कर्णालीबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ विभिन्न दलबाट ९ जना सांसद सिफारिस भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको हो।
निर्वाचन आयोगमा सिफारिसमा परेका ९ मध्ये ७ जना महिला छन्।
जसमा सिफारिस हुनेहरुमा नेकपा एमालेबाट दैलेखकी सूर्यकुमारी श्रेष्ठ आदीवासी जनजाती र दलित कोटाबाट चन्द्रबहादुर विश्वकर्मा (रुकुमपश्चिम ) रहेका छन्।
कर्णालीमा पहिलो दल बनेको एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुनै पनि सिटमा जित हासिल गर्न सकेको छैन।
नेपाली कांग्रेसबाट जुम्लाकी कान्तिका सेजुवाल, जाजरकोटकी मैना रावल कार्की र दैलेखकी सीताकुमारी राना चयन भएकी छन्। सेजुवाल र मैना खस आर्य पिछडिएको क्षेत्रबाट सांसद चयन भएकी हुन् भने राना महिला आदिवासी कोटाबाट सिफारिसमा परेकी हुन्। सेजुवाल निर्वतमान चन्दननाथ नगरपालिकाको नगर प्रमुखसमेत हुन्।
माओवादीबाट जुम्लाकी छिरिङ ल्यामु लामा तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुम्लाकी बिनिता कठायत प्रतिनिधि सभामा समानुपातिक सांसद चयन भएका छन्। तामाङ आदिवासी जनजाती र कठायत पिछडिएको क्षेत्र महिलाबाट सांसदमा सिफारिस भएका हुन्।
यस्तै, राप्रपाबाट सल्यानकी अनिषा नेपाली सिफारिसमा परेकी छन्। नेपाली दलित कोटाबाट सिफारिसमा परेकी हुन्।
कर्णालीमा १२ वटा प्रतिनिधि सभाका प्रत्यक्ष सिटमा कांग्रेसले ४ सिटमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले ४, नेकपा एकीकृत समाजवादीले ३ र राप्रपाले १ सिट जितेको छ।
Shares
प्रतिक्रिया