अन्तर्वार्ता


मेयरमा चुनाव लड्न २२ औँ प्रयासमा पाएको जागिर छाडेका गिरी भन्छन्ः समाज बदल्न असहज बाटो हिँड्नैपर्छ

मेयरमा चुनाव लड्न २२ औँ प्रयासमा पाएको जागिर छाडेका गिरी भन्छन्ः समाज बदल्न असहज बाटो हिँड्नैपर्छ

यज्ञराज जोशी
चैत २५, २०७८ शुक्रबार १९:४२, काठमाडौँ

कञ्चनराज गिरी (३६)ले २१ पटकको असफल प्रयासपछि २२ औँ पटकमा लोकसेवामार्फत अधिकृत तहमा नाम निकालेका थिए। भारतबाट बायोटेक्निोलोजीमा स्नातकोत्तर गरेका उनी नेपाल विद्युत प्राधिकरणमा प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन। तर, बुधबार उनले स्थायी नियुक्त पाएको १ वर्ष नबित्दै नेविप्राको सबैभन्दा ठुलो जलविद्युत केन्द्र कालीगण्डकी ए जलविद्युत केन्द्रको प्रशासन प्रमुख र नेविप्राको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएका छन। 

बनेपा नगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणासहित उनले उक्त जागिरबाट राजीनामा दिएका हुन। देश परिवर्तन गर्न युवाहरु नयाँ बाटो हिँड्नै पर्ने र भएका विकल्प कुर्दै नबिसी आफैँ विकल्प बन्ने साहस गर्नुपर्ने उनी बताउँछन। उनको राजीनामा र उम्मेदवारीका विषयमा नेपालखबरले गरेको कुराकानी–

२२ औँ प्रयासमा अधिकृतमा नाम निकालेको एक वर्ष नहुँदै राजीनामा किन दिनुभयो?
बुधबार राजीनामा दिएँ। स्वीकृत हुन बाँकी छ। शुक्रबार काठमाडौँ फर्केर चुनावी अभियानमा होमिनेछु। मलाई आफ्नो गाउँठाउँका लागि केही न केही गर्नुपर्छ भन्ने थियो। सानोसानो परिवर्तन भएपनि गर्नुपर्छ भनेर म लोकसेवा लडेको हो। त्यसबेला स्थानीय तहहरु कर्मचारीले चलाउँथे। म पनि अधिकृत भएपछि त्यहाँ धेरै सुधार गर्नसक्छु भनेर लोकसेवामा लागेको हुँ। मेरो अल्टिमेट सपना मेरो सहर बनेपा बदल्ने हो। त्यो कार्ययोजना मैले बनाइरहेको हुन्छु। कुनै कर्मचारीभन्दा नगरको प्रमुखले धेरै प्रभाव पार्नसक्छ। त्यसैकारण त्यत्रो मेहनत गरेर निकालेको नाम छाडेर मेयरमा उम्मेदवारी दिने घोषणा गरेको हुँ। 

सहज जागिरे जीवन हुँदाहुँदै भर नभएको मेयरका लागि किन बल गर्नुभएको?
म पनि सामान्य मान्छे हो। डर पनि लाग्यो, नर्भस पनि भएँ। तर केही बदल्नुछ भने नयाँ बाटो हिँड्नुपर्छ। नयाँ बाटोमा जान आफ्नो सुविधालाई त्याग गरेर आउनपर्छ जस्तो लाग्छ। गाँस, बास कपास त्यति थोरै आवश्यकता मात्रै हो हाम्रो। एकदमै जोखिम नै लिएको हो। जोखिमपूर्ण बाटो हिँडेर नयाँ ठाउँ, नयाँ गन्तव्य पुगिने हो। आजको तयारी होइन। धेरै वर्षअगाडि म यसो गर्छु बनेपामा भनेर कार्ययोजना बनाइराख्ने मान्छे हुँ।  एकदुई महिनाअगाडि यसमा काम गरिरहेको थिएँ। 

तीन दिनअगाडि घरमा श्रीमतीसँग सल्लाह गर्दा पनि उहाँले तपाईंको सपना हो भने सपना नमार्नुस् भनेर हौसला दिनुभयो। जीवनभर पछुताएर दुखी भएर बस्नुभन्दा सपना पछ्याउनु राम्रो भने भनेर साथ दिइन्। हारे पनि कमाएर खान सकिन्छ, पेट पाल्न सकिन्छ भन्ने हौसला दिएपछि म अगाडि बढेको हो। 

तपाईं स्वतन्त्र रुपमा चुनाव लड्ने कि दलको उम्मेदवार बनेर?
म स्वतन्त्र रुपमा उम्मेदवार दिने हो। पुरानो दलगत रुपमा हिँड्ने हो भने जहाँको त्यहीँ हो। त्यहाँ राम्रो मान्छेलाई अगाडि बढ्न नदिने, राम्रो मान्छे गए पनि नराम्रो भएर निस्कने थिति छ। त्यहाँबाट पार लाग्न सक्ने स्थिति छैन। स्वतन्त्र उम्मेदवार भएपछि मैले आफ्ना एजेन्डाहरु स्पष्ट रुपमा जनतालाई भन्नसक्छु। विवेक प्रयोग गरेर जानुपर्छ भनेर अघि बढ्नसक्छु। स्वस्तन्त्र रुपमा काम गर्न मलाई राजनीतिक दललाई भन्दा बढी सजिलो हुन्छ। एउटा राजनीतिक दल सत्तामा जान्छ। अर्को खुट्टा तान्छ। मेयर एक दलको, उपमेयर अर्को दलको हुन्छ। लुछाचुडी भइरहन्छ। पार्टीभित्र पनि सहयोग नगरिरहेको अवस्था छ।

तपाईंको एजेन्डा के छन्?
बनेपाको नागरिकताको आवाज मैले बुझेको छु। बनेपा एउटा बजार छ। बाँकी गाउँ हो। बजार एकदमै फोहोर छ। कम्तीमा सफा गर्न सकिन्थ्यो होला नि? राम्रो गतिलो मेयर हुने हो भने सरसफाइ ठूलो कुरै होइन। त्यति भिजन पनि छैन। गाउँ एरियामा उद्यम, कृषिलाई प्रोत्साहन गर्ने,  विद्यालयको अवस्था दयनीय अवस्था छ, स्वास्थ्यमा सुधार, सुशासन कायम गर्न सकिन्छ। अनि बाटो घाटो, पानीको व्यवस्थित र पुर्याउने हाम्रो एजेन्डा हो। अहिले आफ्नो मतदाता जहाँ छ, त्यहीँ ध्यान दिने चलन छ। चाप्लुसी गरेको भरमा बजेट पाउँछ। 

शिक्षामा एकदमै ध्यान दिनु जरुरी छ। सर्टिफिकेट पाएको भोलिपल्टदेखि हामी निकम्मा हुने अवस्था छ। आफूले चाहेको सपना पछ्याउन पाउँदैन विद्यार्थीले। समाजको करकापमा पैसा कमाउने प्रतिस्पर्धामा छन। नैतिकतामा ह्रास छ। रोजगारमूलक, सीपमूलक शिक्षा हुनुपर्छ। त्यसपछि स्वास्थ्य, सरसफाइ, उत्पादनशीलता, उद्यमशीलता र सुशासनमा मेरो जोड रहन्छ। 

स्वतन्त्र उम्मेदवारी दिने लहर नै छ त्यसबाट तपाईं कसरी भिन्न हुनुहुन्छ?
मेरो ठाउँ म बनाउँछु भन्ने मेरो सपना हो।। मेरो जीवनको उपादयता के हो त? आफ्नो लागि मात्रै गाँस, बास कपास जोड्ने हो त? मेरो जागिरले मेरो सुविधा पुगैकै छ। मेरो सबै सबैकुरा सुरक्षित छ। तलब, भत्ता, बिमा, स्वास्थ्य उपचार छ। तर यही सुविधा जनतालाई छैन नि। जनताले पनि यस्तै सुरक्षित महसुस गरुन् भनेर म आफ्नो जागिर छाडेर होमिएको हुँ।

पछि जागिर नछोडेको भए हुन्थ्यो भन्ने पश्चाताप हुन्छ कि?
पश्चाताप हुँदैन। किनभने म मेरो सपना पछ्याउँदै हिँडेको हो। मन नलागीनलागी जागिर खाएर बसेँ भने मैले राम्रो गर्न सक्दिनँ र समयमा निर्णय पनि गर्न सक्दिनँ। जीवनभर यसमा खास मजा आउँदैन। अहिले उम्मेदवारी दिँदै गर्दा मैले एउटा प्रयास त गरेको हो नि भन्ने त हुन्छ नि। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .