ad ad

अन्तर्वार्ता


सत्ता गठबन्धनलाई नेपालीभन्दा विदेशी बुहारीको चिन्ता छ : रघुवीर महासेठ (अन्तर्वार्ता)

सत्ता गठबन्धनलाई नेपालीभन्दा विदेशी बुहारीको चिन्ता छ : रघुवीर महासेठ (अन्तर्वार्ता)

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ८:२, जनकपुरधाम

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन्। निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्मलाई ठूला सभा गर्ने अनुमति दलहरुलाई दिइसकेको छ। यसबीचमा मतदाता फकाउने अभियानमा दल र उम्मेदवारलाई भ्याइनभ्याइ छ। यस्तै एकजना उम्मेदवार हुन् नेकपा एमालेका सचिव रघुवीर महासेठ। महासेठ तेस्रो पटक धनुषा क्षेत्र नम्बर ४ को चुनावी मैदानमा छन्। जहाँ उनलाई सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमाहमन्त्री महेन्द्र यादवले टक्कर दिँदैछन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि यिनै नेता यहीँ आमनेसामने थिए। त्यसबेला महासेठले जित निकालेका थिए। महासेठ २२ हजार ५ सय ३२ मत ल्याएर विजयी हुँदा कांग्रेस सहमाहमन्त्री यादवले १९ हजार ९ सय ९१ मत ल्याएका थिए। यस पटक त्यही क्षेत्र निवासी कांग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादवलाई एमालेमा प्रवेश गराएपछि यसको असर कांग्रेस उम्मेदवार यादवलाई कमजोर पार्ने योजनामा महासेठ रहेका छन्।

तर मनोनयन दर्ताकै दिन एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीका मधेस प्रदेश उपाध्यक्ष रहिसकेका शेषनारायण यादवलाई कांग्रेसमा प्रवेश गराएर प्रदेशको उम्मेदवार बनाएपछि सहमहामन्त्री यादव पनि उत्साहित छन्। यादव पनि जसपाको ठूलै भोट बैंकमा आफ्नो पकड बनाउने कोसिसमा छन्। यसले रघुवीरको जितलाई चुनौती दिन सक्छ। पछिल्ला केही वर्षमै एमालेमा राम्रो पकड बनाएका महासेठका लागि फेरि जित निकाल्न सहज हुने देखिँदैन। एमालेले नागरिकताको सवालमा राखेको अडान पनि महासेठका लागि थप चुनौती बनेको छ। उनी आफ्नो जितको आधार केलाई मान्छन् त? यस्तोमा एमालेमाथि लागेका आरोप र आफ्नै चुनौतीलाई चिर्दै महासेठले कसरी तान्लान् मत? यसै सेरोफेरोमा एमाले सचिव रघुवीर महासेठसँग नेपालखबरले गरेको कुराकानी :

तपाईं निवर्तमान सांसद पनि हुनुहुन्छ। यो पटक पनि चुनावी मैदानमा उत्रिरहँदा मतदाताले तपाईंलाई नै फेरि किन आफ्नो प्रतिनिधि चुन्ने?
यो प्रश्न तपाईंले जनतामाझ गएर सोधेको भए राम्रो हुन्थ्यो। यो क्षेत्रमा होइन, जिल्ला मात्रै होइन, मधेशकै जनतासँग गएर सोध्नुस फेरि म किन? ५० वर्षमा हुन नसकेको विकास हाम्रा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले साढे ३ वर्षमै गरेको छ।  देशले विकासमा मारेको फडको हामीसामु छ।

मधेस र मधेसी जनतालाई विकास के हो भन्ने थाहा थिएन, त्यो कुरा एमााले नेतृत्वको सरकारले देखाइदियो। विपक्षीहरुले फैल्याएको भ्रमका कारण जुन प्रदेशमा एमालेको नामसम्म सुन्न चाहँदैन थिए,आज त्यही प्रदेशमा एमालेप्रति यहाँका जनता आकिर्षत हुँदै गइरहेका छन्।

एमालेले नै यो देशको विकास गर्न सक्छ, मधेश र मधेशीको अधिकार एमालेले नै दिलाउँछ भन्ने विश्वास आमजनतामा छ। जुन दल एमालेको विरोधमा मधेशमा उतरिएको थियो, त्यसैले आज एमालेबिना प्रदेशको समग्र विकास सम्भव छैन भनेर आत्मसमीक्षासहित हामीसँग तालमेल गरेको छ। यहाँका जनता एमालेलाई टाउकोमा बसाउने तयारीमा छन्, हृदयमा बसाउन तयार छन् मलाई विश्वास छ।

तपाईंले फेरि यस क्षेत्रबाट जित्ने आधारहरु के के छन्?
मेरो जीतको आधार यहाँका जनता हुन्। जनता न्यायाधीश हुन्। न्यायाधीशहरुलाई थाहा छ कसले हाम्रो संरक्षण गर्छ। सामाजिक सुरक्षा भत्ता एमालेले दियो, विकासजति एमालेले गर्यो।

आर्थिक प्रगति पनि एमालेकै पालामा भयो। देशले आर्थिक रुपमा एमालेकै पालामा प्रगति गरेको थियो। त्यसैले मेरो जlतको आधार एमालेले गरेका कामहरु र एमालेप्रति जनताको विश्वास र जनतामाथि एमालेको भरोसा नै मेरो जितका आधारहरु हुन्।

जनकपुरधामको एक चुनावी कार्यक्रममा नागरिकता विधेयकप्रति इंगित गर्दै नागरिकता र सिन्दुर एकसाथ सम्भव छैन भन्नुभयो। यसले यहाँका जनतामा आक्रोश छ नि?
विपक्षी साथीहरुले अगाडि र पछाडिको कुरो काटेर कुनै अर्थ नभएको कुरो भाइरल गर्दैछन्। यसमा यहाँका जनता विश्वास गर्दैनन् र गरेका पनि छैनन्। उल्टै भाइरल गर्नेमाथि नै यहाँका जनता आक्रोशित छन्। मैले के भनेको थिएँ, यहाँ ७ लाखभन्दा बढी जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाएका छैनन्। त्यसको हामीलाई चिन्ता छैन तर बुहारीको चिन्ता छ। 

विद्यमान कानुनले बुहारीलाई त नागरिकता दिइ नै रहेको थियो। त्यो नदिनुस् मैले भनेको होइन। मैले त यहाँका सन्तानलाई नागरिकता दिने चिन्ता सत्ता गठबन्धनलाई छैन। तर कहाँ न कहाँको बुहारी आउने हो उसको नागरिकताका लागि अहिले नै किन चिन्ता गर्ने?

नागरिकता विधेयक निर्वाचनमा चुनावी मुद्दा बनेको छ। एमाले नागरिकता समस्याप्रति अनुदार छ भन्ने सन्देश गइरहेको छ नि?
हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली यहीँ आएर निर्वाचनपछि एमालेकै नेतृत्वमा सरकार बनेर एक महिनाभित्रै नागरिकता समस्या समाधान गर्ने बताइसक्नु भएको छ।

एमाले नागरिकता समस्या समाधानका लागि सबैभन्दा बढी गम्भीर छ भन्ने म दावी गर्छु। २/२ पटक मन्त्रिपरिषद बैठकबाटै हाम्रो दलको नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनुपर्छ निर्णय गरेको थियो। पछिल्लो पटक म उपप्रधानमन्त्री हुँदा अध्यादेश ल्याएका थियौँ। त्यो अध्यादेशलाई कसले रोक्न लगायो।

यही गठबन्धनका अगुवा नेताहरुले रोक्न लगाएका होइनन्? एमाले मात्र यस्तो दल हो जसले नागरिकता समस्या समाधान गर्न सक्छ। अरु दल त यसलाई चुनावी मुद्दा बनाउने, चुनावमा मत लिने काम मात्रै गर्नेछन्। मैले अघि नै भनेँ नि हामीले जन्माएको छोराछोरीलाई नागरिकता नदिने तर कानुन हुँदा हुँदै बुहारीहरुकै लागि विधेयक ल्याउने।

एक हातमा सिन्दुर एक हातमा नागरिकता किन भनिएको होला? यसको अर्थ त पक्कै होला। हाम्रै छोरी चेलीको बाहिर बिहे हुँदा त्यहाँको कानुनअनुसार नै नागरिकता लिनु पर्छ।

पाकिस्तानमा जानुस् त्यहाँ ६ वर्ष, भारतमा जानुस ७ वर्ष, बंगलादेशमा ५ वर्ष, श्रीलंकामा १ वर्ष कुर्नु पर्छ। यस्ता कयौँ देशहरु छन् जहाँ मरी गए नि नागरिकता पाउँदैनन्। बुहारीलाई नागरिकता दिनका लागि यहाँ कानुन छँदैछ। राष्ट्रिय सहमति गरेर यसमा निर्णय गर्न सकिन्छ।

अन्त्यमा, तपाईंकै घरमा जसपासँग चुनावी तालमेलका लागि छलफल भयो। तर तपाईंकै क्षेत्रमा तालमेल हुन सकेन किन?
मेरो घरमा त होइन, तर जसापसँगको तालमेलका लागि म अगुवा नै थिए। पार्टी अध्यक्षकै निर्देशनअनुसार जसपा अध्यक्षसँग कुराकानी गरेर तालमेलका लागि सहमति गर्यौँ।

रह्यो, मेरो क्षेत्रको कुरा यहाँ जसपा हाम्रो दलको पनि दावी थियो। त्यसैले हामी यहाँ मित्रवत प्रतिस्पर्धा गर्न तयार भयौँ। फेरि यस्तै स्थिति धनुषा २ र बारा ३ मा पनि छ। यी क्षेत्रबाहेक सबै हाम्रो तालमेल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .