कर्णाली


भूकम्प पीडितलाई राहत र अस्थायी आवासका विषयमा उपप्रधानमन्त्री खड्काको छलफल

भूकम्प पीडितलाई राहत र अस्थायी आवासका विषयमा उपप्रधानमन्त्री खड्काको छलफल

नेपालखबर
कात्तिक २६, २०८० आइतबार १८:५५, काठमाडौँ

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपीडितलाई राहत तथा अस्थायी आवास निर्माणका विषयमा कर्णाली प्रदेश सरकार र सुरक्षा निकायका प्रदेश प्रमुखसँग छलफल गरेका छन्। 

जाजरकोट केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पपछिको उद्दार, राहत तथा अस्थायी आवास निर्माणका विषयमा उनले छलफल गरेका हुन्।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भूकम्पपछिको उद्दार र राहतमा प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलहरुले पु¥याएको योगदानका लागि संघीय सरकारकातर्फबाट धन्यवाद ज्ञापन गरे।

उनले भूकम्प पीडितहरुलाई सहयोग गर्ने छिमेकी मित्रराष्ट्र भारत, चीनलगायतका देशका साथै अन्तर्राष्ट्रिय दातृ निकायहरु, गैरआवासीय नेपाली, स्वदेश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्णलाई तीनै तहका सरकार र भूकम्प पीडित जनताकातर्फबाट धन्यवाद ज्ञापन गर्दै भूकम्पबाट घाइते हुनु भएकाहरुको उद्दार र राहतको एक चरणको काम सकिएको बताउँदै अस्थायी आवास निर्माणमा सबैको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री खड्काले भूकम्पमा खटिएका सुरक्षा निकायका अधिकृत तथा जवानहरुलाई खटिएको अवधिको गणना गरेर खाजा खर्च उपलब्ध गराउने निर्णय संघीय मन्त्रिपरिषद् बैठकले गरिसकेको जानकारी गराए। 

उनले भूकम्प पीडितहरुका लागि अस्थायी आवास र त्यससँग सम्बन्धित अन्य सहयोगका लागि आवश्यक निर्णष् सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने जानकारी दिए। 

‘सम्माननीय प्रधानमन्त्रीज्यूले सोमबारका लागि मन्त्रिपरिषद् बैठक आव्हान गर्नु भएको छ, त्यसमा सहभागी हुन म काठमाडौं जाँदैछु,’ बैठकमा उपप्रधानमन्त्री खड्काले भने, ‘प्रदेश सरकार, सभामुख र सुरक्षा अंगका प्रदेश प्रमुखहरूबाट आएका सुझावलाईसमेत ध्यानमा राखेर थप निर्णयहरू गर्दैछौं।’

छलफलमा सहभागीहरूले भूकम्पपछिको उद्दार र राहतमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले पु¥याएको योगदान र भूमिकाको प्रशंसा गर्दै पीडितहरुलाई तत्कालका लागि अस्थायी आवास निर्माणमा पनि यस्तै सक्रियताको अपेक्षा राखे।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उपप्रधानमन्त्रीको नेतृत्वमा एकै दिनमा घाइतेहरुको उद्दार हुनुका साथै एक साताको अवधिमा पीडितहरुसम्म राहत सामाग्री पु¥याउन सकिएको बताउँदै अस्थायी आवास निर्माणमा पनि सक्रियताको खाँचो औंल्याए। 

‘संघीय सरकारकातर्फबाट भूकम्पका बेला कर्णालीमा रहेर उपप्रधानमन्त्रीज्यूले खेल्नु भएको भूमिका प्रशंसनीय छ,’ उनले भने, ‘आगामी दिनमा पनि यस्तै खाले भूमिकाको प्रदेश सरकार अपेक्षा गर्दछ।’

पूर्व मुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भूकम्प लगत्तै भएको उद्दार र राहतका कामले कर्णाली विपत्तमा पनि तत्काल काम गर्न सक्षम छ भन्ने देखाएको पनि बताए। 

उनले कर्णालीबाट राज्यको महत्वपूर्ण स्थानमा रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको सक्रियता सबैका लागि प्रेरणा बनेकोबतँए।

‘कर्णालीको अभिभावकलाईनै हामीले विपत्तिमा पायौं, यसले गर्दा भूकम्पबाट घाइते भएकाहरुको तत्कालै उद्दार गर्न सफल भयौं, राहतको काम पनि अपेक्षा भन्दा राम्रो भयो,’ उनले भने, ‘यो हाम्रा लागि ठूलो प्रेरणा पनि हो।’

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको नेतृत्वले प्रदेश सरकारलाई काम गर्न सहज भएको पनि बताए। 

‘प्रधानमन्त्री पुष्पकमल दाहालज्यू भूकम्प लगत्तै प्रभावित जिल्लामा पुग्नुभयो, उपप्रधानमन्त्रीज्यूले उद्दार र राहतको समग्र कमाण्ड सम्हाल्नु भयो,’ उनले भने, ‘यसले गर्दा प्रदेश सरकारलाई सहज हुनुका साथै काम गर्न हौसला र जोस मिलेको छ।’

उनले पीडितहरूको अस्थायी आवास बनाउने नेतृत्व प्रदेश सरकारलाई दिन पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमार्फत संघीय सरकारलाई अनुरोध गरे।

आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले १० दिनसम्म कर्णालीमा रहेर पु¥याएको योगदान भूकम्प प्रभावित क्षेत्रका जनताका लागि महत्वपूर्ण रहेको बताए। 

उनले तत्काल घाइतेहरुको उद्दार र राहतका कामले जनताले संघीयताको प्रत्यक्ष अनुभूति गर्न पाएको बताए।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिमप्रसाद ढकालले भूकम्पका कारण प्रहरीका ४० वटा युनिटमा क्षति पुगेको जानकारी दिए। 

उनले क्षति पुगेका संरचनाहरुको निर्माणका साथै गाउँमा रहेका प्रहरी युनिटलाई सवारी साधनको व्यवस्था गरिदिन माग गरे।

उत्तर पश्चिम पृतना हेडक्वाटरका प्रमुख कृष्णदेव भट्टले भूकम्प पीडितहरुको उद्दार र राहत प्रभावकारी भएको बताउँदै अव अस्थायी आवास निवासका लागि समुदायलाई सक्रिय बनाइनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .