन्तर हुने हुँदा सबैलाई एकै समूहमा खेलाउँदा नयाँ खेलाडीमाथि अन्याय हुन्छ,’ पुरुषतर्फ विभिन्न समूहमा छुट्ट्याएर खेलाउन लागिएको रहेछ नि? त्यसको कारण के हो? भनी नेपालखबरले सोधेको प्रश्नमा अध्यक्ष गुरुङले भने, ‘त्यसैले स्तर निर्धारण गरी सबैलाई मान्य हुने समूहमा विभक्त गरी खेलाइएको हो। यसले सबैलाई न्याय हुन्छ।’

प्रतियोगिताको प्रमुख जिम्मेवारी सम्हाल्दै आएका सचिव मोहन गुरुङले यो पटक प्रतियोगिताको इतिहासमै सर्वाधिक धेरै सङ्ख्यामा नेपाली खेलाडी सहभागी रहेको बताए।

यति ठूलो सङ्ख्यामा खेलाडी रहेछन्। प्रोफेसनल सर्कुइटमा यति खेलाडीको खेल सिध्याउन झन्डै २ हप्ता लाग्छ। तपाईँहरूको त एकै दिनमा सिध्याउने योजना रहेछ। फेरि यति धेरै खेलाडीको व्यवस्थापनमा चुनौती नहोला? भनी सोधेको प्रश्नमा सचिव गुरुङले भने, ‘कुनै पनि इभेन्ट आयोजना गर्न सजिलो छैन। हामीलाई पनि चुनौती छन्। फेरि घण्टौँ ड्राइभ गरेर खेल्न आउनेहरू पनि छन्। परदेशको ठाउँ सबै कुरालाई मध्यनजर गरेर क्रिकेटको टि ट्वान्टी भने जस्तै एकै दिनमा सक्ने फर्म्याट बनाएका हौँ।’

गुरुङ थप्छन्, ‘धेरै दिनसम्म खेलाएर प्रतियोगिता सिध्याउन समय र स्रोत दुवैले सम्भव हुँदैन। त्यसैले एकै दिनमा मनोरञ्जन र आनन्द उठाउने हेतुले विभिन्न समूहमा चरणगत खेल खेलाउने व्यवस्था गरेका छौँ। सबै सहभागीले यसको भरपुर आनन्द उठाउने कुरामा विश्वस्त छौँ।’

यस पटक करिब डेढ दर्जन नयाँ खेलाडी थपिएको र उनीहरूलाई अनकोर्ट प्रशिक्षणको व्यवस्था गरिने सचिव गुरुङले बताए।

त्यस्तै, भविष्यमा टेनिस खेलमार्फत नेपाली संस्कृति, भेषभूषा तथा उत्पादनको प्रोमोट हुने मोडलमा प्रतियोगितालाई विकसित गर्दै लैजाने समेत जानकारी गराए।

क्लबले त्रैमासिक रूपमा वर्षमा चार वटा प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ। क्लबले गत डिसेम्बरमा नेपाल-दार्जिलिङ टेनिस टुर गरेको थियो।

सन् २०१७ मा औपचारिक रूपमा स्थापना भएको क्लबमा झन्डै दुई सय सक्रिय सदस्य छन्।

क्लबले टेनिस सिक्न इच्छुक नेपालीलाई नि:शुल्क प्रशिक्षणको व्यवस्था गरेको छ। पुराना पुस्ताका नेपालीलाई शारीरिक तन्दुरुस्ती र आनन्दका लागि एवं युवा तथा केटाकेटीलाई कुशल खेलाडी बनाउने आफ्नो उद्देश्य रहेको क्लबले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .