ad ad

अन्तर्वार्ता


प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भन्छन्–कम्युनिस्टको त म विरोधै गर्छु (अन्तर्वार्ता)

‘विनोद चौधरी फिट हुँदा अरुण सुवेदी फिट नहुने?’
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भन्छन्–कम्युनिस्टको त म विरोधै गर्छु (अन्तर्वार्ता)

नेपालखबर
साउन १९, २०७९ बिहिबार २३:४३, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले धनकुटाको कुरुले तेनुपा स्थायी घर भएका अरुण सुवेदीलाई विहीबार परराष्ट्र सल्लाहकारमा नियुक्त गरेका छन्। सुवेदीको नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रकारका चर्चा-परिचर्चा शुरु भएका छन्। खासगरी सुवेदी संविधान विरोधी रहेको, भारत र अमेरिका परस्त असन्तुलित विदेश नीतिको पक्षपाती रहेको र खराब ऋणीसमेत रहेको चर्चा भइरहेको छ।

युवा कालमा नेपाली कांग्रेसमा आवद्ध रहेर पछि निस्क्रिय भई उद्योग व्यवसायमा लागेका सुवेदी जलविद्युतमा लगानी गरेका व्यवसायीसमेत हुन्। सवारी दुर्घटनामा श्रीमती घाइते भएपछि उपचारमा लामो समय बिताएका उनी हाल पारिवारिक तनावमा समेत छन्। पारिवारिक तनावकै बीच प्रधानमन्त्रीको सल्लाहकार बनेका उनीमाथि आलोचनाको निसानासमेत सोझिएको छ।

रसायन शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका सुवेदी मेघावी बुद्धिजीवी हुन्। तर, उनी कम्युनिस्टकाे खरो आलोचक हुन्। उनी खुलेआम भन्छन्, ‘मार्क्सवादको त जहाँ पनि म विरोधै गर्छु। कम्युनिस्टकाे त विरोधै गर्छु। तर यो सैद्धान्तिक हो, व्यक्तिगत होइन।’

विगतमा उपनिषदमा क्वान्टम थ्यौरीका विशेषता रहेको किताब लेख्दा प्रदीप गिरीले समेत सुवेदीको वौद्धिकताको प्रशंसा गरेका थिए। पछि उनले जल सपना लगायतका केही पुस्तक पनि लेखे।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार बनेका सुवेदी खास गरी एमसीसीको समर्थकका रुपमा  वामपन्थीहरूको आलोचनाको शिकार हुँदै आएका व्यक्ति हुन्।

प्रधानमन्त्रीको सल्लाहकार बनेसँगै चर्चामा आएका सुवेदीसँग घरेलु एवं बाह्य मामिलामा उनको लाइन के हो भनेर पाठकलाई जानकारी दिने उद्देश्यले नेपालखबरले कुराकानी गरेको छ।

प्रधानमन्त्रीको सल्लाहकार बनाइयोस् भन्ने तपाईको आफ्नै माग थियो कि प्रधानमन्त्री देउवाले नै तपाईलाई आफैं सल्लाहकार बनिदिन आग्रह गर्नुभएको हो?
मैले लामो समयदेखि भूराजनीति, परराष्ट्र सम्बन्ध र अन्तर्राष्ट्रिय राजनीतिका बारेमा विभिन्न सञ्चार माध्यममा लेख्दै, बोल्दै आएको हुँ। प्रधानमन्त्रीजीसित पहिले त कांग्रेसमा रहँदा धेरै नै मेरो सम्बन्ध हो। प्रधानमन्त्रीजीसितै नजिक भएको हुनाले म पेलिएको पनि हो। पार्टी फुट्दा पनि उहाँसँगै बसेको हो महासमिति सदस्य भएर। तर, पछि पार्टी एकीकृत भएर म निश्क्रिय भइसकेपछि खास आवत–जावत पनि थिएन। तर, उहाँले मलाई राम्ररी जान्नुुहन्थ्यो, चिन्नुहुन्थ्यो।

पछिल्लो चरणमा मेरा डिस्कोर्षहरु आएपछि उहाँलाई अलिकति त्यसले टच गर्यो होला। विगत १०–८ महिनामा विभिन्न अन्तरराष्ट्रिय मुद्दाहरुमा उहाँले मेरो पनि परामर्श लिन चाहनुभयो। त्यस अनुसार उहाँले धेरैवटा निर्णयहरु गर्नुभयो। त्यसका आधारमा उहाँले औपचारिक रुपमा जोडिएर काम गर्नु नि त भनेर अलिकति अगाडि नै भन्नुभएको हो। मेरो पारिवारिक कारणले सकिनँ। अहिले फेरि प्रधानमन्त्रीले सहयोग गर भन्दाखेरि मैले पनि अस्वीकार गर्ने कुरा आएन। परराष्ट्र सम्बन्ध भनेको राष्ट्रकै लागि हो। यो प्रतिपक्षको अलग र सत्तापक्षको अलग हुँदैन। यसका विभिन्न पहलुमा बहस हुनसक्छ, तर परराष्ट्र सम्बन्ध भनेको दुईवटै पक्षका लागि एउटै हुन्छ।

तपाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार त हुनुभो तर तपाई संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र संविधानको विरोधी हो भन्ने चर्चा सामाजिक सञ्जालमा भाइरल भएको छ। तपाईसँग यसको जवाफ के छ?
म सांस्कृतिक राष्ट्रवादी हो। संघीयताको चाहिँ पहिले म विरोधी पनि होइन, समर्थक पनि होइन। संघीयता दिने हो भने संघीयताको सर्वमान्य सिद्धान्त अवलम्वन गरौं। यति सानो देशमा सम्भव छैन भने खास गरिकन कांग्रेस र एमालेले सम्भव छैन भनौं। संघीयता दिने हो भने संघीयताको आधार चाहिँ पहिचान नै हो भन्ने मेरो संविधान बन्नुभन्दा पूर्वको अडान हो। सांस्कृतिक राष्ट्रियताको पक्षको मान्छे पनि हो म।

पहिचानका आधारमा संघीयता हुनुपर्छ भनेपछि तपाई लिम्बुवानको पनि समर्थक हो त?
दिने हो भने पहिचान, नदिने हो भने हुँदैन भनौं। म त संघीयताको विरोधी पनि हैन, समर्थक पनि हैन।

संविधान बन्नुअगाडिको कुरो त यो भने, बनिसकेपछि चाहिँ तपाईको लाइन के हो?
बनिसकेपछि पनि संविधानका केही प्रावधानप्रति मेरो रिजर्भेसन हो। यस्तो रिजर्भेसन भएका मान्छे धेरैजना अहिले पनि मन्त्री छन्। यही संविधानको किरिया खाएर सांसद भएका छन्। राजा महेन्द्रलाई धरी रोल मोडल मान्छु भन्ने राजेन्द्र लिङदेन पार्लियामेन्टमा छैनन्? त्यसकारण मेरो अहिलेको कुरो चाहिँ के हो भने अब संविधानमा मेरो धारणाभन्दा विपरीतका प्रावधानहरुलाई संविधान विस्थापन मार्फत सम्वोधन गर्ने कि संविधान संशोधनमार्फत् सम्वोधन गर्ने भन्ने एउटा महत्वपूर्ण प्रश्न छ। अब यसपालिको संसद विघटन र फेरि संसद पुनस्थापना भइसकेपछि अब यो अध्याय समाप्त भयो। खास गरी नेपालको सांस्कृतिक राष्ट्रियतामाथि भएको प्रहारप्रति मेरो रिजर्भेसन थियो। अब यो अध्याय समाप्त भयो।

एक किसिमले हामीले सांस्कृतिक राष्ट्रियताको पक्षबाट हेर्ने हो भने सभ्यताको लडाइँ लगभग लगभग हारियो। अब भारतमा बीजेपीले गरेजस्तै हामीले यही संविधानको अभ्यास अनुसार पछि संविधानमा त्यस्ता प्रकारका हाम्रो धारणा अनुसारका परिवर्तन गराउने बाहेक विकल्प छैन भनेर मैले प्रष्ट रुपमा भनें।

राजतन्त्रको बारेमा चाहिँ तपाईको लाइन के हो?
राजाका बारेमा कुरो के हो भने पहिलो कुरो सांस्कृतिक राष्ट्रियतामा सांस्कृतिक राजसंस्था पनि एउटा पक्ष हुन सक्छ। तर, नेपालमा राजसंस्थाको पुनर्सान्दर्भिकताका बारेमा पहिले त राजाले नै नेपालका मूल राजनीतिक शक्तिहरु, अन्तर्राष्ट्रिय समुदाय र नेपाली जनतालाई आह्वान गर्नुपर्यो। अनि यसका बारेमा सोच्ने हो। अब राजसंस्थाको अन्तिम प्रतिनिधिले आह्वान गर्दैन भने अर्को राजनीतिक पार्टीले राजसंस्था चाहिन्छ भन्दाखेरि गल्कोट कि भीरकोटमा कता खोज्न जाने त राजा? यो चाहिँ हो मेरो लाइन। राजाले कांग्रेसलाई भन्नुपर्यो, एमालेलाई भन्नुपर्यो। माओवादीलाई भन्नुपर्यो। अन्तर्राष्र्टिय समुदायलाई भन्नुपर्यो। अनि पो यो विषय हुन्छ त। त्यसैले अहिले यो विषय होइन।

तर, संविधानप्रति कम प्रतिवद्धता भएको मान्छे यसरी प्रधानमन्त्रीको सल्लाहकार, त्यसमा पनि परराष्ट्र मामिलाको भन्दाखेरि अलिकति सुहाएन भन्ने पनि त छ नि?
संविधानप्रति कम प्रतिवद्ध भएर संविधानको विरुद्ध मैले आन्दोलन गरिहिँडेको मान्छे होइन। संविधानका केही कुराप्रति मैले पहिलेदेखि नै विमति जनाएको रेकर्डेड कुरालाई मैले होइन भन्ने कुरो आएन। तर, अहिलेको मेरो रोल के हो, त्योचाहिँ महत्वपूर्ण हो क्या। संविधानप्रति भेषबहादुर थापा प्रतिवद्ध हुने, अरुण सुवेदी अप्रतिवद्ध हुने भनेर लखेटिनुपर्ने मान्छे त होइन म। पञ्चायतमा जागिर खाएका लोकेन्द्रबहादुर चन्दलाई एसेप्ट गर्ने, सूर्यबहादुरलाई एसेप्ट गर्ने, अरुण सुबेदीचाहिँ लघारिनुपर्ने?

तपाईको पृष्ठभूमि के हो? कांग्रेस नै हो?
म त ०४५ सालमा जेलै बसेको मान्छे हुँ नि। त्यहाँभन्दा अगाडि पनि पटक पटक प्रहरी हिरासतमा बसेको मान्छे हुँ। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला नेपाल टेलिभिजनको बीओडी थिएँ। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य भएकै मान्छे हुँ।

पछिल्लो अध्ययनमा खास गरिकन गिरिजाबाबुले प्रचण्डको एजेण्डलाई स्वीकार गरिसकेपछि नेपाली कांग्रेससित मेरो अलिकति असहमति बढ्दै गएको हो। त्यसपछि अलि निश्क्रिय भएर बसेको हो म।

तपाई प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार हुनुभएको छ। मानिसहरु के भन्छन् भने तपाई सन्तुलित परराष्ट्र नीति भन्दा पनि भारततिर ढल्कने र त्यसमा पनि बीजेपीसँग निकटता भएको मान्छे हो। तपाई अब चीन र भारतबीच सन्तुलित विदेशी नीतिको सल्लाह दिनुहुन्छ कि भारततिरै बढी ढल्कन प्रधानमन्त्रीलाई सुझाव दिनुहुन्छ?
यसमा के छ भने चीन हाम्रो एकदमै सनातन मित्र हो। भारतचाहिँ मित्रता र झगडा सनातनरुपमा गरिआएको मित्र हो। अपरिहार्य मित्र पनि हो। यसमा हाम्रो मुख्य राष्ट्रिय चाखका आधारमा दुइटै मित्रहरुसित र अरु देशसित पनि सम्बन्ध निर्धारण गर्नुपर्छ भन्ने मेरो लाइन रहिआएको छ।

तर, अहिलेको मेरो रोल के हो भने मेरो धारणा भन्दा पनि परराष्ट्र सम्बन्धी मामलामा प्रधानमन्त्रीलाई वाञ्छित निर्णय गर्नु अगाडि नेपालको परराष्ट्रसम्बन्धी इन्स्टिच्युसनल मेमोरी र मसित भएका अन्तरराष्ट्रिय सूचना र परिस्थितिको विश्लेषणका आधारमा निश्चित राय सुझाव दिने हो। त्यस अनुसार प्रधानमन्त्री र सरकारले निर्णय गरिसकेपछि त्यसको मैले बचाऊ गर्ने हो। यहाँभन्दा बढी मेरो केही छैन।

अहिले विपक्षी दलको आरोप के छ भने देउवा सरकारले परराष्ट्र सम्बन्ध धेरै नै कमजोर बनायो। पश्चिम र दक्षिणतिर ढल्कने असन्तुलित विदेश नीति लियो भन्ने छ। यसमा तपाई के भन्नुहुन्छ? अहिलेको सरकारले अवलम्बन गरेको विदेश नीतिमा त्रुटि कमजोरी भएजस्तो लाग्दैन?
मलाई त्यस्तो लाग्दैन। किनभने हाम्रो राष्ट्रिय चाख अनुसार सरकारले नीति निर्धारण गरिराखेको छ। हाम्रो राष्ट्रिय चाख भनेको हाम्रो प्राकृतिक भूगोल, सांस्कृतिक भूगोल आर्थिक भूगोल, आपूर्ति प्रणाली, हाम्रो सामुन्द्रिक चाख, हाम्रो अन्तरारष्ट्रिय डायस्पोरा, हामीलाई कर्जा र अनुदान दिने समुदाय, विदेशसँगको हाम्रो श्रम सम्बन्ध, यी हाम्रा राष्ट्रिय चाख हुन्।

यी चाखहरुका आधारमा हामीले सम्बन्ध निर्धारण गर्नुपर्छ। र, यसैका आधारमा हामीले अन्तरराष्ट्रिय मामलामा आफ्नो धारणा पनि विकसित गरेर लिएर जाने हो। यसरी हेर्दा हाम्रो पूरा डायस्पोरिक चाख अमेरिकासित छ। यो डायस्पोरिक चाख रुससित छैन। अनि हाम्रो आर्थिक चाख पनि रुससित भन्दा पश्चिमा राष्ट्र र अमेरिकासित बढी छ।

युक्रेनको युद्धबारे सरकारले लिएको अमेरिकापरस्त नीतिबारे तपाईको धारणा के छ?
यसमा रुस र युक्रेनको युद्धमा हाम्रा दुईवटा छिमेकीले गरेको भन्दा अलग सार्वभौम निर्णय हामीले गरेका छौं। यो कुरो बुझ्नुपर्छ।  राष्ट्रिय चाखका कारणले हामीले गरेको निर्णय हो।

जस्तो– भारतको सबभन्दा ठूलो डिफेन्स पार्टनर भनेको रसिया हो। यत्रो डिफेन्स पार्टनरका विरुद्ध भारत जान सक्ने स्थिति थिएन। अमेरिकासित तीन–तीनवटा स्ट्राटेजिक सम्झौता गरे पनि भारत रसिया र युक्रेनको युद्धमा अनुपस्थित (तटस्थ) रह्यो। यो उसको राष्ट्रिय चाखको कुरा हो।

हाम्रो राष्ट्रिय चाखको कुरो के हो भने पश्चिम युरोपमा सबै हाम्रा दाजुभाइहरु डायस्पोरामा बसेका छन्। मध्यपूर्वमा गएर सबै हाम्रा दाजु्भाइले काम गरेका छन्। अमेरिकामा हाम्रो त्यत्रो डायस्पोरा छ। अष्ट्रेलियामा डायस्पोरा छ। जापानमा हाम्रो त्यत्रो डायस्पोरा छ। भनेपछि यो हाम्रो राष्ट्रिय चाख हो र यसैका आधारमा युक्रेन मामलामा हामीले निर्णय गर्यौं। यसमा हामीलाई न भारतले किन यसो गर्यौ भनेर दबाव दियो, न चीनले। त्यसकारणले यो त एकदम पर्फेक्ट निर्णय छ।

ताइवानलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दै गयो भने नेपालमा अमेरिकाको प्रेसर बढ्छ कि बढ्दैन?
यसमा प्रेसर हुनै सक्दैन। अमेरिकाले पनि ताइवान अलग सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो भनेको छैन। ह्वाइट हाउसको वक्तव्य नै हेरे हुन्छ। उनीहरुका आफ्ना किसिमका पूर्वी चीन सागरका टकरावहरु छन्। ताइवानमा प्रजातान्त्रिक प्रणालीका लागि अमेरिकाको अलग चाख छ। हामी ताइवानको विषयलाई लिएर एक चीन नीतिमा दृढ छौं। यसमा अमेरिकाले पनि हामीलाई दबाव दिन सक्दैन। किनभने अमेरिकाले पनि आफू एक चीन नीतिको विरुद्धमा नगएको कुरा प्रष्ट पारेको छ। त्यसैले ताइवानको ईस्युमा हामीलाई अप्ठयारो पर्दैन। ठाडो शीर लगाएर अमेरिकनहरुसँग कुरा गर्न सकिन्छ यसमा।

तपाई त एमसीसीको एकदमै खरो समर्थक होइन?
एमसीसीलाई मैले एउटा विकास परियोजनाका रुपमा समर्थन गरेको हो। एमसीसीको समर्थनमा एकदमै अमेरिका अपरस्त भनिएका एमालेका पनि धेरै साथीहरुले कडा स्वरमा कुरा गरेकै हुन्। त्यसकारण एमसीसीलाई कुनै अमेरिकाको समर्थन गर्नु र विरोध गर्नुको मापदण्डमा हेरिनु हुँदैन।

केही नेपालका ओपिनिया मेकर र केही पोलिटिसियनहरुले हाम्रो मित्रराष्ट्र चीनलाई धरी यसका बारेमा गलत ब्रिफिङ गरेर प्रतिक्रिया आयात गरे। यसले गर्दाखेरि अप्ठ्यारो परिस्थिति निर्माण भएको हो, अहिले मित्र राष्ट्र चीनले पनि त्यत्रो प्रतिक्रियात्मक भएर व्यवहार गरिराखेको छैन। एमसीसी एउटा आवधिक विकास परियोजनाका रुपमा अगाडि आएको छ। त्यसकारण एमसीसी भनेको नेपालको डिप्लोम्यासी र विदेश नीतिका लागि ठूलो इस्यु नै होइन।

एसपीपीबारे चाहिँ  तपाईको धारणा के छ?
एसपीपीमा त सरकारले जे निर्णय गरेको छ, त्यसको बचाऊ गर्ने हो। सरकारले जुन पत्राचार गरेको थियो, त्यसबाट फिर्ता भएको अथवा स्थगन गरेको अवस्था छ। सरकारले ठीकै गर्यो। यसबारे स्पष्टता नभइकन अमेरिकासितको सैन्यको लजिष्टिक र तालिममा कहाँसम्म संलग्न हुने, सरकारले एउटा मापदण्ड बनाएर गर्ला। यसमा त अब सैन्य नेतृत्व र रक्षा मन्त्रालयको पनि कुरा आउँछ अगाडि। यसमा परराष्ट्रको मात्रै आउँदैन।

तपाई कडा कम्युनिस्ट विरोधीका रुपमा समेत चिनिनुहुन्छ। मंसिर ४ को चुनावमा माओवादीसँग कांग्रेसले गठबन्धन बनाउनु ठीक कि बेठीक?
माओवादीसित गठबन्धन गर्ने भनेको पोलिटिकल स्ट्राटेजीको कुरा हो। पार्टीले निर्णय गर्ने कुरा हो। मैले अहिले सरकारलाई दिने सेवा प्रचण्डजीलाई पनि दिने हो, ओलीजीलाई पनि दिने हो। परराष्ट्र सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन।

तर, प्रजातान्त्रिक मूल्यका आधारमा म मार्क्सवादको विरोधी मान्छे हो। प्रष्ट। मार्क्सवादको त जहाँ पनि म विरोधै गर्छु। कम्युनिस्ष्टहरुको त विरोधै गर्छु। तर, यो सैद्धान्तिक हो, व्यक्तिगत होइन। यहाँहरुलाई मैले भन्ने गरेको छु, बहुदल मानिसक्नुभयो बाबा। प्रतिस्पर्धात्मक कर्पोरेट क्यापिलटको प्रिन्सिपल मानिसक्नुभएको छ। तब तपाईहरु नाम र झण्डा किन बोकेर हिँड्नुहुन्छ? यो उहाँहरुलाई मेरो बारम्बार अनुरोध पनि हो।

मंसिरको चुनावमा तपाई गठबन्धनको विरोधी हो कि हैन?
नेपाली कांग्रेस पार्टीले युटोपियन भएर चित्रबहादुरजीजस्तो चुनाव लड्दैन। माओवादीसित भोट छ, यो वस्तुगत रियालिटी हो। यसबाट भागेर जान सकिँदैन। चुनाव लड्ने हो भने अहिलेसम्म भएका गल्तीहरु सच्याउन फेरि सत्तामै जानु पर्यो नि त। अरु थप राम्रो गर्न पनि सत्तामै जानुपर्यो। यसका लागि रणनीतिक रुपले अगाडि बढ्न जरुरी छ।

पार्टीले भन्यो भने चुनाव लड्नुहुन्छ?
अहिले प्रधानमन्त्री र पार्टी सभापतिले मेरो आवश्यकता महसुस गर्नुभो। मैले यसै अनुसारको सेवा गर्न गएँ। मैले पनि के अनुभव गरें भने कांग्रेसले राम्रो गरेन भनेर उहाँ कांग्रेसबाट अलिक दिन उछिट्टएर हिँड्नुभयो। पनि त्यसरी नै उछिट्टिएर हिँडें। तर, नेपालको प्रजातान्त्रिक आन्दोलन र अन्तरराष्ट्रिय सम्बन्ध लगायत विकास निर्माणका लागि प्रजातान्त्रिक अभ्यास गर्ने एउटा ‘भेइकल’ त चाहियो नि। यसमा उत्तम अहिले नेपाली कांग्रेसबाहेक अरु भएन। त्यसकारण यत्रो लामो राजनीतिक करिअर भएको नाताले पार्टीले आवश्यकता महसुस गर्यो भने म यसका लागि तयार छु। पार्टीले आवश्यकता अनुसार कहाँ मलाई फिट गर्न, त्यसमा म फिट हुन्छु। विनोद चौधरी फिट हुँदा अरुण सुवेदी फिट नहुने के कारण छ र।

अन्त्यमा, तपाई ऋण नतिरेर जेल जानुपर्ने अवस्थाको मानिस हो भन्ने समाचारहरु पनि आइरहेका छन् नि? अदालतबाटै दोषी ठहरिएको व्यक्ति भन्ने पनि आएको छ....
यो सामान्य देवानी मुद्दा हो, नहार्नुपर्ने मुद्दा हारियो। तर, मैले अदालतबाट पत्र आउनुभन्दा पहिले नै तहसील फाँटमा पैसा बुझाइसकेको छु। तहसील फाँटमा गएर हेरे हुन्छ। तर, मेरो चरित्र हत्या गर्न समाचार लेखियो, मैले पैसा तिरेको रसिद पनि पठाएको हो, मलाई सोधियो, तर मेरो भनाइ राखिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .