ad ad

अन्तर्वार्ता


सेयरबजारले ३२ सयको बिन्दु पार गरे ४२ सयसम्म पुग्छ : डा. थापा (अन्तर्वार्ता)

‘प्रिमियम मूल्यमा जारी भएका आईपीओले बजार टिकाएको छ’
सेयरबजारले ३२ सयको बिन्दु पार गरे ४२ सयसम्म पुग्छ : डा. थापा (अन्तर्वार्ता)

तस्बिर : सरोज नेपाल


केशर बोगटी
पुस ६, २०८० शुक्रबार ९:२३, काठमाडौँ

केही हप्तायता सेयरबजारले राम्रो संकेत गरेको छ। नेप्से उकालो दिशामा छ। यसले लगानीकर्तालाई उत्साहित बनाउनथालेको छ। यता नयाँ स्टकलाई लाइसेन्स दिने तयारीदेखि नयाँ ब्रोकरले लाइसेन्स पाउनेसम्मका काम भइरहेका छन्। यस्तोमा राष्ट्र बैंकको मौद्रिक समीक्षाले बजारलाई बल दिएको छ।

यस्तो अवस्थामा सेयरबजारको भविष्य, आईपीओमा १० कित्ते नीति, नेप्से र धितोपत्र बोर्डलगायतबारे नेपालखबरले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा वित्तशास्त्रका उपप्राध्यापक तथा सेयर बजारका अध्येता डा. भरतसिंह थापासँग गरेको कुराकानी :  

कोभिडकालमा सेयरबजार निकै बढ्यो तर त्यसयता निकै घटेको अवस्था छ, फेरि बजारले त्यो उचाइ नपाउने देखिएको हो? 
कोभिडकालमा लगानीका अन्य आयाम थिएनन्। व्यापारी, पेसाकर्मी र कर्मचारीका लागि सेयरबजार एक मात्र लगानीको क्षेत्र बन्यो। सबै यहीँ केन्द्रित भए। बैंकमा लगानीयोग्य रकम (तरलता) पनि थुप्रियो। सबै कुरा ‘होल्ड’ भइरहेको बेला कुनै ‘प्रडक्ट’को माग नभइरहेकोले तरलताजति सेयरबजारमा ‘च्यानलाइज’ भयो। 

सबैको ध्यान सेयरबजारमा भएपछि बजार बढ्ने नै भयो। त्यो बेलाको ‘डिमान्ड’ अस्वाभाविक थियो तर कम्पनीहरुको ‘पर्फमेन्स’ राम्रो थिएन। कम्पनीको वास्तविक सेयर मूल्य उसको विवरणले ‘रिफलेक्ट’ गर्नुपर्ने थियो। कम्पनीको प्रगति विवरण, आम्दानी क्षमता र भविष्यको सम्भावनालाई उसले ‘रिफलेक्ट’ गर्नुपर्ने थियो। त्यसो गर्न सकेन। 

किनभने, सबै कम्पनीको वित्तीय अवस्था नकारात्मक भएको बेला सेयरबजार मात्रै सकारात्मक हुनु टिकाउपूर्ण थिएन। विस्तारै कोभिड प्रभाव कम हुँदै गयो। ‘बिजनेश ब्याक टू ट्राक’ आउन थाले। त्यसपछि सबै आफ्नो काम गर्न थाले। पेसाकर्मी पनि आफ्नो काममा लागे र कर्जा पनि विभिन्न क्षेत्रमा जान थाल्यो। त्यसपछि सेयर बजारबाट पैसा निकाल्ने प्रवृत्ति बढ्न थाल्यो। पैसा अन्य क्षेत्रमा लगानी हुँदा सप्लाई बढ्न थाल्यो। सप्लाई बढ्न थालेपछि चाँडै बजार घट्यो। 

अहिले केही दिन बजार बढ्छ, बढ्न थालेपछि ५/६ हजार बिन्दुमा पुग्ने विश्लेषण सुरु हुन्छन्। लगानीकर्ताले केलाई विश्वास गर्ने? 
विश्लेषक दुई किसिमका छन्। एउटा विश्लेषकले ‘रियल लुप’मा विश्लेषण गरेको हुन्छन्। अर्को खालको विश्लेषकचाहिँ लगानीकर्ता आफैँ हो। त्यस्ता लगानीकर्ताले आफूले कसरी लगानी गरेको हुन्छ, सोहीअनुसार विश्लेषण गरेको हुन्छ। 

त्यसैले स्वतन्त्र विश्लेषक र ‘बायस्ड’ विश्लेषक छुट्याउन जरुरी छ। जसले बजार १२/१४ सयमा आउनुपर्छ भनेका छन् तिनले सेयर बेचिसकेका छन्। उनीहरु तल्लो बिन्दुमा बजार झारेर सेयर किन्न खोजेको बुझिन्छ। 

बजार घट्नुको मुख्य कारणचाहिँ के हो? 
बजार घट्नुको मुख्य कारण त तरलता नै हो। अर्को, अन्तर्राष्ट्रिय परिवेशले नेपालको अर्थतन्त्रलाई नै कमजोर बनायो। त्यसको मुख्य कारण डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनु नै हो। यसले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक असर गर्यो। नेपाली रुपैयाँ कमजोर हुनु भनेको अन्तर्राष्ट्रिय रुपमा नेपालको विश्वास गुम्दै जानु हो। 

अर्को, त्यो बेलामा ‘ब्यालेन्स अफ पेमेन्ट’ (शोधनान्तर स्थिति) धेरै नै घट्यो। किनकि आयात बढ्यो। यस्तोमा केन्द्रीय बैंकले अर्थतन्त्र जोगाउन गाह्रो छ भनेर कडा मौद्रिक नीति ल्यायो। ब्याजदर उच्च बनाइदियो। उच्च ब्याजदर हुँदा ऋणको माग कम भयो। विदेशी विनिमय सञ्चिति बढाउने र आयात घटाउने हिसाबले यसो गरिएको थियो। केही हदसम्म यसमा केन्द्रीय बैंक सफल पनि भयो। 

तर, यसको सिधा असर सेयरबजारमा पर्यो। किनभने, ब्याजदर बढ्दा ऋण प्रवाह घट्यो, त्यसले सेयरबजारको माग पनि घट्यो र अन्ततः सेयरमूल्य घट्ने नै भयो। मूल्य घट्दा सेयर धितो राखेर कर्जा लिएकालाई मार्जिन कल आउन थाल्यो। फेरि उनीहरुले बेच्न थाले, त्यसले सप्लाई बढ्यो र मूल्य घट्न थाल्यो। यस्तो अवस्थामा बजार बढ्ने कुरा नै भएन। त्यसैले पछिल्लो ६/८ महिनादेखि सेयरबजार एउटै लेभलमा देखिएको छ। 

पछिल्लो समय बजार घट्नुमा लगानीकर्ताको आत्मविश्वासको भूमिका छ कि छैन? 
छ नि। कुनै पनि क्षेत्रमा लगानी बढ्न नसक्दा लगानीकर्ताको आत्मविश्वास कम हुँदै जान्छ। यसो हुँदा उनीहरु लगानी गर्न चाहँदैनन्। अहिले सेयरबजारमा कसैले लगानी गर्न नै चाहँदैनन्। किनकि ‘कन्फिडेन्ट’ नै छैन। एउटा त्यो क्षेत्रमा कर्जा नै गएको छैन र अर्कोचाहिँ, लेन्डिङलाई कडाइ गरियो, जोखिम भार बढाइयो, ४/१२ को ‘क्याप’ लगाइयो। 

त्यसकारण लगानी नबढ्दा बजारमा असर पुगेको छ। यो देशमा लगानी नै हुँदैन। सबै बाहिर जान थाले। सबै जना यो देशमा केही हुँदैन भन्न थालेपछि अर्थतन्त्र पनि केही हुँदैन। पैसा भएकाहरु पनि बरु बैंकमा पैसा राख्न थाले। लगानी नै हुँदैन। बैंक सुरक्षित पनि छ। र, राम्रो ब्याजदर पनि पाइन्छ। यहाँ केही हुँदैन भन्ने नकारात्मकता तदारुकताका साथ फैलिएसँगै सेयर बजार बढ्न सकेन। 

बजार ४ पटक १८ सय बिन्दुनजिक पुगेर ‘बाउन्स ब्याक’ भएको छ। यो बिन्दुभन्दा तल बजार नझर्ने कारण के हो? 
बजार १८ सय बिन्दुमा रोकिनुको पहिलो कारण नै म्युचुअल फन्डहरु हुन्। म्युचुअल फन्डमा क्यापिटलहरुले लगानी गरिरहेका छन्। इन्स्योरेन्स कम्पनीले लगानी गरिरहेका छन्। संस्थागत लगानीकर्ताले गर्दा बजार टिकेको छ। 

अर्कोचाहिँ, त्यो लेभलमा टिक्ने कारण नै पछिल्लो समय प्रिमियममा जारी भएको आईपीओ हो। प्रिमियम मूल्यमा जारी भएको आईपीओ त पहिले नै उच्च दरमा छ। तिनीहरु त्योभन्दा घट्दै जाँदा मार्केट टिकाएको छ। 

किनकि लगानीकर्ताले २५० रुपैयाँ हालेको आईपीओ घाटा खाएर बेच्दैनन्। त्यो पनि १० कित्ता आईपीओ हो। आईपीओ भर्ने ७० प्रतिशत निष्क्रिय नै छन्। 

बजारमा ठूला र साना कम्पनीका सेयर छन्, यसले बजार घटबढमा प्रभाव पार्छन्? 
योचाहिँ इन्डेक्स कन्स्ट्रक्सन (सूचक बनावट)सँग पनि जोडिन्छ। हाम्रो भ्यालु (मूल्य) भनेको ‘ओइटेड इन्डेक्स’ हो। यसमा भार कम्पनीको पुँजीकरणको हुन्छ। 

जस्तो कि नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी जस्ता ठूला कम्पनीको वजन धेरै हुन्छ। यी कम्पनीको १० रुपैयाँको सेयर तलमाथि हुनेबित्तिकै इन्डेक्स १/२ अंकले तलमाथि हुन्छ। तर फेरि सानो कम्पनीको सेयरमूल्य १००/२०० रुपैयाँ तलमाथि हुँदा केही हुँदैन। हाम्रो सूचक बनावट नै त्यस्तो छ। अहिले ‘नेप्से ३०’को अवधारणा पनि त्यसै भएर आएको हो। 

त्यो आउँदा अझै प्रतिनिधित्वमूलक हुन्छ कि भन्ने छ। जुन अहिले छैन। जतिबेला नेप्से इन्डेक्स १०००/८०० भनिरहेको अवस्थामा एनटीसी र एनआरआईसीको मूल्य ४०० रुपैयाँ थियो। त्यो मूल्य ८०० रुपैयाँ हाराहारीमा छ। कुनै बेला त्यो १६ सय पनि पुग्यो। मूल्य ४०० हुँदा नेप्से इन्डेक्स ११ सय थियो भने ८ सय हुँदा १८/१९ सय हुनु सामान्य हो। जबसम्म ठूला कम्पनीको सेयरमूूल्य निरन्तर घट्दैन तबसम्म सेयरबजार १८ सय तल आउने दैखिँदैन। 

बैंकहरुको मूल्य आधा भन्दा तल झरेको छ।  त्यसको असर खासै छैन। त्यसले  इन्डेक्स कन्सक्सन मेथडले गर्दा नेप्से १८ सय तल नआएको हो। 

पछिल्लो समय बजार बढिरहेको छ, मौद्रिक समीक्षाले ‘सपोर्ट’ गरेको हो?  
हेर्नुस्, बजारलाई बहाना चाहिन्छ। अहिले भारतीय बजार हालसम्मकै उच्च बिन्दुमा छ। बम्बे स्टक ७० हजार बिन्दु माथि पुगिसक्यो। २०२४ मा हुने चुनावले मोदीले जित्छन् र राजनीतिक स्थिरता हुन्छ भन्दै लगानीकर्ताको मनोबल बढ्दा बजार बढेको हो। 

नेपालमा पनि मौद्रिक नीतिको समीक्षा आयो यो एउटा बहाना हो। नेपालमा नयाँ ब्रोकर आएका छन्। उनीहरु बलियो छन्, पुँजीमा आधारित छन् र विज्ञता पनि छ। अब नयाँ स्टक आउने कुरा छ। यी सबै सकारात्मक रुपमा बजारलाई अगाडि बढ्ने बहाना चाहिएको थियो। त्यो बहाना मौद्रिक नीतिले दिएको छ। 

मौद्रिक नीतिले जोखिम भार घटाउने र ब्याजदर कम गर्ने काम गरिदिएको छ। यी दुवै कुरा बजारको लागि सकारात्मक छ। ब्याजदर र सेयर धितो कर्जाको जोखिम भार घटेको छ। अहिले सेयरबजारलाई सबैले बढाउन चाहेका पनि छन्। सबै कुरा मिलेकोले बजार बढ्न खोजेको हो। नबढेको धेरै समय भयो। बजार चक्र (साइकल)मा चल्ने गर्छ र हामी यो चार/चार वर्षको छ भन्छौँ। २०२० मा एउटा बुल भयो अब अर्को २०२४ मा हुन्छ भन्ने छ। त्यो चक्र पुग्न थाल्यो भन्ने छ। 

यद्यपि मार्केटमा कम्पनीहरुले राम्रो गरेको भन्नेचाहिँ होइन। अहिले धेरै कम्पनीले लाभांश नदिने भनेका छन्। कम्पनीहरुको वित्तीय अवस्था कमजोर छ। हालै बैंक र बीमा कम्पनीहरुले कर तिर्नुपर्ने अवस्था आयो। तसर्थ आधारभूत रुपमा सुधार भएको होइन तर प्राविधिक तथा मौद्रिक नीति र सेन्टिमेन्टले भने बढाएको छ। 

सेयरबजारको चक्र नजिकिएको र अन्य सपोर्ट मिलेको भन्नुभयो। अब सेयरबजार कति पुग्ने देख्नुहुन्छ? 
यसको ‘अप्टिकल’ बिन्दु भन्न त सकिँदैन। तर, सामान्य ट्रेन्ड हेर्दाचाहिँ १८ सय बिन्दुबाट ४ पटक ‘बाउन्स ब्याक’ भएको छ। १८ सयको बिन्दुको सपोर्ट बलियो देखिएको छ। यसले बजार १८ सय तल झर्दैन भन्ने कुरा सुनिश्चित गर्छ। तर, मौद्रिक नीतिको अर्को समीक्षा कति बेला आउँछ, बैंकहरुले कसरी प्रतिक्रिया दिन्छन् भन्नेले पनि फरक पर्नसक्छ। अहिले बैंकहरुले ब्याजदर घटाएका छन्। बैंकहरुले यसलाई नै निरन्तरता दिन्छन् कि दिँदैनन् भन्ने प्रश्न हो। अहिले सीडी रेसियो ८० प्रतिशत छ। यसले अझै ब्याजदर घट्दै जाने देखिएको छ। ब्याजदर जति घट्छ त्यति नै बजार अगाडि बढ्छ। 

नेपालमा अहिले लगानीको लागि कि सेयरबजार कि घरजग्गा हो। जग्गामा तत्काल लगानी जाने देखिँदैन। त्यसमा जोखिम पनि छ। तर, बजारमा कम जोखिम छ। बैंकहरुले औसतमा ७० प्रतिशत कर्जा दिन्छन्। त्यसमा पनि मूल्य घट्न थाल्यो भने कि मार्जिन कल गर्छन्, कि त लगानीकर्ताले सेयर बेच्छ। यसमा त जोखिम नै छैन। बैंकहरुको त्यो पैसा जाने भनेको सेयर धितो कर्जामा नै हो। तर, अहिले बजारमा ९० प्रतिशत लगानीकर्ता ट्रेडर छन्। उनीहरुले बजार थोरै बढ्नेबित्तिकै बेच्छन्। ट्रेडर मात्र भएको बजार बढे पनि टिकाउ गाह्रो हुन्छ। 

जस्तो कि बजार बढ्नेबित्तिकै सप्लाई आइहाल्छ। त्यहाँ दीर्घकालीन लगानीकर्ताको संख्या अलि बढी भयो भने बजार टिक्न सक्छ। बजारमा फेरि दुई किसिमका ट्रेडर्स छन्। एउटा बजारलाई बुझेका र अर्को नयाँ। नयाँ ट्रेडर बजार घट्नेबित्तिकै आत्तिन्छन् र बेच्न थाल्छन्। त्यसैले संस्थागत लगानीकर्ताले मार्केटमा लगानी गर्ने हो। 

म्युचल फण्ड, क्यापिटलहरु बजारमा प्रवेश गर्ने हो भने बजार लामो समय बढ्ने देखिन्छ। त्यसको लागि ब्याजदर मुख्य कुरा हो। योबाहेक साइकल र लगानीकर्ताको मनोबल पनि मुख्य हुन्छ। अहिले तरलता छ, लगानी गर्ने बेला हो। यसरी हेर्दा नीतिगत रुपमा क्यापिटल मार्केटलाई अनुकूल गर्ने देखिन्छ। त्यसैले बजार विस्तारै बढ्छ। अहिले दुईवटा कुरा छन्ः एउटा बजार ३२ सय नपुगी तल झर्छ। र अर्कोचाहिँ प्राविधिक रुपमा हेर्दा ३२ सय बिन्दु पारे गरे अर्को बुल ४२/४४ सयतिर जान्छ। त्यो भनेको २०२४ भित्रमा हो। 

धितोपत्र बोर्डले थप नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। नयाँ आउँदा बजारलाई के फाइदा हुनसक्छ?    
पुँजी बजारको विकासको लागि नयाँ ब्रोकरले दीर्घकालीन रुपमा सकारात्मक असर गर्छ जस्तो लाग्छ। नयाँ अहिले आएको ब्रोकर पुराना ब्रोकरजस्ता छैनन्। पुराना ब्रोकर वैयक्तिक सामथ्र्य हेरेर दिएको ब्रोकर थियो। उनीहरुलाई व्यक्तिगत अनुभव, प्रतिस्पर्धा गर्न सक्ने क्षमता हेरेर दिइएको थियो भने अहिले संस्थालाई दिएको ब्रोकर हो।

यसको क्षमता, पुँजी, सञ्जाल र अनुभवजस्ता कुरालाई हेरेर दिइएको छ। यस्ता ब्रोकर बढी व्यावसायिक हुने हुँदा बलियो हुन्छन्। यिनीहरुले पुँजीबजारको विकासको लागि काम गर्न सक्छन्। यीमध्ये पनि केही ब्रोकर पूर्ण कारोबार गर्ने (फुल फेज) ब्रोकर छन्। जो लगानीकर्तालाई सुसूचित गर्ने, नयाँ प्रडक्ट ल्याउने र लगानीकर्तालाई गुणस्तरीय सेवा दिने कुरामा पुराना ब्रोकरभन्दा अब्बल देखिन्छन्। यसले दीर्घकालमा पुँजी बजारलाई सकारात्मक असर गर्ने देखिन्छ। 

अहिले नयाँ स्टकको पनि चर्चा छ। नयाँ स्टक कति आवश्यक देख्नुहुन्छ? 
नेपालको पुँजीबजार सानो छ। दुईवटा स्टक आवश्यक छैनन्। तर, हाल सञ्चालनमा रहेको स्टकमा लामो समयदेखि देखिएका कमी कमजोरी अझैसम्म सुधार हुनसकेको छैन। र, कुनै ‘करेक्सन’को काम पनि भएको छैन। यो एउटा सरकारी अड्डाजस्तो भयो। अझै वर्षौँसम्म करेक्सन होलाजस्तो देखिँदैन। त्यसैले निजी क्षेत्रको नयाँ स्टक आउँदा प्रतिस्पर्धाको वातावरण बनाउन नयाँ स्टक आवश्यक बनेको हो। 

हालको स्टककोे पुनर्संरचनाको काममा धेरै नै ढिला भइसक्यो। र, क्यापिटलको पुनर्संरचना पनि आवश्यक छ। प्रविधिमा नयाँ पार्टनर खोज्नुपर्छ। यसलाई पूर्ण सुधार गरी निजीकरण गर्न सकिए नयाँ स्टक आवश्यक पर्दैनथ्यो। तर, वर्षौँदेखि कुनै काम भएन र अझै हुने पनि देखिदैन। त्यसैले नयाँ स्टक आवश्यक छ।  

निजी क्षेत्रबाट नयाँ स्टक ल्याउँदा कम्पनीहरु पनि नयाँमा जाने र लगानीकर्ता पनि नयाँमा जाने हुनसक्छ। यसले नेप्से बन्द गर्नुपर्ने अवस्था पनि आउन सक्छ। अर्थ मन्त्रालय र धितोपत्र बोर्डले यसलाई मात्रै प्राथमिकता दिने र नयाँलाई केही पनि गर्न नसक्ने हो भने पनि समस्या हुनसक्छ। त्यसको कष्ट लगानीकर्ता र कम्पनीहरुले व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।

नेपालमा मार्जिन ट्रेडिङ, अक्सन इन्डेक्स र इन्ट्रा–डे कारोबार कति सम्भव छ? 
मार्जिन ट्रेडिङ र इन्ट्रा–डे भनिरहेका छौं। त्यो अझै बेला भएको छैन। नयाँ ब्रोकरले आफ्नो पर्फमेन्स देखाउने बेला भएको छैन। त्यसकारण यो आउन डिलर कम्पनीहरु पनि आउनुपर्छ। बजारलाई स्थिरताको लागि डिलर मार्केट आउनुपर्छ। नेपालमा यसको कुराचाहिँ चलेकै छ।

तर इन्ट्रा डे (एकै दिनमा किनबेच गर्न मिल्ने प्रणाली) को केसमा के हुन्छ भने जबसम्म हामीसँग बलियो ब्रोकरहरु र बलियो नियामक हुँदैन, लगानीकर्ता पनि राम्रोसँग सुसूचित हुँदैनन्, तबसम्म यस्तो सिस्टम ल्याउनु घातक हुन्छ। त्यसले झन् अत्याउँछ। अहिले त ब्यारियर (अड्चन)हरु छन्, त्यतिबेला धेरै खुकुलो हुने हुन्छ। यस्तोमा नियमनदेखिका सबै पक्ष जिम्मेवार भएनन् भने जुवा खेलेबराबर हुन्छ। 

पछिल्लो समय धितोपत्र बोर्डले १० कित्ते नीति परिमार्जनको लागि समिति नै बनाएको छ। यो व्यवस्था परिमार्जन आवश्यक छ? 
आईपीओ बाँडफाँट प्रक्रिया (१० कित्ते व्यवस्था) नीति परिमार्जन गर्नुपर्छ जस्तो लाग्दैन। १० कित्ते नीतिले सेयरबजारमा पहुँच विस्तार गरेको छ। सेयर बजार १८ सय तल नआउनुमा एउटा कारण १० कित्ते नीति पनि हो। यसले बजार ‘स्टेबिलिटी’लाई पनि बढाएको छ। पुँजीबजारमा ६० लाख डिम्याट खाता छन्। एउटा आईपीओमा १२/१५ लाखले आवेदन (भर्ने) गरेका छन्। यो एकदमै उपयुक्त (पर्फेक्ट) नीति छ। यसलाई परिमार्जन गर्नुपर्ने कुनै कारण छैन। बरु, लगानीकर्ताहरुलाई सुसूचित बनाउन आवश्यक छ। 

पछिल्लो समय सबैखाले कम्पनीको सेयर प्रिमियममा आउन थालेको छ। कमजोर कम्पनीको आईपीओ प्रिमियममा आउँदा आईपीओ पर्नेलाई पनि सरापजस्तै भएको छ। अब कम्पनीको प्राइसिङ मेकानिजम(मूल्य संयन्त्र)मा केही काम गर्नुपर्नेचाहिँ छ। १० कित्ते नीतिले बैंकिङ पहुँच पनि बढाएको छ। अहिले बैंक खाता ५ करोड बढी छन्। यो १० कित्ते नीतिले बढाएको हो। भारतलाई सबैको बैंक खाता बनाउन धेरै खर्च लाग्यो। हामीकहाँ ७५ प्रतिशत बढीको बैंक खाता भएको अवस्था छ। 

अहिलेको व्यवस्था परिमार्जन गरे आवेदन घट्छ। यसले उत्साह बढाउँदैन। त्यसैले अहिले नै त्यता जानु हुँदैन र अहिले नै जाने बेला भएको छैन। अझै बजार विस्तार भइरहेको अवस्थामा १० कित्ते नीति उपयुक्त छ। 

अन्त्यमा, पुँजी बजारको विकास र विस्तारको लागि के कस्ता नीतिगत सुधारको आवश्यक देख्नुहुन्छ? 
पुँजी बजारको विकास र विस्तारको लागि नीतिगत रुपमा सुधार आवश्यक छ। जस्तै, नेप्सेमा कम्पनीको सेयर सूचीकरणको व्यवस्था र प्राथमिक निष्काशन (आईपीओ)को व्यवस्थामा पनि व्यापक सुधार गर्नुपर्ने अवस्था छ। पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्य छ। यीबाहेक विविध खालका कम्पनी पुँजी बजारमा ल्याउन आवश्यक छ। 

यस्ता कम्पनीलाई बजारमा ल्याउने गरी नीतिगत रुपमा सुधार आवश्यक छन्। साथै, प्रडक्ट इन्नोभेसन भएको छैन। विगत १५ वर्षमा हेर्दा म्युचुअल फन्डबाहेक नयाँ कुनै प्रडक्ट आएन। स्टार्टअप सूचीकरण हुने र उनीहरुले पुँजीबजारबाट पनि लगानी जुटाउने वातावरण बनाउनुपर्यो। यसबाहेक प्राइभेट इक्विटी फण्ड अझै बढ्नुपर्यो। अर्को, हेज फन्ड आउला। तसर्थ प्रडक्ट इन्नोभेसन अहिलेको लागि निकै आवश्यक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .