ad ad

अन्तर्वार्ता


प्रधानमन्त्रीको दाबी आकर्षक बनाउन रातो टीका गगनको बाध्यता हो : खगेन्द्र संग्रौला (भिडिओ वार्ता)

‘रवि लामिछानेको आकर्षणको आयु एक मौसम मात्र हो’
प्रधानमन्त्रीको दाबी आकर्षक बनाउन रातो टीका गगनको बाध्यता हो : खगेन्द्र संग्रौला (भिडिओ वार्ता)

खगेन्द्र संग्रौला भन्छन्– म अर्धअराजक मान्छे, नेता बन्ने आकांक्षा राखिनँ (तस्बिर/भिडिओ : विशाल कार्की)


जेवी पुन मगर
पुस ५, २०७९ मंगलबार १८:३०, काठमाडौँ

पाँच दशकदेखि निरन्तर लेखिरहेका खगेन्द्र संग्रौलासँग लुकाउनुपर्ने कुरा खासै केही छैन। एक खालको खुला किताब हुन् उनी। संग्रौलाका लेखनीबाटै उनको व्यक्तित्वका बहुआयामिक पाटा जान्न, बुझ्न र पर्गेल्न सकिन्छ। त्यसमाथि बौद्धिक कर्म गरिरहेका लेखक उज्जवल प्रसाईको खारिएको लेखन र रचनात्मक प्रस्तुतिमा सार्वजनिक भएको यी ‘छुच्चा लेखक’ माथिको ‘एक बागीः खगेन्द्र संग्रौलाको साधना र संघर्ष‘ पुस्तकले उनको कायाबाट रहेसहेको पारदर्शी च्यादर पनि हटाइदिएको छ। 

खगेन्द्र संग्रौला पढेर हुर्किएका एकथरी उनलाई ‘सधैँ सत्ताको विपक्षमा आवाजविहीनहरुका निम्ति वाणी बनेर खडा भइदिने क्रान्तिकारी’ सर्जक मान्छन् भने अर्काे किनारामा उभिएका संग्रौलाको आलोचक कित्ताले उनलाई ‘बागीको आवरणमा सत्ताको बौद्धिक रक्षाकवच’ को रुपमा लिने गरेको देखिन्छ। पुस्तकमा सर्जकको पछिल्लो पाटोमाथि खास ध्यान दिइएको छैन। 

उनीमाथि लेखिएको ४७६ पृष्ठ मोटो पुस्तक एकसरो पढिसकेपछि लेखक संग्रौलाले पैरवी गरिरहेका केही गम्भीर मुद्दाहरुमाथि पछिल्लो समय निकै चर्काचर्की विमर्श चलिरहेकोले हामीले पुस्तकको बहानामा उनको धारणा बुझ्न केही दिनयता उनलाई पछ्याइरहेका थियौँ। गएको शनिबार समय लिई उनको निवासस्थान काठमाडौँको चाबहिल पुग्दा हरदम फूर्तिला देखिने ७७ वर्षीय यी तन्नेरी तम्तयार भई स्वागत गर्न दैलोमा खडा थिए। द्रव्यमोहलाई व्यसनको तहसम्म पुग्नबाट रोक्न सकेकोले होला संग्रौला औसत मान्छेको भन्दा कम भय पालेर जीवनको भरपुर मजा उठाइरहेका व्यक्तिजस्ता लाग्छन् मलाई। रुघाखोकीबाट केही गलेका भए पनि त्यसदिन पनि हाम्रा अगाडि उभिएका संग्रौला आफ्नै लयमा चुस्तदुरुस्त बात मारिरहेका थिए।

कहिल्यै नथाक्ने संग्रौलाको धाराप्रवाह वाचन सुन्नका निम्ति उनलाई लिएर हामी थापाथली ब्लुबर्ड कम्प्लेक्सस्थित नेपालखबरको कार्यालयमा आयौँ। सधैँ सत्ताको विपक्षमा रहेको भन्ने तर आफूलाई मन खाएको सिद्धान्त र व्यक्तिको समर्थनमा आशक्तिको हदसम्म टाँसिइरहने लेखक संग्रौलासँग हामीले त्यससँग सम्बन्धित अप्रिय लाग्नसक्ने केही प्रश्न पनि सोधेका थियौँ। यो सवालजवाफले ‘बागी’ व्यक्तित्व बनाएका लेखक संग्रौलाले पछिल्लो समय प्रवाह भइरहेको राजनीतिक हावालाई कसरी हेरेका छन् भनी बुझ्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ :

जति तीक्ष्णता र निख्खर तपाईंको लेखनीमा छ, त्यसको तुलनामा तपाईंको राजनीतिक जीवन भने असफल जस्तो देखिन्छ। ‘मार्क्सवाद र माओवादले दुखियारा जीवन बाँचिरहेका बहुसंख्यक जनताको मुक्ति हुन्छ’ भन्दै एउटा कालखण्डमा प्रत्यक्ष जोडिन पुग्नुभएको सर्वहारावादी कम्युनिस्ट लिग र सर्वहारावादी श्रमिक संगठनमा तपाईंको भूमिका साह्रै कमजोर देखिन्छ, शून्य जस्तो। त्यसो त पञ्चायतकालीन एकदलीय व्यवस्थामा समेत कम्युनिस्ट विचारधाराबाट निर्देशित तपाईंले तनहुँ र चितवनमा जसरी सक्रिय रुपमा जनतालाई ‘विद्रोही’ बनाउने प्रयत्नको थालनी गर्नु भयो, त्यसबाट पनि लुसुक्क भाग्नु भएको देखिन्छ। राजनीतिमा यो तहको उपेक्षाभाव तपाईंले भन्ने ‘रुमानी सपना’का कारण उत्पन्न भएको हो कि अन्य कुनै कारण पनि छन्? 
वास्तवमा मेरो मनोरचना, मेरो जीवनशैली, मेरो व्यक्तित्व राजनीतिक संगठन चलाउने खालको र नेता बन्ने खालको हुँदै होइन। मैले नेता बन्ने सपना कहिल्यै देखिनँ। किनभने मसँग त्यो सामथ्र्य नै थिएन। नेता बन्नका निम्ति ‘कमान्ड’ गर्नुपर्छ। अह्रनखटन गर्नुपर्छ। कठोर हुनुपर्छ। मेरो स्वभावले त्यो कहीँ पनि छुट दिँदैनथ्यो। मैले मूलतः साहित्यको माध्यमबाट समाजलाई जागरुक बनाउने सामाजिक परिवर्तनमा सघाउने प्रयत्न गरेँ।

जति आन्दोलनमा म संलग्न भएँ, कुनै पनि आन्दोलनमा अगुवाको रुपमा म अगाडि गइनँ। मलाई नागरिक अगुवा भन्छन्, मेरो निवदेन के छ भने म नागरिक अगुवा होइन। अगुवा हुनलाई धेरै मान्छेको आकर्षणको केन्द्र हुनुपर्छ। आफ्नो अह्रनखटन बिक्ने हुनुपर्छ। कठोर हुनुपर्छ। ममा त्यो स्वभाव नै छैन। 

बाँकी मेरा राजनीतिक संलग्नताका जुन कुरा तपाईंले गर्नुभयो, त्यसमध्ये प्रगतिशील लेखक संघ (प्रलेस) मा म आफ्नै इच्छाले संलग्न भएको थिएँ। किनभने म लेखक भएकोले र त्यो लेखक संघ भएकोले मेरा सबै साथीसंगी त्यहीँ थिए। 

संगठित रुपमा प्रयत्न गर्दा साहित्य अलि बलियो हुन्छ कि भन्ने लागेर म त्यहाँ गएँ। पछि मलाई के महसुस भयो भने त्यो प्रगतिशील लेखक संघ प्रगतिशील पनि थिएन, स्वतन्त्र पनि थिएन र स्वायत्त पनि थिएन। त्यहाँ नेताहरुको अह्रनखटनमा टुप्पी समाएर नेता बनाइने र टुप्पीबाट नेता फालिने गरिँदो रहेछ। त्यस्तो वातावरणमा बस्न मलाई मेरो स्वभावले दिएन।

म सर्वहारावादी कम्युनिस्ट लिगको कोषाध्यक्ष भएँ। मेरो रहरले, मेरो प्रवृत्तिले, मेरो क्षमताले म भएकै होइन। स्वनाम साथी, जो पहिला आफ्नो नामले मात्र चिनिनुहुन्थ्यो वहाँलाई आफ्नो पार्टी बनाउन मन लाग्यो। केही साथीहरु जुटे। चार जनाको एउटा पार्टी बन्यो। म चितवनमा थिएँ। स्वनाम साथीलाई लाग्यो एउटा कम्युनिस्ट पार्टी बनिसकेपछि एउटा लेखक त चाहिन्छ, एउटा लेखक मेरो नजिकको साथी छ, त्यसलाई किन नराख्ने? मलाई काठमाडौँ डाकी पठाउनु भयो। 

‘साथी पार्टी खोलियो पार्टीमा बसिदिनु पर्यो’ भन्नुभो। मैले सोझो भाषामा भनेँ– ‘संगठनमा बस्नेले अनुशासन मान्नुपर्छ। अनुशासन मर्यादा र सीमाभित्र बस्नु पर्दछ। म सीमाभित्र बस्ने मान्छे होइन। म अराजक छाडा त होइन तर सामाजिक विद्रोहका सवालमा मेरा आफ्नै स्वभावहरु छन्। पार्टीमा बस्ने मेरो स्वभाव र प्रवृत्ति नै नभएकोले यहाँ बस्नका निम्ति म योग्य छैन। तपाईंको बचन हार्न नसकेर म बसिहालेँ भने पनि कामको नाममा मबाट सिन्को भाँचिने छैन।’ 

तैपनि वहाँले राख्नुभयो।

मलाई त्यस्तो जिम्मा दिइयो, जुन मैले गर्न सक्ने केही थिएन, कोषाध्यक्ष बनाइयो। कोषाध्यक्ष भनेको त माग्ने हो। जो नजरशर्मी छ, जो कसैको अगाडि हात पसार्न जान्दैन, जसले चिप्लो कुरा जान्दैन, त्यो केको कोषाध्यक्ष? चितवनमा रुपलाल विश्वकर्मासँग पार्टी एकता हुने बेला म जेलमा थिएँ। एकता सम्मेलनमा गएँ तर त्यसपछि म त्यसमा बसिनँ। विदाई समारोहमा काइदाले कुखुराको मासु र चिउरा खाएर बिदावारी भएँ। 

बाँकी लामा (निर्मला लामा) जीसँगको संवाद र पारिजात दिदीसँगको तिक्तता मूलतः त्यो राजनीतिक भन्दा पनि वैचारिक मतभेदहरु हुन्। ती विवादहरुमा मेरा सबलता होलान्, दुर्बलता होलान्, ती बेग्लै कुरा हुन्। मूल कुरा के हो भने प्रारम्भदेखि नै मैले नेता बन्ने आकांक्षा राखिनँ, त्यस्तो भूल गरिनँ। यदि म त्यसरी लागेको भए, तपाईंले अहिले असफल भन्नु भो नि, मेरो असफलताको पहाड सुमेरु पर्वतजत्रो अग्लो हुन्थ्यो। मलाई के लाग्यो भने म अलिकता भावुक स्वभावको मान्छे, अलिकति आवेगी, अर्धअराजक किसिमको मान्छे, मेरो ठाउँ भनेको साहित्य नै हो। साहित्यकार बन्नका निम्ति कसैको आदेश लिनु पर्दैन। कसैको आदेश मान्नु पर्दैन। आदेश आफ्नो बनाउने हो। सबै कुराको जिम्मा आफुले लिने हो। त्यसैले मैले योगदान गर्न खोजेको साहित्यबाट हो। 

यति भन्दाभन्दै पनि तपाईं भन्नुहोला दर्शन किन अनुवाद गरिस्? समाजशास्त्र किन अनुवाद गरिस्? राजनीति किन अनुवाद गरिस्? अनुवाद बेग्लै विधा हो। अनुवाद भनेको एउटा प्राज्ञिक कुरा हो। सीपको कुरा हो। मैले राजनीतिलाई समृद्ध र सबल बनाउने मनसायबाट ती सब रचना अनुवाद गरेको हुँ। तर म आफैँ चाहिँ राजनीतिको अग्रमोर्चामा कहिल्ल्यै बसिनँ। त्यसको तात्पर्य के हो भने अर्धअराजकता सामाजिक दायित्वको दृष्टिले गैरजिम्मेवारीपूर्ण होइन। जहाँजहाँ बन्देज थिए, बन्देजमाथि मैले प्रश्न उठाएँ। त्यो राजतन्त्रको बन्देज होस् या पोलिट्ब्युरोको बन्देज।

भिडिओ : विशाल कार्की

तपाईंले आफूलाई आवेगी भन्नुभएझैँ तपाईंका लेखनमा त्यस्तो आवेग प्रचुर मात्रामा देखिन्छ पनि। कसैले तपाईंलाई केही भनिदियो या कुनै विषयमाथि तपाईंलाई चित्त बुझेन भने तत्कालै प्रतिवाद गरिहाल्नु हुन्छ। प्रतिक्रियामाथि समेत आवेगपूर्ण प्रतिक्रिया लेख्नुहुन्छ। कहिलेकाहीँ यस्ता आवेगी प्रतिक्रिया लेखेर बेठिक गरेछु जस्तो लाग्दैन? जस्तैः उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा शपथ लिँदा तपाईं आफैँले भन्ने गरेको ‘उग्र पहाडे (महेन्द्र) राष्ट्रवाद’ प्रदर्शन गर्दै कडा आलोचना गर्नुभयो! 
ठिकबेठिक भन्दा पनि मलाई यस्तो लाग्छ, ती ती क्षणमा मैले जे जस्ता प्रतिक्रिया जनाएँ, ती प्रतिक्रियाहरुप्रति मेरो कुनै पश्चाताप छैन। म जे हुँ त्यही हुँ। मेरो बानी भनेको देखेको कुरो देख्नेबित्तिकै ट्वाक्क भन्ने हो। जस्तो उपराष्ट्रपति झाले हिन्दीमा शपथग्रहण गरे। म त त्यतिबेला कडा राष्ट्रवादी थिएँ, नश्लीय राष्ट्रवादी। त्यो बेला राष्ट्रवादसम्बन्धी मेरो जे बुझाइ थियो मधेश–मधेशी, हिन्दीभाषा– नेपालीभाषाबारे, त्यो बमोजिम बोलेको हुँ। मैले त्यसबेला बोल्ने त्यो भन्दा अर्थोक केही थिएन। त्यस्ता अनेक सन्दर्भहरु छन्। 

नेपाली समाज मूलतः तीनवटा जातीय समुदायबाट बनेको समाज हो। खस–आर्य, मधेशी र जनजाति। बाँकी अल्पसंख्यक र सीमान्तकृतहरु तिनैसँग कुनै न कुनै रुपमा जोडिएका छन। यसरी बनेको नेपाली समाज दुइटा रोगबाट आक्रान्त छ। मान्छेले मान्छेलाई छुनु नहुने, छोयो भने छोइछिटो हाल्नुपर्ने। मान्छेले मान्छेलाई पशुको रुपमा व्यवहार गर्ने– छुवाछुत कुप्रथा। नेपाली समाजको सबैभन्दा ठूलो रोग हो यो। दोश्रो रोग मधेशलाई हेर्ने दृष्टिकोण। ‘मधेशी विदेशी हो। आयातीत हो। कम राष्ट्रवादी हो। कम मान्छे हो। त्यो लखेटिनुपर्छ। त्यसलाई नागरिकता दिइन हुँदैन।’ नेपाली समाज भावनात्मक रुपमा यति चर्काे रुपमा खण्डित छ कि यी दुईटा रोगबाट यो समाजलाई निर्मूल नगरुन्जेल यसको भौतिक प्रगति पनि हुँदैन, भावनात्मक एकता पनि हुँदैन। नेपाली सन्दर्भबारे जिन्दगीभरिको अनुभवबाट मैले आर्जन गरेको ज्ञान हो यो।

तपाईं राणाकालमै जन्मनुभयो, पञ्चायतीराजमा हुर्कनुभयो। महेन्द्रमालाले गढेको राष्ट्रवादको साँचोमा ढालिनुभयो। त्यसैले राष्ट्रवादसम्बन्धी धारणा र समाजलाई हेर्ने तपाईंको वैचारिकी पनि त्यही समाजले नै निर्माण गर्यो भन्नुहुन्छ। यसरी निर्माण भएको वैचारिकीबाट मुक्त हुन चाहिँ तपाईंलाई कति समय लाग्यो? 
हाम्रो वैचारिकी बन्ने लामो प्रक्रिया छ। सानोमा मलाई जे सिकाइयो, तपाईंलाई पनि त्यही सिकाइयो होला– सबभन्दा ठूलो को हो? भगवान। भगवानपछिको ठूलो को हो? राजा। राजापछिको ठूलो को हो? बाउ। बाउ त घरमै छ। भगवान कहाँ छ, थाहा छैन। राजा कतै छ। सिकाइको प्रारम्भ त्यहाँबाट भयो। पितृसत्ता, अहंकारवाद र घृणा त्यहाँबाट सुरु हुन्छ। पारिवारिक परम्पराबाट, रीतिरिवाजबाट, पाठ्यपुस्तकबाट सामान्य नागरिकको सरकारसँगको विभिन्न सम्बन्धहरुबाट राष्ट्रवाद निर्माण हुने हो। मेरो पनि त्यहीँबाट भएको हो। सबभन्दा ठूलो शिक्षा त पाठशाला नै हो तर पाठशाला मात्र होइन। मेरो बाउले कतिपटक मलाई भने होलान्, ‘काठमाडौँको राजालाई यहीँबाट नमस्कार गर।’ यो चाहिँ परम्पराबाट, संस्कारबाट, शिक्षाबाट, सम्पर्कबाट प्रवाह भएपनि मूल प्रभाव चाहिँ महेन्द्रमाला नै हो। 

सामन्तवादको महेन्द्रमालाले मलाई राष्ट्रवाद जति सिकायो, त्यो बुझ्न र त्यसलाई खुर्केर फाल्न मलाई त्यत्रो ठूलो महाभारत थिएन। महाभारत के भयो भने मेरै कम्युनिस्ट पाठशालाले पनि मलाई त्यही नै सिकायो। मलाई सिकाइयो– ‘कांग्रेस भारतीय विस्तारवादको दलाल हो। राजा बन्नका लागि भूमि चाहिने हुनाले भूमिको आवश्यकताको हदसम्म राजा राष्ट्रवादी हो। त्यसैले राजासँग हाम्रो कांग्रेस विरुद्धमा ऐक्य हुनुपर्दछ।’ यो त प्रचण्डहरुले अस्तिसम्म पनि गर्न खोजेकै हो। मेरा लागि महेन्द्रमालाको माध्यमबाट सिकाइएको राष्ट्रवाद बुझ्न र त्यसविरुद्ध लड्न उति गाह्रो भएन, जति कम्युनिस्टहरुले ममाथि थोपरेको राष्ट्रवादसँग लड्न भयो। मेरो जिन्दगीभरीको लडाइँ त्यही हो। 

मभित्रको राष्ट्रवादविरुद्ध लड्न मलाई असाध्यै कठिन भयो। एक सन्दर्भमा उपराष्ट्रपतिले हिन्दीभाषामा शपथ लिँदा उग्र गर्जन गर्ने मान्छे संविधान निर्माणको प्रक्रियामा मधेशमा जथाभावी मान्छे मारिएपछि ती मान्छेहरु आफ्नो चर्मरक्षा गर्नका निम्ति दशगजामा गएपछि उनीहरुसँग ऐक्यबद्धता जनाउन म त्यहाँ पुगे। म त्यही मान्छे हुँ। त्यो मेरो अत्यन्त जोखिमपूर्ण यात्राबाट भएको ठूलो रुपान्तरण थियो। म जे थिएँ, त्यो रहिनँ। त्यो नरहेपछि अहिले मेरा कोही पनि साथी छैनन्। सबै राष्ट्रवादी। पुष्पकमल राष्ट्रवादी। काजी (नारायणकाजी श्रेष्ठ) जघन्य राष्ट्रवादी। ओली राष्ट्रवादी। माधव राष्ट्रवादी। निनु दाइ (निनु चापागाई) र मास्केजी (महेश मास्के) हरुसँग पनि मेरो मिल्दैन। वहाँहरु अहिलेपनि राष्ट्रवादमा अडिएर बस्नुभएको छ। म त बसिनँ। नागरिक आन्दोलनमा सँगै हिँड्नुहुने पहाडी (कृष्ण पहाडी) जी पनि मेरो निर्णय विरुद्ध घनघोर राष्ट्रवादी कित्तामा उभिनुभयो। बहाना जे भए पनि मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोणमा वहाँहरु एक ठाउँमा उभिनु भो। 

यसबारे कम चर्चा हुन्छ तर खसआर्यहरु मधेशीलाई जति घृणा गर्छन्, अपवादलाई छाडेर जनजातिले त्योभन्दा कम घृणा गर्दैनन्। यो कुरा जबसम्म बुझिँदैन, यो कुरालाई जबसम्म निमिट्यान्न पारिँदैन, यो समाज मान्छे बस्नलायकको समाज नै हुँदैन। समाजको खण्डखण्डमा घृणाशिवाय केही पनि छैन। दलित–विष्ट, पहाडे–मधेशी, तागाधारी–मतुवाली।

एकातर्फ महेन्द्रमालाले हुर्काएको राष्ट्रवाद, अर्काेतर्फ तपाईंले भनेझैं कम्युनिस्ट महेन्द्रमालाले थोपरेको राष्ट्रवाद– तपाईंको बुझाईमा के यी दुई पाठशालाबाट निस्किएको राष्ट्रवादी चिन्तनले पनि नेपाली समाजको विविधतालाई सहज र स्वाभाविक व्यवस्थापन गर्न अवरोध गरिरहेको छ? 
गाँठी कुरा त्यही हो। विविधता कुनै पनि समाजको सौन्दर्य हो तर विविधतालाई व्यवस्थापन गर्न धेरै कठिन छ। पृथ्वीनारायण शाहले नेपाल दखल गरेपछि एकभाषा एकदेश, एक राजा एक धर्म सुरु भयो र हाम्रो चिन्तन प्रणाली, संस्कार र अभ्यास सबैकुरा त्यसबाट बन्यो। मूलतः पाठ्यपुस्तक नै त्यस्तो बन्यो। समाजव्यापी रुपमा सबैभन्दा बढी प्रभाव पार्ने कुरा शिक्षा प्रणाली हो। मेचीदेखि महाकालीसम्म सुनसरीदेखि सोलुसम्म हरेक कुनाकानीमा त्यो जान्छ। कम्युनिस्ट पार्टीको संगठनले पनि त्यो लैजान्छ, प्रभाव पार्छ तर त्यो भन्दा बढी शिक्षा प्रणालीले प्रभाव पार्छ। शिक्षा प्रणाली आफ्नो हात र नियन्त्रणमा नरहुन्जेलसम्म कुनैपनि देशको राष्ट्रिय चिन्तन प्रणालीलाई कसैले आफ्नो अनुकूल बनाउन सक्दैन।

तपाईं छोरी जन्मँदा खुसी हुनु भएनछ। ‘ए छोरी !’ भन्दै निधार खुम्च्याउनुभएछ। तपाईंका कतिपय लेखमा महिलाद्वेषी शब्दहरु पनि परेका देखिन्छन्। विचारले जति प्रगतिशील भनिए पनि परम्परागत दृष्टिकोणमा परिवर्तन आउन नसक्नुमा के हामीले माथि छलफल गरेझैं संस्कारजन्य सोच बाधक भएर आउनाले हो?
पक्का हो। त्यो पितृसत्ताले बनाएको हो। परिवारमै हेरौँ न– तपाईं जनजातिको सन्तति भएकोले मेरो परिवारमा भन्दा तपाईंको परिवारमा अलिक बढी उदारता र खुकुलोपन होला। तपाईं अझ नयाँ पुस्ताको भएको हुनाले अझ बढी खुकुलो होला। मेरो पालामा परिवारभित्र महिला भनेको त एउटा यन्त्रशिवाय केही पनि थिएन। तिनको बोल्ने ठाउँ कहीँ पनि थिएन। प्रतिवाद गर्ने ठाउँ कहीँ पनि थिएन। घरभित्रको सबै काम महिलाले गर्नुपर्ने। पुरुषले घरभित्रको काम गर्यो भने उसको नाक जाने। पुरुषले पानी बोक्न नहुने। भात पकाउन नहुने। भाँडा माझ्न नहुने। भुइँ लिप्न नहुने। यी सबै महिलाका काम थिए। पुरुषको काम लगौँटी बेरेर अगेनामा आगो ताप्दै खाने! 

आफू मार्क्सवाद पढियो। मार्क्सवादी क्रान्तिकारी विचार त के हुँदो रहेछ भने हाँसको पखेटामा पानी जस्तो। धारणागत रुपमा म चाहिँ नश्लीय राष्ट्रवाद विरोधी। धारणागत रुपमा महिलाहिंसा विरोधी। लिंगभेद विरोधी। समानतावादी। तर भित्र त अर्कै छ चिज। सोचीविचारी बोल्दाखेरी सही कुरा बोलिन्छ। ती पोलिटिकल्ली करेक्ट हुन्छन्। जब स्वतस्फूर्त रुपमा आउँछ नि, भित्र जे छ त्यो बाहिर फुत्त निस्कन्छ। छोरी जन्मँदा प्रकट भएको मेरो भावना त्यही संस्कारजन्य प्रभावबाट निस्किएको हो। 

कम्युनिस्ट वामपन्थीबारे पढाइँदा तिनलाई सीमान्तकृत, उत्पीडित र गरिब जनताका दुःख हरणकर्ताको रुपमा चित्रण गरिन्छ। त्यसैले होला हाम्रो समाजमा वामपन्थी दललाई मतदान गर्नेहरुको संख्या अन्य विचारधारा बोकेका दलका भन्दा बढी देखिन्छ। तर त्यसरी पाएको जनादेशबाट जबजब वामहरुले सरकारको नेतृत्व लिन्छन्, ती असाध्यै पतीत हुँदै गएका देखिन्छन् नेपालमा। हाम्रो सन्दर्भमा मात्र होइन, विश्वकै कम्युनिस्ट आन्दोलनलाई अध्ययन गर्दा आवाजविहीनहरुलाई संगठित गरी ‘वर्ग संघर्ष’ थाल्ने दलको नेतृत्व तहमा टाठाबाठा, शिक्षित र तथाकथित उच्च जात र वर्गकाले नै नेतृत्व हाँकिरहेको देखिन्छ। संघर्षको मैदानमा क्रान्तिकारी नेतृत्व सरकारमा पुग्नासाथ पतीत हुनुका पछाडि कतै त्यहाँ पुगेपछि जाग्ने तिनको वर्ग स्वार्थका कारण त होइन? नत्र किन बारम्बार दोहोरिरहेको छ यस्तो गडबडी? 
यो अत्यन्त जटिल प्रश्न हो। म्याक्सिम गोर्कीले एउटा शब्द निर्माण गरेका छन्– वर्णशंकर अर्थात मठ्याहा। हामीकहाँ वर्णशंकरलाई नराम्रो मानिन्छ। उनले संसारका केही प्रतिभाहरुलाई वर्णशंकर प्रतिभा भनेका छन्। तिनीहरु आफ्नो वर्ग त्यागेर उत्पीडित वर्गहरुप्रति सहानुभूति राख्दै तिनका सुखदुःख लेख्दै तिनको पक्षमा उभिए, त्यसैले ती मठ्याहाहरु हुन् भनेका छन्। 

कम्युनिस्ट आन्दोलनमा तपाईंले उल्लेख गर्नुभएका सामन्तका छोराहरु कोही दुर्घटनावश लागे, काकतालीवश लागे, कुनै गर्न नहुने काम गरेर लुक्नुपर्ने अवस्था उत्पन्न भएपछि लागे, त्यसको अनुसन्धानको पाटो छुट्टै होला। तर जे जसरी लागे पनि ती कमसेकम लागे। यो समाजको दलित, जनजाति, मधेशी, सीमान्तकृत, हेपिएका, ठगिएकाहरुको पक्षमा उभिए। 

प्रारम्भमा बोल्ने त्यो हो, जोसँग चेतना छ। बोल्ने साहस कहाँबाट आउँछ? तपाईंसँग सम्पत्तिको अलिकति जग छैन भने बोल्ने आँट पनि आउँदैन। बौद्धिकता मात्रै भएर पनि पुग्दैन। दमडी (पैसो) पनि चाहिन्छ। बौद्धिकता र दमडीको योगबाट मान्छेमा साहस, मनोबल र अभिव्यक्तिमा जोखिम उठाउने शक्ति आउँछ। प्रारम्भमा कम्युनिस्ट पार्टी तिनैले गठन गर्छन्, जो आफ्नो वर्ग त्याग गरेर उत्पीडित वर्गपट्टि सहानुभूति राख्दै त्यहाँबाट तल खस्छन्। यसलाई कम्युनिस्ट भाषामा ‘डि–क्लास’ अर्थात् वर्ग रुपान्तरण भनिन्छ। 

तर एकचोटि त्यसरी गइसकेपछि त्यो दर्शन, त्यो उदेश्य, त्यो संगठनलाई बलशाली र दीर्घकालीन बनाउन जसको निम्ति त्यो दर्शन हो, उसको निम्ति समर्पण बनाउन त पुस्तान्तरण हुनुपर्ने होला। तलको मान्छेलाई माथि उठाउनुपर्ने होला। तर उठाइएन। हामीकहाँ जनजातिको नेता यसो सोच्नुपर्यो भने अशोक राई आइपुग्छन्। यस्तो अशोक राई छन्, जसलाई कहीँ पुग्न दिइएन। उत्पीडित समुदायबाट आएका मान्छेहरु पनि सहवरण गरेर कि उतै बिलाए, कि नीति निर्माण बनाउने ठाउँमा तिनलाई कहिल्यै स्थान दिइएन। यो नेपालको मात्र समस्या होइन सोभियत संघदेखिकै समस्या हो। विश्वव्यापी रुपमा कम्युनिस्ट संगठनको प्रवृत्तिको बारेमा, कम्युनिस्ट नेतृत्वको बारेमा, कम्युनिस्टको उदेश्य र त्यसको संगठनको बारेमा, तिनको उपयोगिताको बारेमा छलफल गर्नुपर्ने कुरा धेरै छन्। संगठनको यो ढाँचाबाट यो समाज कहीँ जानेवाला छैन। त्यो इतिहासबाट प्रमाणित भयो। 

तपाईंले उठाएको प्रश्न झैँ हिजो जमिन्दार पनि मुखियाको छोरो थियो, कम्युनिस्ट पार्टीको नेता पनि मुखियाकै छोरो भयो। जमिन पनि उसले हत्याएको थियो, पार्टी पनि उसैले हत्यायो। यो त माथिको कुरा गर्यौँ। तलकाले पनि जागरुक भएर संगठित भई हस्तक्षेप गरी नखोस्दासम्म माथिबाट दिइने रहेनछ। माथिकाले उदार भएर दिए त बेसै हो तर प्रायः त्यो हुँदो रहेनछ।

यस्तै सन्दर्भ बुझाउन तपाईंले २००७ सालको क्रान्तिलाई आधार बनाएर लेखिएको नाटक ‘नलेखिएको इतिहास’ मा बाहुन नेताको लागि आफ्नो ज्यान बलिदान दिने एकजना मगरको कथामा नायकको शेषपछि उनका श्रीमती र बच्चाको हरिबिजोग भएको देखाउन खोज्नुभएको छ। उतिबेलाको यो कथा रोल्पा, रुकुमको मगर बहुल क्षेत्रबाट उदाएको पुष्पकमल दाहाल नेतृत्वको माओवादीको हकमा पनि ठ्याक्क मेल खान आउँछ। नेतृत्व सत्ताको दैलो छिर्नासाथ उनीहरुले आफ्नो जनाधारलाई भुसुक्कै बिर्सिएको आरोप नै छ। तर, तपाईंले उनै प्रचण्डलाई निकै पुल्पुल्याएको जस्तो देखिन्छ। उनको गल्तीमा पनि खासै विरोध गरेको देखिँदैन। खिलराज रेग्मीको सरकार बनाउने जस्तो गर्नै नहुने कृत्यलाई पनि तपाईंले ‘निर्विकल्पको विकल्प’ भनी समर्थन जनाइदिनु भयो। अलि बढी सुनिएला, तपाईंको यस्तो व्यवहार प्रचण्डप्रतिको मोहजस्तो भएन र? 
नेपाली समाजलाई सबैभन्दा भित्रैसम्म हल्लाउने, राजतन्त्र मिल्काउने, गणतन्त्र ल्याउने र संघीयताको स्थापना गर्ने त माओवादी जनयुद्ध नै हो। त्यो जनयुद्धको नायक संयोगले, काकतालीले, उनको सामर्थ्यले वा उनको भाग्यले प्रचण्ड भन्ने पुष्पकमल दाहाल छविलाल नै भए। त्यसैले मैले उनलाई जुन साथ दिएँ, त्यो बाहिरबाट हेर्दा व्यक्तिलाई साथ दिएको देखिए पनि मैले दिएको समर्थन माओवादी आन्दोलनको आँधीलाई थियो, व्यक्तिलाई होइन। समाज फेर्ने सङ्ग्रामी आँधी ल्याएको हुनाले सारा मान्छे उनका पछाडि थिए। समाज फेर्ने सबभन्दा उपयुक्त मौका यही हो भन्ने लागेर मधेशको प्रचण्डको चुनावी अभियानमा म दुई दिन उनी सँगै हिँडेको पनि हुँ।

मैले सामाजिक चेतनाका निम्ति ज–जसले चेष्टा गरे, त्यो कम्युनिस्ट मात्र होइन, कांग्रेसदेखि अन्यसम्म सबै प्रयत्नलाई सबै ठाउँमा सघाएको छु। दक्षिणपन्थीको नजरमा म त उग्र वामपन्थी कम्युनिस्ट हुँ। तर, आफूलाई धुरन्धर कम्युनिस्ट ठान्ने ईश्वर पोख्रेलको विपक्षमा खडा भएका नरहरि आचार्यको चुनावी मञ्चमा गई भाषण गरेँ। अहिलेको कांग्रेस त झुर दक्षिणपन्थी पार्टी हो। हामीले संग्रामबाट ल्याएको अहिलेको व्यवस्था कांग्रेसको ठूलो भागलाई मन परेको छैन। पल्टाउन चाहन्छ। त्यो संगठनको उम्मेदवार गगन थापाको घरदैलोमा यसपालि म दुई घण्टा घुमेँ। पहिला पनि उनलाई मत मागेकै हुँ। मेरो अहिलेसम्मको बुझाइमा समाज परिवर्तनको मूल कारकहरु बढी जोखिम उठाउने, लड्ने, लामो समयसम्म टिक्ने र बलिदानी गर्ने कम्युनिस्टहरु नै हुन्। तर कम्युनिस्ट मात्र परिवर्तनका संवाहक होइनन्। समाजमा गैरकम्युनिस्टहरुको पनि सकारात्मक पविर्तनमा सधैँ भूमिका रहिआएको छ। 

नेपाली समाजमा सबैभन्दा ठूलो सङ्ग्राम भनेको माओवादी जनयुद्ध हो। माओवादी जनयुद्धमा थुप्रै ज्यादती भएका छन्। कतिपय अज्ञानतावश भए होलान्, कतिपय जनयुद्धलाई यान्त्रिक रुपमा लिँदाखेरी भएका छन्। जस्तै हरेक क्रान्तिले बलिदानको कोटा माग्छ भनियो। भनेपछि कोटा जति धेरै भो, क्रान्ति त्यति ठूलो हुने भयो। यस्तो विचारले बढी मान्छे मारिए। माओवादी नेतृत्व अलि बढी संवेदनशील, अलि बढी संयमशील र दुरदर्शी भइदिएको भए यति धेरै खति हुनेथिएन होला भन्ने मलाई लाग्दछ। तर युद्धमा गैसकेपछि गणितको आधारमा परिणाम आउँदैन। यो ठूलो जोखिमपूर्ण कुरा हो। अन्धवेगको कुरा हो। 

मैले जे गरेँ, त्यसमा मलाई पश्चाताप त छैन तर पछि फर्किएर हेर्दा के लाग्छ भने पुष्पकमल भन्ने मान्छे यतिविघ्न खोक्रो होला भन्ने मैले सोचेकै थिइनँ। त्यस्तो अनुमान नै गरिनँ। त्यत्रो जनयुद्धको प्रारम्भ गर्ने संगठन गर्ने, त्यत्रो समयसम्म त्यसलाई टिकाउने मान्छे त्यस्तो खोक्रो हुन्छ? यतिविघ्न फ्यान्तु हुन्छ? यतिविघ्न अस्थिर हुन्छ? यतिविघ्न पदलोलुप हुन्छ? म यो बुझ्दिनँ। मैले नबुझ्ने धेरै कुराहरु छन्, तीमध्ये एउटा ठूलो कुरा यो पनि हो। माले, एमाले अर्थात बुर्जुवा बन्न त्यसका क्रमागत खुड्किलाहरु छन् तर माओवादी पतीत हुन खुड्किला नै चाहिएन। डिलबाट एकैचोटि पिँधमा खस्यो माओवादी। 

त्यस्तो किन भयो होला? 
यसको मूर्त जवाफ त मसँग पनि छैन। मेरो अनुमान के हो भने माओवादी जनयुद्धको सांस्कृतिक, शैक्षिक जग एकदम कमजोर थियो। प्रशिक्षण अत्यन्त कम भयो। पढाउने काम अत्यन्त कम भयो। मान्छेलाई आन्तरिक र आत्मिक रुपमा ब्युँझाउने काम पनि कम भयो। जम्मा काम भयो, ‘बन्दुक खोस्ने, बन्दुक किन्ने, बन्दुक पड्काउन सक्ने, आक्रमण गर्ने, मार्ने, मारिने।’ अधिकांश ध्यान, प्रयत्न लगन, साधना र स्रोत त्यसमा खर्च भएको हुनाले वैचारिक–सांस्कृतिक काम बहुत कम भयो। त्यसो हुनाले त्यो खोक्रो थियो। खोक्रो हुनाले अहिले त्यो देखियो। 

काँधमा बोकेका ‘युद्ध नायकहरु’ स्खलित भए भन्दैहुनुहुन्छ। तर तन्नेरीहरुले परिवर्तन ल्याउने सामथ्र्य राख्दछन् भन्दै तपाईंले असाध्यै बोक्ने अर्का पात्र कांग्रेसका महामन्त्री गगन थापाले ‘एमसीसी’ माथि संसदमा दिएको विवादास्पद अभिव्यक्ति र केही दिनअघि विराटनगरमा संघीयतामाथि गरेको टिप्पणी सोचमग्न पार्ने खालका छैनन् र?
यो सापेक्षिक कुरो हुँदो रहेछ। आफूले चिताएजस्तो कहिल्यै केही हुँदोरहेनछ। भएका विभिन्न विकल्पमध्ये रोज्नुपर्दाेरहेछ। यो सबै बुझ्न पहिला हामीले कांग्रेस पार्टी बुझ्नुपर्छ। कांग्रेस खुकुलो पार्टी हो। यो चल्तीको भाषामा बुर्जुवा पार्टी हो। धनाढ्यहरुको पार्टी हो। त्यसैले त्यो पार्टीको महामन्त्री पदमा पुगेका गगन अहिले प्रधानमन्त्रीको उम्मेदवारमा दाबी गरिरहेका व्यक्ति पनि हुन्। प्रधानमत्रीको उम्मेदवारीलाई अलि आकर्षक बनाउन पनि अहिले उनका केही बाध्यता होलान्। त्यसैले उनलाई निधारमा ठाडो रातो टीका लगाउनु परेको छ। क्षेत्री जर्नेलहरुलाई प्रसन्न बनाउनु छ। धर्मभिरुहरुलाई आकर्षित गर्नु छ। 

राजनीतिक रुपमा मात्र नभई व्यक्तिगत रुपमा उनी मेरा अत्यन्त प्रिय साथी हुन्। राजनीतिक रुपमा उनलाई थुप्रै चोटि सघाएको छु। तर पछिल्ला उनका केही काम चाहिँ मलाई असाध्यै अप्रिय लागेका छन्। एमसीसीको सन्दर्भमा संसदमा उनले लिएको अडानमा मेरो केही पनि भन्नु छैन। अडान राख्न पाइन्छ। समर्थन गर्न पाइन्छ। विरोध गर्न पाइन्छ। बोल्न पाइन्छ। तर उनले यसरी बोले कि त्यसरी त एउटा दलाल मात्र बोल्दछ। कि एमसीसी कि गठबन्धन भनेको के हो? राजनीतिक नेताले त्यस्तो बोल्दैन। यस्तो जटिल परिस्थितिमा मुलुकको भावी प्रधानमन्त्री बन्ने सम्भावना भएको र आकांक्षा पनि भएको मान्छेले त्यस्तो बोल्दैन। 

दोस्रो, अरुले त भनेका थिए थिए, उनले पनि भने, ‘केही समयपछि प्रदेशको विरोधमा जनता सडकमा ओर्लिनेछन्।’ कुन जनता ओर्लिने हो? एकथरी जनता त अहिले पनि ओर्लिएकै छन् त। त्यसैले गगनको वैचारिक जग बलियो छैन। वैचारिक जग बलियो नभएको हुनाले उनले प्रधानमन्त्री बन्ने अवसर पाइहाले छन् भने पनि अहिलेको कांग्रेसले भन्दा गतिलो गरिहाल्लान् भन्ने मलाई लाग्दैन। तर त्यसो भन्दाभन्दै पनि यो सडेगलेको पुरानो पुस्तालाई उनको प्रयत्नबाट फालिनु आफैँमा योगदान हो। सबैको लागि त्यो सबक हुन्छ। थोत्रा बुढाहरुमा यो सत्ता भनेको आर्यघाटसम्मको लागि होइन भन्ने कुरा स्थापित हुन्छ। 

अहिले उदाएको युवाबहुल राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रहरुले ‘प्रदेश सभा काम छैन खारेज खरिदिनुपर्छ। सडकमा धर्म निरपेक्षताको माग कहाँ थियो? गणतन्त्रको माग सडकमा उठेकै थिएन’ भनिरहेका छन्। तपाईंले भन्ने गरेको ‘तन्नेरीले समाजलाई अग्रगमनतर्फ डोर्याउँछन्’ भन्ने कुरा त यहाँनेर अलि मिलेन, होइन र?  
कहिलेकाहीँ सौभाग्यवश समाजको नागरिक वा समस्टिगतका निम्ति रोज्नका लागि केही राम्रा विकल्प हुँदा हुन्। प्रायः रोज्नका निम्ति चुत्था विकल्पहरु हुँदा रहेछन्। चुत्थाहरुमध्ये कम चुत्थो रोज्नु पर्यो। रवि लामिछाने आदि इत्यादिहरु चाहिँ यो व्यवस्थाका सञ्चालक र नायकहरुले धेरै खराब काम गरेका हुनाले तिनले आर्जन गरेको आलोकप्रियताबाट फाइदा उठाएर आएका हुन्। आफ्नो लोकप्रियताको आकर्षणले, विचारको आकर्षणले, कार्यक्रमको आकर्षणले आएका होइनन्। रवि लामिछानेको आकर्षण भनेको खड्गप्रसाद, पुष्पकमल र शेरबहादुर देउवाप्रतिको विकर्षण हो। यी चाहिँ मौसमी चलखेलहरु हुन्। मेरो विचारमा यिनको आयु एक मौसम मात्र हुन्छ। कदाचित् रवि लामिछाने सरकारमा गए भने ६ महिनापछि उनका बारेमा हामीले कुरा गर्नुपर्यो भने त्यो अर्के रवि लामिछानेबारे हुनेछ। आदर्शका कुरा गर्ने, हुंकार गर्ने रविको हुनेछैन। हात मोल्ने रवि लामिछानेको हुनेछ। 

इतिहासमा संयोगको ठूलो भूमिका हुँदो रहेछ। माओवादी जनयुद्ध संकटमा परेको बेला सत्तामा कदाचित् गिरिजाप्रसाद कोइराला नभइदिएको भए १२ बुँदे सहमति पनि हुने थिएन। गणतन्त्रको घोषणा पनि हुने थिएन। नेपाली कांग्रेसमाथि गिरिजाप्रसाद कोइरालाको तानाशाहको जस्तो एकछत्र प्रभाव नभइदिएको भए उनी एक्लैले गणतन्त्रको घोषणा गर्नसक्ने थिएनन। गिरिजासँग आँखा जुधाउनसक्ने कांग्रेसभित्र कोही पनि थिएन। उनले जे भन्थे, त्यो हुन्थ्यो, भयो पनि। 

समय परिवर्तन हुँदै गएपछि परिवर्तनकामी शक्तिहरु पनि स्खलित हुँदै गए। ती तितरबितर हुँदै गए। परिवर्तनका आवेगहरु सेलाउँदै गए। प्रतिक्रियावादीहरुले बिस्तारै कुनाकाप्चाबाट टाउको उठाएर बोल्न थाले। दायाँबायाँका सनातनी प्रतिक्रियावादीहरु बोल्न थालेपछि कांग्रेसीहरु पनि अब बिस्तारै बोल्न थाले। मैले सुरुमै भनेँ नि, कांग्रेसको धेरै ठूलो संख्यालाई अहिले आएका कुनै पनि परिवर्तन रुचिकर लागेको छैन। तिनका धेरै कुरा त लिङ्देनसँग मिल्लान् जस्तो लाग्छ। खुला समाजमा यदि जनमतसङ्ग्रह भन्न पाइने हो भने सबै यो पल्टाइन्छ। तर यो सबै व्यवस्था पल्टाइनुमा तिनको दोष छैन। तिनले जानेकै त्यही हो। तिनको वर्गको हित हुने पनि त्यही हो। तिनको काम नै पल्टाउने हो। 

तरुण भन्नेबित्तिकै निरपेक्ष रुपमा बुद्धिमान हुन्छ, क्रान्तिकारी हुन्छ भन्ने हुँदोरहेनछ। अहिले रवि लामिछानेलाई नै भन्नोस् न, चिन्तनको सारमा उनी खास्सा दक्षिणपन्थी हुन्। उनको माग नै प्रदेशलाई उडाउने छ। प्रारम्भ त्यहाँ भयो। प्रदेश उडाएपछि उनले भोलि समावेशिता उडाउनेछन्। उनको अनुकूलता भयो भने धर्मनिरपेक्षता उडाइदिन्छन्। सबै उडाउँदै गएपछि आखिरमा राजा ल्याउँछन्। 

यो व्यवस्था ल्याउन तपाईंहरु सडकमा ओर्लिनु भयो। कालकोठरीमा थुनिनु भयो। हजारौँ मान्छेले बलिदानी दिए। बहुसांस्कृतिक समाजको सद्भाव नखल्बलियोस् भनेर समावेशी राजनीतिको परिकल्पना सहितको व्यवस्था ल्याउन लड्नु भयो। संघीताको भावना बमोजिम केन्द्रमा थुपारिएको सत्ता–शक्ति स्थानीय तहमा पुर्याउन भूमिका खेल्नुभयो। तर यस्तो व्यवस्थालाई राम्ररी परीक्षण नगर्दै खारेजीको कुरा गर्न थालिएको छ। यो सबै अवस्था आउनुमा क–कसको दोष हो भन्ने लाग्दछ? 
आफ्नो स्वार्थीपनाले र कुबुद्धिले ठुल्ठूला भूल गर्ने अनि विदेशीलाई दोष दिने षड्यन्त्रको सिद्धान्तमा लामो समयसम्म निकै विश्वास गरे पनि अहिले म त्यसमा विश्वास गर्दिनँ। सबैका आफ्ना गल्ती होलान्। जस्तै तपाईंले मलाई भन्नुभयो नि, ‘पुष्पकमललाई तपाईंले बढी पुल्पुल्याउनु भयो कि?’ हो, पुष्पकमलको माध्यमबाट अहिलेको प्रवृत्ति उजागर हुन्छ भन्ने मलाई थाहा हुनुपथ्र्याे नि, तर हुन सकेन। संकेत भएको भए म सजग हुन्थेँ र अरुलाई पनि सजग गराउँथे होला। मैले त्यो गरिनँ। मैले पहिल्यै भनेँ नि, म भावुक स्वभावको मान्छे। आँखा चिम्लेर समर्थन गरेँ। मैले अथवा मजस्ता आफूलाई बौद्धिक भन्ने र केही हदसम्म म भविष्यसम्म देख्न सक्छु भनी घमण्ड गर्नेहरुले नेताका सम्भावित प्रवृत्तिहरु या दुष्प्रवृत्तिहरुको बारेमा केही न केही पूर्वज्ञान हुनुपथ्र्याे। त्यसको हेक्का हुनुपथ्र्याे। त्यो भएन। त्यस अर्थमा केही न केही हामी सबैको गल्ती छ। 

दोष कसको हो त भन्दा परिवर्तन जसले ल्यायो, जसले परिवर्तनलाई निरन्तरता दिन सकेन, मान्छेको चित्तमा संगठनलाई स्थापित गराउन सकेन, दोष चाहिँ तिनको हो। जनता भनेका त अमूर्त कुरा हुन्। क–कसलाई जनतामा राख्ने? बाँकी सबैभन्दा ठूलो गल्ती त नेतृत्वकै हो। परिवर्तन ल्याउन मूल कारकको भूमिकामा त नेतृत्व नै थियो। जनयुद्धको नेतृत्व, १२ बुँदेको नेतृत्व, गणतन्त्र घोषणाको नेतृत्व उनीहरुले नै गरे। अहिलेको सम्पूर्ण संवैधानिक व्यवस्था उनीहरुले नै गरे भनेपछि यसलाई संस्थागत रुप दिने र त्यो संस्थागत रुपलाई चिरस्थायी बनाउने र त्यसलाई लाभदायक बनाउने मूल भूमिका पनि उनीहरुकै थियो। तर ती गम्भीर भएनन्। 

नेतृत्वको पनि सीमा थिए होलान्। जस्तै, मैले अघि नै भनेँ, माओवादी जनयुद्धको वैचारिक र सांस्कृतिक जग कमजोर थियो। त्यसको दोष हामीले भोग्यौँ। यस्तो किन भयो होला भनी गम्दा यसमा नेपालको समग्र शैक्षिक स्थितिको कुरा आउँछ। हाम्रो शिक्षाको इतिहास लामो छैन। साहित्यको इतिहास लामो छैन। बौद्धिकता र चिन्तनको इतिहास लामो छैन। गहिरो शोध अनुसन्धान गरेर लेखिएका पुस्तक औँलामा गन्न सकिनेछन्। साहित्य लेख्ने के हो? आँखा चिम्म गर्यो ठोकिदियो। समालोचना पनि त्यही हो। समीक्षा पनि त्यही हो। अनुसन्धान पनि लटरपटर गरिदियो। नेपाली समाजको बौद्धिक जग नै कमजोर भएको हुनाले आन्दोलनकारी शक्ति पनि कमजोर हुँदै गए। त्यसपछि तिनकै नेतृत्वमा ल्याइएका परिवर्तनहरु पनि कमजोर बनाइँदै गए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .