कर्णाली


प्रहरीले अझै पत्ता लगाउन सकेन यी ४ आमा–छोराछोरीका हत्यारा

प्रहरीले अझै पत्ता लगाउन सकेन यी ४ आमा–छोराछोरीका हत्यारा

दिनेश बुढा
कात्तिक १३, २०८० सोमबार १४:०, सुर्खेत

मुगु जिल्लामा एकै परिवारका ४ जनाको बीभत्स हत्या भएको ४ दिन बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न पत्ता लगाउन सकेको छैन।  

मुगुको छायानाथरारा नगरपालिका–६ मुन्दु गाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सराको एकसाथ हत्या भएको हो। 

प्रहरीका अनुसार शव शुक्रबार भेटिए पनि उनीहरू बुधबार नै मारिएका थिए। 

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थल पुगी सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ। 

साथै थप अनुसन्धानका लागि शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोली र जुम्लाबाट प्रहरीको विशेष अनुसन्धान टोली पनि घटनास्थल पुगेका छन्। 

प्रहरीले घटना भएको पूरै गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन। 

आइतबार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालसमेत घटनास्थल पुगेका छन्।

यसअघि पटकपटक मुन्दु गाउँमा आउ/जाउ गरेका केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए।

तर अनुसन्धानमा प्रयोग गरिएका कुकुरले समेत अहिलेसम्म घटनासँग सम्बन्धित कुनै सुराक फेला पार्न नसकिएको उनले बताए।

घटनाको प्रकृति हेरेर श्रीदेवीका गहना र मोबाइल फोन नभेटिनुले लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। 

जिल्ला प्रहरीका कार्यालय (मुगु) का प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले पनि हालसम्म घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला नपरेको जानकारी दिए।

उनले नेपालखबरसँग भने, ‘हाम्रो टोली अनुसन्धानमै छ। हालसम्म कुनै प्रमाण फेला गरेको छैन। अनुसन्धान जारी रहेकाले प्रमाण फेला पर्नेबित्तिकै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ।’

यही कात्तिक ८ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि छिमेकीले १० गते बिहान ढोका खोलेर हेर्दा चारै जना बीभत्स हत्या भएको अवस्थामा भेटेका थिए। 

वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर आइपुगेपछि सोही दिन चारै जनाको शव जिल्ला अस्पताल (मुगु) मा ल्याइएका छन्। 

घटनास्थल मुगु सदरमुकाम गमगढीदेखि पूर्वतर्फ ४ घण्टा लाग्ने दूरीमा छ।

दीपकले हत्यारा पत्ता नलागेसम्म आफ्ना श्रीमती र छोराछोरीका शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टम हुन सकेको छैन। तर, प्रहरी नायब उपरीक्षक थापाले शवको पोस्टमार्टम आजै हुने दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .