नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै नयाँ सरकार गठनको विषयमा छलफल हुने बताएका छन्। शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्
‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ,’ उनले भने, ‘त्यसपछि उहाँकै नेतृत्वमा कांग्रेससहित सरकारमा सहभागी हुन्छ।’
साथै, उनले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई प्राथमिकतामा राखेर आउने दाबी गरेका छन्। उपसभापति खड्काले आगामी आर्थिक वर्षको बजेट कर्णाली र सुदूरपश्चिमलाई केन्द्रमा राखेर ल्याइने दाबी गरेका हुन्।
उनले भने, ‘ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा संघीय बजेट न्यून आउने गरेको यसअघिको परम्परालाई तोड्दै नयाँ बजेट ल्याछौँ।’
चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुने उनको भनाई छ।
‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरु कर्णालीका जिल्लाहरुमा भएका चुनावी अभियानका क्रममा मैले नै कर्णालीलाई बजेटमा प्राथमिकता दिने प्रस्ताव राखेको थिएँ, त्यसमा अहिलेका प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो,’ खड्काले भने, ‘चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुन्छ।’
संघीय सांसदसमेत रहेका खड्काले भेरी किनारमा नयाँ शहर निर्माणको काम सुरु गरिएको बताउँदै छिन्चुदेखि उत्तर जोड्ने सडकलाई फोरलेनको बनाउनका लागि ठेक्का आव्हान गरिएको बताए।
उनले मदन भण्डारी राजमार्ग कालोपत्रेको काम भइरहेको, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको बताउँदै कांग्रेस नेतृत्वमा भएका र हुँदै गरेका कामहरु आम जनतामाझ पु¥याउनुपर्ने बताए।
‘विकास निर्माणका कामहरु गरेर मात्रै हुँदो रहेनछ, ती कामहरुका बारेमा जनतालाई जानकारी गराउन जरुरी छ,’ उनले भने, ‘टोल तहसम्म हुने छलफलमा कांग्रेस नेतृत्वमा भएका कामहरुलाई पु¥याउन निर्देशन दिन्छु ।’
प्रतिक्रिया