ad ad

कर्णाली


कर्णालीमा ठूला दलले महिलालाई पत्याएनन्, पुरुषकै हालीमुहाली

कर्णालीमा ठूला दलले महिलालाई पत्याएनन्, पुरुषकै हालीमुहाली

दिनेश बुढा
कात्तिक २०, २०७९ आइतबार १९:४८, सुर्खेत

आगामी मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिँदै आएको छ। उम्मेदवारहरु गाउँ–गाउँ पसेर भोट मागि रहेका छन्।

जहाँ भोट माग्ने उम्मेदवारहरु अधिकांश पुरुष छन्। प्रतिनिधि सभातर्फ १२ सिट र प्रदेश सभातर्फ २४ सिट रहेको कर्णाली प्रदेशमा महिलाहरुको उपस्थिति न्यून देखिएको हो। 

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका १२ सिटका लागि विभिन्न दल तथा स्वतन्त्रबाट ७४ उम्मेदवारमा पाँच जना मात्रै महिला छन् भने प्रदेश सभाका २४ सिटका लागि ११६ उम्मेदवार मध्ये तीन जना महिला मात्रै उम्मेदवार बनेका छन्। 

नेपालको संविधान २०७२ को धारा १८ मा पिछडिएका महिलाको उत्थानका लागि समानताको हक सुनिश्चित गरिएको छ। संविधान कै धारा ३८ (४) र धारा ४२ ले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराइनु पर्ने उल्लेख गरेको छ। तर, कर्णालीका मुख्य राजनीतिक दलहरुले नै संविधानको पालना गरेका छैनन्।

कर्णाली प्रदेशमा मुख्य राजनीतिक दलका रूपमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेका छन्। 

कर्णालीमा पाँचदलीय गठबन्धनले प्रतिनिधि सभामा एक जना महिला मात्रै उम्मेदवार बनाएको छ भने प्रदेश सभामा शून्य नै राखेको छ।

यस्तै, नेकपा एमालेले कर्णालीमा धेरैजसो महिलाहरुलाई समानुपातिकको लिस्टमा राख्दै प्रदेश तथा प्रतिनिधि सभामा पनि महिला उम्मेदवारलाई पाखा लगाएको छ। १० जिल्ला रहेको कर्णाली प्रदेशमा यस पटक प्रतिनिधिसभाका लागि पाँच जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादीले जुम्लाबाट प्रतिनिधि सभामा गोमा गौतम (कुँवर)लाई उम्मेदवार बनाएको छ।गौतम पूर्व पशुपंक्षी विकास राज्यमन्त्री समेत हुन्। उनले जुम्लामा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानबहादुर शाहीसँग प्रतिस्पर्धा गर्दै छिन्। 

प्रदेश राजधानीसमेत रहेको सुर्खेतको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीले तुल्सी खड्कालाई उम्मेदवार बनाएको छ। खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका हृदयराम थानी र एमालेका अमृतकुमार बिसीसँग प्रतिस्पर्धा गर्दै छिन्। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी फुटपछि बनेको राप्रपा नेपालको तर्फबाट सोही क्षेत्रका लागि वीरेन्द्राकुमारी चन्द उम्मेदवार बेनकी छन्।

यसै क्षेत्रबाट पहिलो पटक चुनावी प्रतिस्पर्धामा नेश्नलिष्ट पिपल्स पार्टीकी कुमारी राई उम्मेदवार बनेकी छन् भने दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभाका लागि यसअघि राप्रपाबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी राप्रपा महामन्त्री दैलेखकी कुन्तीकुमारी शाही उम्मेदवार बनेकी छन्।

शाहीले गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका अमरबहादुर थापा र एमालेका रविन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्ने छिन्। 

यस्तै, २४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कर्णालीमा १५ राजनीतिक दल र एक स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा तीन जना महिला मात्रै चुनावी मैदानमा देखा परेका छन्। उनीहरु नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन्।

मजदुर किसान पार्टीबाट दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२) मा लक्ष्मीकुमारी सिंह, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (२) मा मनकली रामजाली र सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा विजुकला राना मगर उम्मेदवार बनेकी छन्।

यसअघि ०७४ को निर्वाचनमा समानुपातिकबाट मात्रै महिला प्रतिनिधित्व भएकोमा यस पटकको निर्वाचनमा पनि त्यस्तै देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .