ad ad

अन्तर्वार्ता


फुटपाथ व्यवसाय हाम्रो बाध्यता हो, महानगरले जबर्जस्ती गरे आन्दोलन गर्छौँ (अन्तर्वार्ता)

फुटपाथ व्यवसाय हाम्रो बाध्यता हो, महानगरले जबर्जस्ती गरे आन्दोलन गर्छौँ (अन्तर्वार्ता)

वसन्त अर्याल
असार २०, २०७९ सोमबार ९:१६, काठमाडौँ

शुक्रबार फुटपाथमा मकै पोलेर बेच्दै आएका एक दम्पतीको सामान नगर प्रहरीले जफत गरेको भिडिओ भाइरल भएपछि काठमाडौंको फुटपाथ व्यवसाय व्यवस्थापनबारे तर्कवितर्क आइरहेका छन्। यहीबीच काठमाडौं महानगरपालिकाले जनशक्ति थप गरेर नियन्त्रण गर्नुबाहेक अरु विकल्प नभएको बताएको छ भने महानगरको उक्त हर्कतपछि फुटपाथे व्यवसायी भने आक्रोशित छन्। 

व्यापारीहरुले काठमाडौं महानगरले व्यवस्थापनको नाममा जबर्जस्ती गरे ट्रेड युनियन मिलेर आन्दोलन गर्ने चेतावनी दिएका छन्। यद्यपि आफूहरुलाई निश्चित समय र ठाउँ तोके त्यसलाई स्वीकार गर्ने उनीहरुको भनाइ छ। फुटपाथे व्यापारीहरुको संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न महानगरसँग सल्लाह गर्न खोज्दा मेयर बालेन्द्र शाहले समय नै नदिएको बताएको छ। 

नेपाल ट्रेड युनियन महासंघमा आबद्ध संघकी केन्द्रीय अध्यक्ष माया गुरुङसँग नेपालखबरले गरेको कुराकानी :
 

बिहान-साँझ फुटपाथमा बढी नै व्यापारिक गतिविधि भएको देखिन्छ। काठमाडौं महानगरसँग अनुमति लिएर व्यवसाय गर्नुभएको हो?
महानगरपालिकासँग अहिले समन्वय नै हुनसकेको छैन। यसअघि संघमार्फत नगरपालिकासँग छलफल गरिरहेका थियौँ। थुप्रै योजना बनायौँ तर दुवै पक्षबीच ठोस सहमति हुनसकेन। अहिले महानगरले कुनै समय छुट्याएको छैन। हाम्रो तर्फबाट नवनिर्वाचित मेयरसँग माग र सुझावसहित भेट्न खोजेका थियौँ। तर महानगरको मेयरसँग बारम्बार प्रयास गर्दा पनि भेटघाट हुनसकेको छैन।

हामी संगठित भएरै व्यवसाय गरिरहेको विषयमा नगरपालिका जानकार छ। मेयर बालेन्द्र शाहलाई सबै जानकारी नहुन सक्छ भनेर हामी भेट्न खोजेका थियौँ, पाएनौँ।  

त्यसो भए तपाईंहरुको नयाँ मेयरसँग पहुँच नै छैन?
जनसरोकारसँग जोडिएको विषयमा मेयरसँग छलफल गर्न खोज्दा भेट्नसकेका छैनौँ। मेयरसँग समस्याको विषयमा छलफल गर्न हामीले पहुँच नै पुर्याउन सकेनौँ। उहाँको सचिवालयमार्फत उहाँसँग भेट्न खोज्दा पनि हामी सफल हुन सकिरहेका छैनौँ। मेयर व्यस्त हुनुहुन्छ थाहा छ तर हाम्रो लागि १० मिनेट छुट्याउनुभएको भए राम्रो हुन्थ्यो। 

महानगरले एकतर्फी रुपमा आफ्नो जीवन धान्ने अन्य उपाय नभएका गरिब निमुखाहरुको सामान जफत गर्ने, लछारपछार गर्नेजस्ता काम गर्दै आएको छ। हामीले मेयरसँग सहमति गरेरै व्यवस्थित रुपमा व्यवसाय गर्न चाहेका छौँ।

महानगर प्रहरीले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न नियन्त्रण गर्नुको विकल्प छैन भनिरहेको छ। तपाईंहरुलाई कसरी व्यवस्थित गर्न सकिएला त?
महानगरले वर्षौँदेखि नियन्त्रण गरेरै समस्या समाधान हुन्छ भन्दै आएको छ। हामी संगठित भएर हामीलाई वैकल्पिक व्यवस्था गर भन्दा महानगरले फुटपाथमा व्यवसाय गर्न पाइँदैन, यसको कुनै विकल्प छैन भन्दै आएको छ। तर हामीचाहिँ संगठित भएर फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने विकल्प लगेर महानगरसँग गएका थियौँ। महानगरले पनि केही प्रस्ताव गरेको थियो। समझदारी भएन।

सोही कारण अहिलेसम्म कुनै विकल्प देखिएको छैन। हामीले अहिले फुटपाथ व्यवसाय गर्नको लागि निश्चित ठाउँ तोकेर बिहान र बेलुका व्यापार गर्न देऊ भन्दै आएका छौँ। यस्तो हुँदा अहिलेभन्दा केही व्यवस्थित हुने र स्वरोजगारहरु पनि बाँच्ने अवस्था हुन्छ। 

तपाईंहरुले समय तोकिदिए व्यवस्थित रुपमा सडकमा व्यवसाय सञ्चालन गर्छौँ भन्नुभयो। तर महानगरले तपाईंहरुले फोहोर पार्नुभयो भन्छ...
हो। महानगरले फुटपाथ व्यवसायीको कारण फोहोर भएको भन्ने आरोप लगाउँदै आएको छ। हामीले आफ्नो संघको तर्फबाट फोहोर नगर्न र बाटोमा हिँड्नेलाई अप्ठ्यारो नपर्ने गरी व्यवसाय गर्न जनचेतना फैलाइरहेका छौँ। तर महानगरपालिकाले सडक पेटीमा व्यवसाय गर्दा समस्या भयो भन्ने कुरा गर्छ। यसलाई व्यवस्थित कसरी गर्ने भन्ने विषयमा महानगर कहिल्यै सोच्दैन। निश्चित समय तोकेर व्यवसाय गर्न देऊ भन्दै आएको छ। महानगरले नयाँ योजना ल्याए हामी समर्थन गर्न सक्छौँ। हाम्रो संघले मात्रै सबैलाई व्यवस्थित गर्न सक्दैन। तर वडाहरुले पनि त सरसफाइ र व्यवस्थापनको लागि भूमिका खेल्नुपर्यो नि! 

तपाईंहरुले व्यवसायको नाममा सर्वसाधारणलाई पनि सडकमा अप्ठ्यारो पार्नुभएको छ नि!
कसैले फुटपाथमा व्यवसाय गर्न पाइँदैन, अर्काको अधिकार हनन गर्न पाइँदैन भन्ने बताउँदै आएका छन्। ट्राफिक व्यवस्थापनलाई असहज बनाउन पाइँदैन भन्ने कुरा सुन्दै आएका छौँ। हामीलाई पनि थाहा छ हाम्रो कारणले अरुलाई केही असहज भएको होला। तर हामी आफ्नो रहरले सडकमा बस्न आएका हैनौँ। हाम्रो चाहना होइन बाध्यता हो। सडक पेटीमा बस्दा हाम्रा साथी दुर्घटनामा पर्नुभएको पनि छ। हामीलाई नै असुरक्षा छ तर हाम्रो गरिखाने अर्को बाटो नहुँदा फुटपाथमा व्यवसाय गर्न बाध्य छौँ। 

महानगरले अहिले आयआर्जनको अर्को बाटो नभएका जनतालाई जसरी दुःख दिएको छ, यसले राम्रो सन्देश गएको छैन। महानगरले जबर्जस्ती गर्नथाले हामीले विगतका जस्ता ठूला आन्दोलन गर्छौँ।

काठमाडौं महानगरले व्यवस्थित गर्न पनि फुटपाथ व्यवसायी कति छन् थाहा नै छैन। संघमार्फत आउँदा आज एउटा तथ्यांक देखाउँछन्, भोलि अर्कै हुन्छ भन्ने छ। काठमाडौंमा फुटपाथ व्यवसाय गर्ने कति छन्?
महानगरले भनेको कुरा सही नै हो। फुटपाथमा कति व्यवसायी छन् भन्ने एकीन तथ्यांक छैन। सबै एउटै संघमा आबद्ध पनि छैनन्। हाम्रो संगठनमा करिब २ हजार मात्रै छन्। हामीले डिजिटल रुपमै तथ्यांक राखेका छौँ। मुख्य मुख्य ठाउँमा कति छन् सबै तथ्यांक हामीसँग छन्। रत्नपार्क, बानेश्वर, कोटेश्वर, गौशालालगायत व्यस्त ठाउँका सबै व्यवसायी समेटिएका छन्। 

पहिला खुल्लामञ्चमा व्यवसाय गर्दै आएका व्यवसायीलाई ठाउँ तोकेरै भृकुटीमण्डपमा लगिएको हो। उनीहरु भृकुटीमण्डपमा गएपछि सडकमा त नयाँ थपिँदै गए। ठाउँ तोकेर मात्रै त हुँदैन रहेछ। नयाँ आउँछन् तिनको कसरी व्यवस्थापन गर्ने त? यसको मुख्य कारण नेपाल सरकारले रोजगारी सिर्जना गर्न नसक्दा जागिर नपाउँदा सडक व्यवसायमा आउँछन्। कति महिला छन्, कति अपांग छन्, कति बूढाबूढी छन् तिनीहरु बाँच्ने आधार नभएर सानो सडकमा व्यवसाय गर्न आएका हुन्।

खान लाउन पुग्ने भए त कोही सडकमा व्यापार गर्न आउँदैनथ्यो नि! सडकमा आउने संख्या बढ्दो छ। सरकारको व्यवस्थापन शून्य छ। दमनमात्रै समाधान हुँदैन। 

अहिले महानगरले फुटपाथ व्यवसायीबाट जफत गरेको सामान फिर्ता गर्छ कि गर्दैन? 
हामीले सधैँ सडकमा व्यापार गर्न पाउनुपर्छ भन्ने छैन। हामी पनि सुन्दर सहरको हिस्सेदार बन्न चाहन्छौँ। काठमाडौं महानगरमा जनप्रतिनिधि आएपछि सडक पेटीको व्यवसायलाई शून्यमा झार्ने मात्रै भन्नुहुन्छ। त्यसको लागि जति पनि सडकमा व्यवसाय गर्ने मानिस छन्, उनीहरुको सामान जफत गर्ने नीति ल्याउनुभएको छ।

अहिले सामान जफत हुन्छ तर महानगरका कर्मचारीले कति सामान आफ्नो घरमा लान्छन्। मकै, फलफूल उठाएको सामान आफ्नो घर लैजान्छन्। ५–६ महिनामा एक पटक बल्ल लिलाम गर्छन्। अरु आफैँ लैजान्छन्। यसमा पनि अनुगमन हुनुपर्छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .