कर्णाली


अझै भेटिएनन् मुगु हिमपहिरोमा बेपत्ताहरू

अझै भेटिएनन् मुगु हिमपहिरोमा बेपत्ताहरू

फाइल तस्बिर


दिनेश बुढा
बैशाख २७, २०८० बुधबार ८:१९, सुर्खेत

मुगुमा गएको हिमपहिरोमा परी बेपत्ता जुम्लाका ३ जना अझै फेला परेका छैनन्। हिजो त्यसै फर्किएको उद्धार टोली उनीहरुको खाेजीका लागि आज पुनः घटनास्थल जाने भएको छ। 

मुगुको मुगुम कर्मारोङ गाउँपालिका–२ को च्यार्खु लेकमा यही वैशाख २२ गते दिउँसो गएको हिमपहिरोमा परी जुम्लास्थित पातारासी गाउँपालिका–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की, सोही ठाउँका ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता छन्। 

उनीहरुको खोजीका लागि २१ सुरक्षाकर्मी र २ जना स्थानीय गरी २३ जनाको टोली मंगलबार दिउँसो घटनास्थल पुगेको थियो। तर उनीहरु फेला पार्न नसकेपछि उद्धार टोली बास बस्न मंगलबार राति छापाखोला फर्किएको हो। 

जिल्ला प्रहरी कर्यालय मुगुका अनुसार छापाखोलाबाट घटनास्थल च्यार्खु लेक पुग्न झन्डै १२ घण्टा लाग्छ। हिमपहिराेमा बेपत्ताहरुकाे खाेजीका लागि उद्धार टोली आज पुनः घटनास्थल जाँदै छ। 

उद्धार टोली

यार्सा संकलन गर्न भनी जुम्लाको पातारासीबाट १४ र मुगु छायानाथ रारा नगरपालिकाबाट १ गरी १५ जनाको टोली मुगुको च्यार्खु पाटन पुगेका थिए। तीमध्ये ३ जना हिमपहिरोमा परी बेपत्ता भएका हुन्। बाँकी १२ जना भने सकुशल फर्किएका छन्। तीमध्ये २ जना सुरक्षाकर्मीसँगै बेपत्ताहरुको खोजीमा खटिएका छन्। 

घटना भएको ठाउँ पुग्न मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिन हिँड्नुपर्ने गाउँपालिकाका अध्यक्ष छिरिङ ल्याप्रे लामाले जानकारी दिए। उनका अनुसार घटनास्थल साबिकको मुगु गाउँ विकास समितिमा पर्छ। 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपीण सुदर्शन पन्थीले उनीहरुको खोजीका लागि सुरक्षाकर्मीहरु खाना खाएर आज (बुधबार) पुनः घटनास्थलतर्फ लाग्ने जानकारी दिए। 

उनले भने, ‘घटनास्थल च्यार्खु लेक पुगेका सुरक्षाकर्मीले त्यहाँ बेपत्ताहरुको पत्ता लाग्ने सम्भावना निकै कम रहेको बताएका छन्। त्यहाँ हिउँ १० फिटभन्दा बढी जमेको छ। दुईवटा पहाडको बीचको खोल्सोमा बेपत्ता भएको अनुमान गरिएको छ। भेटिने कुनै सम्भावना छैन। तर, आज पनि उद्धार टोली जान्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .