ad ad

अन्तर्वार्ता


हिमेश पन्तसँग राजनीतिक संवाद : नेताहरुले राजनीतिलाई हिन्दी सिरियल जस्तै बनाए

‘राजनीतिलाई कमेडीजस्तै मिठो क्षेत्र बनाउन चाहन्छु’
हिमेश पन्तसँग राजनीतिक संवाद : नेताहरुले राजनीतिलाई हिन्दी सिरियल जस्तै बनाए

फाइल तस्बिर


राधिका अधिकारी
असोज २७, २०७९ बिहिबार २३:२१, काठमाडौँ

कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवार उठाएको छ। त्यही निर्वाचन क्षेत्रका बासिन्दा पन्त टीभी रियालिटी शो कमेडी च्याम्पियन्सको पहिलो सिरिजका विजेतासमेत हुन्। फिल्म ‘वर एन्ड वधु’मा अभिनय पनि गरेका पन्तसँग नेपालखबरले गरेको चुनावकेन्द्रित  संवाद :

हिजोआज निद्रा कत्तिको पर्छ? 
व्यस्तता धेरै बढेको छ। दिनभरि दौडधुप हुन्छ। केही दिनयता थकाइ मार्ने फुर्सद पनि राम्रो मिलिरहेको छैन। त्यसैले पनि होला रातमा राम्रो निद्रा पर्छ। चुनावको तनावले निदाउन सकेको छैन कि भनेर यो प्रश्न गर्नु भएको होला, एक किसिमको प्रेसर त छ नै, तर निदाउन सकिरहेको छु। 

उम्मेदवारीको प्रभाव सपनामा चाहिँ परेको छ कि छैन?

अहिले खासै प्रभाव परेको छैन। धेरै थकानले हो कि, हिजोआज त निदाएपछि एकैपटक ब्युँझिने मात्रै भएको छ। बप्चमा निद्रा खजमजिने, सपना देख्ने केही पो छैन त। 

सुन्दै रमाइलो र मिठो कमेडी क्षेत्रबाट यति नमिठो राजनीतिमा आउनु पर्ने कारण के पर्यो तपाईंलाई? राजनीतिलाई यसै पनि फोहोरी खेल भनिन्छ। 
राजनीतिलाई पनि कमेडीजस्तै मिठो क्षेत्र बनाउनकै लागि म राजनीतिमा आएको हुँ। सबैको मनमा राजनीति फोहोरी भयो भन्ने छाप परिसक्यो। मलाई पनि हाम्रो राजनीति कञ्जन सफा छैन भन्ने थाहा छ। तर अब हामीले राजनीति पनि सफा छ है भनेर म्यासेज दिनु छ। थोरै प्रभाव त मेरो उम्मेदवारीपछि नै परिसक्यो भन्ने लाग्छ। मैले मनोनयन दर्ताका क्रममा देखेको प्रभावलाई हेरेर भन्न सक्छु, हामीले हाम्रै पालामा केही परिवर्तन गर्न सक्छौँ। राजनीतिलाई सफा बनाउने सपना मेरो पनि हो।

कयौँ वर्षदेखि धमिलिएको राजनीति साफ गरिहाल्छु भन्ने सपना कत्तिको चुनौतीपूर्ण छ?
हामी राजनीतिमा आउने हो भने राजनीतिलाई सफा पार्न सम्भव छ। यो कामलाई भंयकर चुनौतीका रुपमा हेरिएको छ। तर हेरिएजति चुनौतीपूर्ण भने छैन। सामान्य कुरा गर्दा जनता खुसी हुने र उनीहरुको सेवा हुने हाम्रो जस्तो देशमा दृष्टिकोण बदल्न समय नै लाग्दैन। तर जनताको दृष्टिकोण परिवर्तन गर्नेगरी काम गर्ने मान्छेले राजनीतिमा आउने अवसर चाहिँ पाउनु पर्यो। 

तपाईंका शुभचिन्तकले कलाक्षेत्रमा जमेको हिमेश पन्त राजनीतिको दलदलमा भासिएर हराउने पो हो कि भन्ने चिन्ता व्यक्त गर्न थालिसके। यो चिन्ता बोकेर हिँडिरहेका प्रशंसकलाई तपाईंको जवाफ के छ?
म राजनीतिक दलदलमा फस्ने स्थिति छैन। किनकि म राजनीतिमा आउनुको मतलब कमेडी छोडेको भन्ने पटक्कै होइन। मेरो कमेडी जर्नीले पनि राजनीति सँगसँगै यात्रा गर्ने छ। तर राजनीतिलाई पनि मैले सामाजिक कामका रुपमा लिएको छु। म राजनीति मार्फत मेरो समाजलाई केही दिन चाहन्छु। ढुक्क हुनुहोस् म राजनीतिमा फस्न आएको होइन, माथि उठ्न र उठाउनका लागि आएको हुँ।

कलाकारिताबाट कुन सामाजिक काम गर्न पाउनु भएन जुन राजनीतिबाट गर्न चाहनु हुन्छ?
कलाकारिताबाट समाजका लागि मानसिक रुपमा केही परिवर्तनको बिज रोप्न सकेँ होला। तर परिवर्तन त भावनाले मात्रै सम्भव हुने कुरा होइन। भौतिक रुपमा पनि धेरै गर्नु पर्छ। थोरै चेतना परिवर्तनको काम कलाकारिताबाट गरेँ। अब राजनीतिबाट भौतिक रुपमै थुप्रै पक्षमा परिवर्तनका लागि काम गर्नु छ। 

तपाईंले उम्मेदवारी दर्ता गरेकै क्षेत्रबाट राजेन्द्र पाण्डे, भूमि त्रिपाठी लगायतका कयौँ भेट्रान उठेका छन्। उनीहरुसँगको प्रतिस्पर्धामा तपाईंको मत परिणाम कस्तो आउला?
अरु पार्टीको संगठन जराबाट छ। वडास्तरमै उनीहरुको संगठन छ। हाम्रो भर्खर बन्दै गरेको पार्टी हो। च्यालेन्ज धेरै छ। अझ राजेन्द्र पाण्डेलाई त मेरो चार पुस्ताले भोट दिइसक्नु भयो। घर भनेर मात्रै हुँदैन, सबैको आफ्नै राजनीतिक आस्था छ। चुनौती त घरबाटै सुरु हुन्छ। तर सपना र संकल्प सहित राजनीतिमा आएको छु। जित्छु भन्नेमा विश्वस्त छु। किनकि हाम्रो धादिङका मान्छे पनि असाध्यै धेरै सचेत भैसके। पार्टीको कार्यकर्ता पनि सचेत भैसके। उनीहरु आफ्नो नेताले गरेका नराम्रो कामलाई नराम्रो भन्न सक्ने स्थितिमा पुगेका छन्। त्यो कारणले मैले जितको सम्भावना असाध्यै धेरै देखेको छु। 

नेपाली राजनीतिमा विद्यार्थीकालबाटै राजनीति थालेर विभिन्न संगठन हुँदै लामो कोर्स छिचोलेर नेताका रुपमा अगाडि आउने चलन छ। तपाईं त केही महिना पनि पार्टीमा आवद्ध नहुँदै संसद् यात्राको सपना देख्दै हुनुहुन्छ। यो दुस्साहस अथवा लहड के हो?
यो दुवै होइन। म देखिनेगरी राजनीतिमा थिइनँ होला। तर मैले राजनीतिलाई नजिकबाट हेरेको छु। राजनीतिक पृष्ठभूमि भएको परिवार, परिवारले बोकेका परिवर्तनका सपना र एजेन्डा हेर्दै हुर्किएको केटो हुँ। कलेजमा पनि प्रत्यक्ष रुपमा कुनै राजनीतिक संगठनमा आवद्ध भइनँ। तर राजनीतिक बहसहरुमा सामेल भएको छु। राजनीतिमा नदेखिँदैमा ममा राजनीतिक चेतना नै नभएको होइन। राजनीति मेरो सपना पहिलेबाटै थियो। तर सपनाले पनि पुरा हुने एउटा समय त खोज्छ। अहिले त्यही समय आएको छ। 

सांसदको सपना पनि भयंकर ठूलो मलाई चाहिँ लाग्दैन। मैले स्थानीय निकायमा पनि उम्मेदवारी दिन सक्थेँ। तर म कलाकारितामा पनि रहिरहन चाहान्छु। कलाकारितालाई निरन्तरता दिँदा स्थानीय निकायमा समय दिन भ्याउँदिनँ भन्ने लाग्यो। तर सांसदको कार्यभार असाध्यै उत्तरदायी भएर पुरा गर्न सक्छु भन्ने लाग्छ। हामीलाई हाम्रो उम्मेदवारी किन पनि ठूलो लागिरहेको छ भने पुराना दलले युवाहरुलाई मौका नै दिएनन्। हामीलाई नेतृत्वमा युवा देख्ने बानी नै छैन। त्यसैले अचम्म लाग्छ, असम्भव लाग्छ। तर सम्भव छ भन्ने केही छाप त स्थानीय तह निर्वाचनमै परिसक्यो। परिवर्तन यसैगरी हुने हो। परिवर्तन हुनु पर्छ। यसलाई भयंकर ठूलो रुपमा हेरिनु पनि हुँदैन। 

संसदसम्मको यात्राको सपना पुरा गर्ने योजना के छन्?
चुनाव अभियान सुरु गर्दैछौँ। अहिले त्यस क्षेत्रका मानिससँग कनेक्ट भैरहेका छौँ। मेरो निर्वाचन क्षेत्रमा ६ वटा पालिका छन्। ती सबै पालिकाका मानिससँग पहिलो चरणमा सामाजिक सञ्जालमार्फत कनेक्ट हुने प्रयत्न गरिरहेको छु। अभियानमा जोडिन चाहने सय भन्दा धेरै युवा हामीसँग जोडिन आउनु भएको छ। त्यस क्षेत्रका मानिससँग भेटघाट र छलफल चलिरहेको छ। मुख्यतः चुनावी एजेन्डा पनि हुन्। खाका छ, त्यसलाई पूर्णता दिने काम पनि भैरहेको छ। अब केही दिनमै चुनावी अभियानमा निस्कन्छौँ। 

कलाकार हुन पनि कला चाहिन्छ, सीप चाहिन्छ, त्यो कला प्रस्तुत गर्ने तरिका चाहिन्छ। अनि राजनीतिज्ञ हुन चाहिँ केही चाहिँदैन? कलामा जमिरहेको मान्छे, जसलाई आजभन्दा अगाडि राजनीतिको अनुभव छैन, फुत्त राजनीति गर्छु भनेर आउनेबित्तिकै राजनीतिज्ञ हुने हो?
यो सम्भव छ। किन सम्भव छ भन्दा हामीजस्तो युवा राजनीतिमा आउँदा पुरानो नेताहरुले अपरिपक्व मान्छे राजनीतिमा आयो भन्छन्। मलाई चाहिँ के लाग्छ भने युवा अहिले जसरी नयाँ तरिकाबाट राजनीतिमा आइरहेका छन्, उनीहरु अपरिपक्व होइनन्। अपरिपक्व त उनीहरु हुन्, जसले जनताको हितमा काम गर्नु पर्ने हो तर एकले अर्कोलाई गिराएर, नराम्रो भनेर विवादमा अल्झिएर बसिरहेका छन्। वर्षौँबाट राजनीति गरेर आएका नेताको यो व्यवहारलाई कसरी परिपक्व भन्ने? परिपक्वता भनेको कामका कुरा गर्ने, काम गर्ने र आफूले गरेका कामको मूल्यांकन गर्ने खालको हुनु पर्यो नि। म नागरिकलाई पोजिटिभ भाइब्स दिन सक्छु। 

कमेडी गरेर दर्शक हसाइँरहनु भएको तपाईं भोट चाहिँ कसरी माग्नु हुन्छ? कमेडी गरेरै भोट माग्ने विचार छ कि तपाईंसँग धादिङका लागि केही गम्भीर योजना पनि छन्?
कमेडी तरिकाबाट भोट माग्ने कुरा आउँदैन। राजनीति कमेडी होइन। धेरैले मेरो उम्मेदवारीलाई लिएर ‘राजनीति भनेको कमेडी हो र?’ पनि भनिरहनु भएको छ। मैले त्यसरी हेरेको छैन। नेताहरुले राजनीतिलाई हिन्दी सिरियल बनाएका छन्। हिन्दी सिरियलमा आफ्नै परिवारभित्रको झगडा देखाइन्छ। नेपाली राजनीतिमा ठ्याक्कै त्यही अवस्था छ। आफ्नै संगठनभित्र हानाहान, एउटाले अर्कोको कुरा काट्ने, अर्कोले खेदो खन्ने काम भइरहेको छ। तर राजनीति यस्तो हुनु हुँदैन। 

हामीसँग के गर्ने भन्ने योजना छन्। गर्नसक्ने आँट पनि छ। गर्न नसक्ने कुरा भन्दैनौँ पनि। मेरो क्षेत्रमा केन्द्रित भएर काम गर्नु पर्ने क्षेत्र शिक्षा र स्वास्थ्य हो। शिक्षामा ठूलो परिवर्तन ल्याउन सक्छौँ। विद्यार्थी प्रतिस्पर्धा गरेर राम्रो छानिन्छ तर शिक्षक कसरी अब्बल छानिन्छ, त्यो नीति नै छैन। हाम्रो पार्टीको एजेन्डामै बेस्ट टिचर छानेर बेस्ट दिने कुरा उल्लेख छ। शिक्षाको स्तर माथि उठाउनका लागि पनि व्यावहारिक ज्ञान दिन सक्ने शिक्षक आउनु आवश्यक छ। जसलाई हामी प्रोत्साहन गर्छौँ। 

अर्को, हाम्रोमा स्वास्थ्य सुविधा छैन। सामान्य औषधि किन्न पनि धाउनु पर्ने अवस्था छ। चिकित्सा सामग्री छैन। गाउँमा कति बिरामी छन् भन्ने पनि थाहा हुँदैन। गाउँमा कयौँ घरमा वृद्धवृद्धा मात्रै छन्। गाउँमा सामान्य उपचारको सुविधा छैन। बिरामी पर्दा अस्पताल लैजाने जनशक्ति गाउँमा छैन। त्यसको लागि हामी इलेक्ट्रोनिक मेडिकल रेकर्ड भन्ने मेडिकल एप मार्फत काम गर्न चाहन्छौँ। जुन एप मार्फत कुन ठाउँमा कति÷कस्ता बिरामी छन् भन्ने रेकर्ड राख्न सक्छौं र त्यही अनुसारको सेवा गर्न सक्छौं। सुन्दा सामान्य र उट्बट्याङ लाग्न सक्छ। तर जनतालाई चाहिएको कुरा चाहिँ यही नै हो। अरु पनि थुप्रै कामका योजना छन्। अहिले योजनालाई अन्तिम रुपम दिने काम भैरहेको छ। 

धादिङ औद्योगिक केन्द्र बन्नका लागि उपयुक्त ठाउँ हो। यहाँ के छैन, ग्यास उद्योग, क्रसर उद्योग, इँट्टाभट्टा लगायत थुप्रै चिज छ। तर व्यवस्थित छैनन्। त्यही अव्यवस्थित उद्योगका कारण म धुलो खाँदै हुर्किएको हुँ। धादिङलाई औद्योगिक क्षेत्रका रुपमा व्यवस्थित गर्न सकेको खण्डमा रोजगारीको सिर्जना पनि हुन्छ। आर्थिक उन्नति पनि हुन्छ।

कलामा जमिरहेको मान्छेलाई राजनीतिमा लाग्नु भनेर कसले हौस्यायो अथवा हौसला दियो?
पहिलो कुरा मैले कला छोडेको छैन। राजनीतिमा कसैले हौस्याएको होइन। राजनीतिमा आफ्नै हौसलाका कारण आएको हुँ। राजनीतिमा आउनुपर्छ भन्ने चेतना ममा पहिलेबाटै थियो। यही समयबाट राजनीति सुरु गर्छु भन्ने चाहिँ थिएन। मेरो लागि यही समय सही समय हो भन्ने लाग्यो। राजनीतिमा युवाको माहोल सुरु भएको छ। यो माहोललाई माथि पुर्याउन पनि म राजनीतिमा आउनु आवश्यक थियो। म अहिले राजनीतिमा नआएको खण्डमा अबको ५ वर्षपछि त्यो सम्भावना पनि कम भएर जान्थ्यो जस्तो लाग्छ। राजनीतिमा युवाको माहोल, पुराना दलका कारण जनतामा आएको निरासा, आफैं पनि केही गरौं भन्ने हुटहुटीले म राजनीतिमा आएको हुँ। कसैको हौस्याइ र उक्साहटमा राजनीतिमा आएको होइन। 

तपाईंलाई के लाग्छ, पुराना राजनीतिक दलसँग जनता साँच्चै अघाएकै हुन्? पुराना दल बिग्रेका हुन्?
दल आफैंमा बिग्रिएको भन्न मिल्दैन। दल बिग्रने कुरा पनि होइन। तर दलभित्रका केही मान्छेहरु बिग्रिएका हुन्। उनीहरुका कारण दल बदनाम भएको हो। दलका माथिल्ला तहका नेताले बदमासी गर्दा त्यसको असर तल्लो तहसम्म परेको छ। यही निर्वाचनमा पनि ठूला भनिएका दलको टिकट वितरणमा देखिएको समस्याले पार्टी लथालिङ्ग बन्ने अवस्थामा पुगेको छ। दलका शीर्ष नेताले जनतालाई चुनावताका आश्वासन मात्रै दिने कामले जनतामा वितृष्णा जाग्नु स्वाभाविक हो। तर दल नै गलत भने होइन।

पुराना दलप्रति वितृष्णा पनि रहेनछ। बिग्रिएको राजनीति सपार्छु भनेर राजनीतिमा आएको मान्छेले नयाँ दल चाहिँ किन समात्नु भयो? तपाईंले उम्मेदवारी दर्ता गराएको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’का लिडर नै राजनीतिमा खारिएका मानिस होइनन्। सिकारुको साथ लागेर सुरु गरेको यात्रा कहाँ पुग्ला?
कहाँ पुग्ने भन्ने प्रश्नको जवाफ त समाज नै हो। म समाज सेवाका लागि राजनीतिमा आएको हुँ। हाम्रो पार्टीको लिडर रवि लामिछाने खारिएका मानिस होइनन्, उनीभन्दा खारिएका मानिसले नेतृत्व सम्हाल्न सक्छन्। आन्तरिक प्रतिस्पर्धा गरेर पार्टीको नेतृत्व गर्न पाउने हाम्रो पार्टीको नियम नै छ। अरु पार्टीमा त क्षमता भएका मानिस अगाडि बढ्नै सक्दैनन्। नेतृत्वले क्षमतावान् मानिसलाई टिकट नै दिँदैन। हाम्रो पार्टीमा यो अवस्था छैन। हाम्रो पार्टीले क्षमतावान मान्छेलाई अगाडि बढाउँछ। त्यसैले मैले राष्ट्रिय स्वतन्त्र पार्टी छानेको हुँ।

अहिले थुप्रै कलाकारले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। तपाईंलाई पार्टी नै समाउनु पर्ने बाध्यता थियो?
आवश्यकता थियो। म कुनै पब्लिसिटीको लागि राजनीतिमा आएको होइन। म राम्रोसँग राजनीतिमा लाग्छु, केही गर्छु भनेर राजनीतिमा आएको हुँ। त्यसका लागि मलाई एउटा संगठन चाहिन्छ। टिम, सहकार्य, मार्गनिर्देश, सल्लाह सबै चाहिन्छ। त्यो कारणले पार्टीमा हुनु आवश्यक थियो। अझ संसदभित्र त स्वतन्त्र रुपमा गएर केही गर्न सकिन्छ जस्तो लाग्दैन। बरु स्थानीय निकायमा गर्न सकिन्छ। संसदमा त एक्लै बोलेर केही हुँदैन। बहुमत चाहिन्छ। 

अब थोरै सम्भावनाका कुरा गरौं! चुनावी मैदानमा हुनुहुन्छ, चुनाव हार्नु भयो भने के गर्नु हुन्छ?
कलाकारितामा फर्किन्छु। प्रतिस्पर्धा हो जितहार जे पनि नतिजा आउन सक्छ। यसमा ठूलो कुरा केही छैन। चुनाव हारेँ भने सहज रुपमा कलाकारितामा फर्किन्छु। फर्किंदा विरोध हुनु चाहिँ भएन। फेरि चुनाव हार्नेबित्तिकै राजनीति छोड्ने भन्ने पनि होइन। म राजनीतिमा पनि निरन्तर हुन्छु।

जित्नु भयो भने त्यसपछिका योजना के छन्?
एउटा सांसदले त्यो ठाउँका मान्छेहरुको विचारको प्रतिनिधित्व गर्ने हो। त्यहाँको मुद्दालाई प्रतिनिधित्व गर्ने हो। त्यहाँका मानिसको विचार सुन्नका लागि एउटा अभियान चलाउँछु। महिनाको एउटा कार्यक्रम चलाउँछु। ‘सांसद मेरो साथी’ नामको कार्यक्रम मार्फत उहाँहरुका विचार, त्यो ठाउँका समस्या सुन्छु, खोज्छु। त्यो मुद्दा संसदमा उठाउन सक्छु। माथिल्लो निकायसम्म पुर्याउन सक्छु। 

अर्को त धादिङलाई व्यवस्थित औद्योगिक बनाउन पहल गर्छु। जसले गर्दा त्यहाँका मानिसमा रोजगारी सिर्जना हुन्छ। वातावरण स्वच्छ हुन्छ। यसका लागि मैले गर्नसक्ने सबैखाले पहल गर्छु। शिक्षा र स्वास्थ्यका क्षेत्रमा गर्नु पर्ने कामहरु पनि प्रशस्तै छन्। 

उम्मेदवार बनिसकेपछिका पछिल्ला केही साताको अनुभवले के भन्छ, राजनीति गर्न सजिलो अथवा कमेडी गर्न?
दुवै सजिलो वा गाह्रो छैन। दुवै क्षेत्र चुनौतीपूर्ण हुन्। आफ्नो कामप्रति जिम्मेवार हुनु पर्छ, जिम्मेवारीले हरेक काम र क्षेत्रलाई सहज बनाउँछ। गाह्रो हुने त जिम्मेवार भइएन भने हुने हो। म राजनीति र कमेडी दुवैमा जिम्मेवार भएर काम गर्छु। त्यसैले कुनै काम गाह्रो भन्ने लाग्दैन। तर च्यालेन्ज त हर कुनै क्षेत्रमा छ।

कमेडियन बनेर नेताहरुलाई व्यंग्य गर्नु भयो। अहिले आफैं नेता बन्नु भएको छ। तपाईंलाई पनि त अरुले व्यंग्य गर्लान् नि?
अरुले व्यंग्य गर्ने ठाउँ नदिने गरी मैले काम गर्नु पर्छ भन्ने कुरामा म विश्वस्त छु। म मेरो काम जिम्मेवार भएर गर्ने छु। 

अन्त्यमा केही भन्नु छ?
चुनाव नजिकै आएको छ। मलाई नै भोट दिनुपर्छ भन्ने जबर्जस्ती छैन। तर भोट दिँदा राम्रो उम्मेदवार छान्नुहोस्। निर्वाचनमा तपाईंले म प्रयोग गर्दा पछुतो हुने खालको उम्मेदवार नछान्नुहोस्। मेरो क्षेत्रमा यसपटक ३ पुस्ताबीच प्रतिस्पर्धा हुँदैछ। राजेन्द्र पाण्डे हजुरबुबा पुस्ता, भूमि त्रिपाठी बुबा पुस्ता र म नाति पुस्ता। सबैको भिजन सुन्नुहोस्। अरुको त काम पनि देखिसक्नु भएको छ। मेरो काम देख्न बाँकी छ। एकपटक मेरो पनि काम हेर्ने कि?   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .