ad ad

अन्तर्वार्ता


एक लाख संक्रमितलाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छौँ: डा. खेम कार्की (अन्तर्वार्ता)

एक लाख संक्रमितलाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छौँ: डा. खेम कार्की (अन्तर्वार्ता)

उजिर कार्की
बैशाख ३१, २०७७ बुधबार १५:३५,

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ। दक्षिणी सीमावर्ती जिल्लाहरुमा संक्रमितको संख्या ह्वात्तै बढेको छ। आवतजावत खुकुलो हुनेबित्तिकै राजधानीमा पनि संक्रमित भेटिएका छन्। मंगलबार सुनसरी र कन्चनपुरबाट आएका दुई जनामा कोरोना संक्रमण देखियो। संक्रमितको संख्या बढेसँगै महामारीको त्रास पनि बढेको छ।

उपत्यकाभित्र केही दिन स्थिति सहज बनाएको सरकारका लागि फेरि लकडाउनलाई कडा पार्नु पर्ने र परीक्षण बढाउनु पर्ने चुनौती थपिएको छ। लकडाउन प्रभावकारी कार्यान्वयन नभएको र परीक्षण पनि थोरै भएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ। यस्तो अवस्थामा सरकारको तयारी के छ? यिनै सन्दर्भमा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीसँग नेपालखबरले गरेको कुराकानी:

संक्रमितको संख्या ह्वात्तै बढेको छ। स्थिति कति चिन्ताजनक हो?
अहिले हामी आत्तिनु पर्ने अवस्था छैन। केही केसहरु देखिँदै जान्छन्, परीक्षण पनि हुँदै जान्छ। हामी अहिले पनि दैनिक ३ हजारको परीक्षण गर्न सक्छौं। अहिले तत्कालका लागि हामीलाई सामग्रीको पनि अभाव छैन। तर, हामीले निरन्तर स्वास्थ्य सामग्री आपूर्तिको व्यवस्थापन गर्नै पर्छ। मान्छेहरुको चहलपहल बढ्नेबित्तिकै बिराम बढ्छन्।

लकडाउन जतिसुकै लम्ब्याए पनि हामीले कडाइका साथ कार्यान्वयन गर्न सकेनौं। समस्या त्यहाँनेर हो। सबै मान्छे अनुशासनमा बसिदिँदा यो ठूलो कुरै होइन। तर, हाम्रोमा चहलपहल बढी भयो।

भारतमा पनि लकडाउन खुकुलो गरियो। आवतजावत थामिएन। भारतकै कारणले हाम्रोमा पनि संक्रमित बढिरहेका छन्। तैपनि एकदमै अनियन्त्रित हुने, व्यवस्थापन गर्नै नसक्ने परिस्थिति भइसकेको छैन।

परिस्थिति नियन्त्रणबाहिर नै देखिन्छ, होइन र?
नियन्त्रणबाहिर कुनै पनि हालमा होइन। २ सय केस आउँदैमा कहाँ नियन्त्रण बाहिर भन्न मिल्छ? अहिले पनि हामी एक लाख संक्रमितलाई व्यवस्थापन गर्न सक्ने अवस्थामा छौं। एक लाख संक्रमण हुनु भनेको नेपालका लागि विशाल कुरा हो।

त्यसकारण यतिमै ‘आउट अफ कन्ट्रोल’ जाने भन्ने हुँदैन। त्यसमा पनि बुझ्नु पर्ने कुरा के छ भने एक सय जना मान्छेलाई संक्रमण भयो भने तीन जना मान्छेलाई मात्रै स्वास्थ्य सेवा चाहिने हो। भोलि संक्रमण बढ्यो भने अहिले भएका सबै संक्रमितलाई अस्पताल बाहिर राख्छौं।

उनीहरुलाई सेवा दिन पर्ने अवस्था छैन। स्वास्थ्य अवस्था सामान्य छ। जसको अवस्था गम्भीर छ, जसलाई स्वास्थ्यकर्मीको केयर चाहिन्छ, उनीहरुलाई मात्रै अस्पतालमा राखिन्छ। तीन प्रतिशत मान्छेको लागि सहयोग चाहिने हो, हामी त्यसका लागि तयारी अवस्थामा छौं। संक्रमण देखिएका सबै मान्छेलाई अस्पताल ल्याउनु पर्दैन। जसलाई आवश्यक हुन्छ उसलाई मात्रै ल्याउने गरी हाम्रो तयारी पनि छ। त्यसैले अहिले आत्तिनु पर्दैन।

एउटै मात्र कुरा के हो भने संक्रमणबाट आफू बच्नु पर्‍यो। सरकारले मलाई बचाएन भन्दै हिँड्नु भएन। सरकारले भाइरसलाई रोक्ने होइन। व्यक्तिले आफ्नो व्यवहारलाई परिवर्तन गर्नु पर्‍यो। आफूमा संक्रमण नहोस् भनेर सचेत हुनु पर्‍यो। त्यसका लागि सरकारले गर्नु पर्ने कामहरु गरिरहेको छ।

राजधानीमा अब अलि जोखिम बढेको हो?
जहिले पनि र जहाँसुकैको पनि राजधानी जोखिममा नै हुन्छ। किनभने यहाँ धेरै मान्छेको चहलपहल हुन्छ। हामीले तत्काल त्यसरी नजाऔं, भनिसकेपछि जोखिमलाई वर्गीकरण गरेनौं तर जोखिममा चाहिँ हो।

परीक्षण बढेलगत्तै संक्रमितको संख्या पनि बढेको भनिएको छ। अहिले पनि आवश्यक परीक्षण भइरहेको छैन भन्ने सुनिन्छ। परीक्षण बढाउने तयारी के छ?
परीक्षण परीक्षण भन्नुहुन्छ, परीक्षण किन बढाउनु पर्‍यो? जसले यो भनिरहेको छ, उसले कोरोनाको बारेमा राम्रोसँग बुझेकै छैन। यदि कोरोना संक्रमित धेरै छन् भने बिरामी परेर अस्पताल आउनु पर्दैन? त्यस्तो गाह्रो भएको छ भने कोही मान्छे मर्नु परेन? मरेको मान्छेमा कोरोना पोजेटिभ देखिनु परेन? अनि, त्यत्तिकै हल्ला फैल्याइदिने? त्यसरी स्थिति भयावह भयो भन्ने मान्छेहरुले हामीले भनिदिनु पर्‍यो कि त्यसो भए बिरामी कहाँ गए?

कोरोना संक्रमण भएपनि त्यसको असर देखिन समय लाग्ने हो कि?
तुरुन्तै देखिन्छ। जसले यो भनिरहेका छन्, आतंक मच्चाउन भनिरहेका छन्। अर्को कुरा कोरोनाको संकेत नै छैन, भित्रभित्रै सरिरहेको छ भन्ने कुरा पनि हावा गफ हो। अहिले हामीले जति मान्छे संक्रमित भेटेका छौं, यो सबै सरकारले भेला पारेको हो। उनीहरु आफैं आएर चेकजाँच गराएका होइनन्। हामीले आफैं खोजेका हौं।

जति संक्रमित भेटिएका छन्, उनीहरुमा केही न केही लक्षण देखिएको छ। एकदुई दिन एकदम जिउमा सिथिलता आउने, ज्वरो आउने, खोकी लाग्ने र हराउने भएको छ। लक्षण नै नभएको होइन। तर हाम्रा अहिलेसम्मका संक्रमितलाई सिकिस्त बनाएको छैन। उनीहरु कोही पनि अस्पतालमा ल्याएर उपचार गर्नुपर्ने स्थितिका होइनन्। तर ती मान्छेलाई समुदायमा राखिराह्यो भने अरु मान्छेलाई पनि सार्छन् भनेर पो हामीले अस्पताल ल्याएको हो।

यदि समुदायस्तरमा संक्रमण पुगिसकेको कसैले भन्छ भने हामीलाई देखाइदिनु पर्‍यो कहाँ पुग्यो? हामी त खोजिरहेका छौं, भेटेका छैनौं। भेटेका जति हामीले अस्पतालमा ल्याइरहेका छौं। हामीले एक हजारभन्दा बढी परिचालन गरेका छौं देशव्यापी रुपमा। जहाँजहाँ सम्भावित छन् त्यहाँ परीक्षण गरिरहेका छौं। अब यो त हावाबाट, पानीबाट, खानाबाट सर्ने होइन, थुकको छिटाबाट सर्ने हो। त्यसकारण हामीले सबैको परीक्षण गर्नु पर्दैन। जो मान्छे संक्रमित भयो, उसको वरिपरि सम्पर्कमा भएका मान्छेहरुलाई परीक्षण गर्ने हो। बाटामा हिँडेको मान्छेलाई समात्दै परीक्षण गर्ने होइन। यसको वास्तविकता नबुझी अनुमानको भरमा भन्नु भएन।

हाम्रोमा सबै संक्रमित सामान्य देखिनुको कारण के हो?
त्यो अध्ययनको विषय हो। यत्तिकै भन्न मिल्दैन। कोरोनाका स्वरुपहरु विभिन्न खालका छन्। तीमध्ये अलिक कमजोर खालको रुघाखोकी अथवा खोकी मात्रै आउने खालको सामान्य पनि हुन सक्छ। हामीले यसको अध्ययन गरिरहेका छौं। अध्ययनपछि थाहा हुन्छ। अरु देशमा पनि यस्तै हो, ९७ प्रतिशत मान्छेलाई अस्पताल नै जानु पर्दैन। हाम्रोमा थोरै संक्रमित भएकोले पनि यस्तो भएको हुन सक्छ। वास्तविक चाहिँ अध्ययनपछि मात्र भन्न सकिन्छ।

राजधानीमा जुन चहलपहल छ यसले भोलि कस्तो असर गर्ला?
यदि यहाँ कोही संक्रमित छ, सार्न सक्ने खालको व्यक्ति छ र उसको चहलपहल बढी भयो भने अरुलाई पनि सर्ला। मभन्दा अरु मान्छे संक्रमित हुन सक्छन् भनेर शारीरिक दूरी राख्ने टाढा टाढै बस्ने, भीडभाडमा जाँदा मास्क लगाउने, घर आउनेबित्तिकै हात धुने गर्ने हो भने केही पनि हुँदैन। तर यही कुरा व्यवस्थापन गर्न नसक्दा मै हुँ भन्ने देश पनि ध्वस्त भए। हामी अलिक डराएको भनेको नयाँ रोग भएर हो। अब त नयाँ भएन नि यो ६ महिना बढीदेखि भइरहेको छ।

परीक्षणका लागि हामीसँग पर्याप्त किट छ?
हामीसँग पीसीआर र आरडीटी किट अहिलेलाई छ। जसलाई गर्नु पर्ने हो गरी पनि रहेका छौं। जो घरमा बसेको छ, विदेश पनि गएको छैन र विदेश गएका मान्छेको सम्पर्कमा छैन भने उसको किन परीक्षण गर्न पर्‍यो? कोरोना संक्रमित भएको मान्छेको सम्पर्कमा पनि छैन। खेतिपाति गरेर बसिरहेको छ, उसलाई त परीक्षण गर्नु पर्दैन नि त। यहाँ त सबैलाई परीक्षण गर्नुपर्छ भन्ने खालको जनमत तयार गरिदिए। यो सरासर गलत हो। त्यसरी परीक्षण कहीँ पनि गर्दैनन्।

अमेरिकाले परीक्षण नै गर्न छाडिदिसक्यो। बिरामी भए अस्पताल आउँछन् उपचार गर्छन्, परीक्षण गर्न मन लागे पैसा तिरेर परीक्षण गर्छन्। हामीले त यहाँ निशुल्क सबैको परीक्षण गरिरहेका छौं नि। जापानमा अस्पतालमा आएर भर्ना भइसकेपछि मात्रै परीक्षण हुन्छ। सामान्य रुघाखोकी लागेका, ज्वरो आएका मान्छेहरुको परीक्षण नै हुँदैन। किन भने यो महँगो पनि छ। एउटा पीसीआर परीक्षणका लागि १५ देखि २० हजार रुपैयाँ पर्छ। हामी सित्तैँमा आउने जसरी सबैको गर्नुपर्छ भनिरहेका छौं। हामी जस्तो गरिब मुलुकको नागरिकहरुले सोच्नुपर्‍यो।

सरकारले जथाभावी परीक्षण गर्न थाल्यो भन्नुपर्नेमा परीक्षण नै भएन भन्ने? जुन मान्छेको गर्नु पर्ने हो त्यो भन्दा बढीको परीक्षण गरेका छौं हामीले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .