ad ad

कर्णाली


उपचार हुँदैछ भनेर आमालाई ढाँटिएको सुजनको शव जब घर पुग्यो...

उपचार हुँदैछ भनेर आमालाई ढाँटिएको सुजनको शव जब घर पुग्यो...

दिनेश बुढा
पुस १७, २०८० मंगलबार १५:३६, सुर्खेत

गत शुक्रबार (पुस–१३ गते) ललितपुरको बालकुमारीमा कोरियन भाषा परीक्षाको विषयमा भएको आन्दोलनका क्रममा दुई युवाको मृत्यु भयो।

अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरी दमनका कारण ज्यान गयो। वीरेन्द्रलाई गोली लागेको थियो भने सुजनको शरीरमा गहिरो चोट देखिएको थियो।

दैलेखको महावु गाउँपालिका–६ रानीवन घर भएका २१ वर्षीय सुजन छातीमा गम्भीर चोट लागेपछि सडकमै बेहोस भएर लडेका थिए। उनको शरीरमा निलडाम थिए। साथीहरूले एम्बुलेन्स बोलाएर किस्ट मेडिकल कलेज पुर्‍याए। तर, चिकित्सकले तत्कालै मृत घोषणा गरिदिएका थिए।

सुजनको शव मंगलबार दिउँसो मात्रै दैलेख घरमा पुर्याइएको छ। पीडितपक्ष र सरकारबीच सहमति भएपछि सुजनको शव काठमाडौँबाट घर लगिएको हो। शव नेपाली सेनाको हेलिकप्टरमार्फत लगिएको थियो।

सेनाको हेलिकप्टर जब दैलेखी आकाशमा देखियो तब सुजनको शवको पर्खाईमा बसेका आफन्तहरु भक्कानिएर रुन थाले

उनको पुस १३ गते मृत्यु भएपनि आमा नन्दाकुमारी कटुवाल रावतलाई छोरा घाइते मात्रै भएको र काठमाडौँमै अस्पतालको आईसीयूमा उपचार भइरहेको भनिएको थियो। तर, मंगलबार एक्कासी छोरो सुजनको शव घर पुर्याउँदा आफूलाई सम्हाल्न सकिनन्।

छोराको शव बाकसमा देख्ने बित्तिकै भक्कानिदै सुजनलाई आँखा खोल्न आग्रह गरिन्। सुजनको घरमा पुगेका आफन्त तथा श्रद्धाञ्जली दिन उपस्थित भएकाहरु पनि सुजनको शव देखेपछि भाव बिह्वल बने।

श्रीमान् गुमाएको वर्ष दिनमै छोरा गुमाउँदा सम्हालिन नसकेकी नन्दालाई आफन्तहरुले सान्त्वना दिने प्रयास गरे। तर, नन्दा छोरालाई हेरेर एकोहोरो रोइरहिन्।

कोरियन भाषा परीक्षाका लागि आवेदन दिन काठमाडौं पुगेका सुजनको शव बाकसमा फर्किएपछि सिंङ्गो दैलेख जिल्ला नै शोकमा डुबेको छ।

सुजनको आज नै श्रीस्थान मन्दिर नजिक छामघाट खोलामा अन्त्येष्टि गरिएको छ।

महाबु गाउँपालिका स्थायी घर भएका राउतको परिवार दैलेख बजारमा व्यापार सञ्चालन गर्दै आएको थियो। एक वर्षअघि मात्रै बुवा गुमाएका सुजन घरको ऋण तिर्न कोरिया जाने योजनासहित केही समय अघिमात्रै कोरियन भाषाको तयारीका लागि दैलेखबाट काठमाडौँ पुगेका थिए।

उनका बुवा भक्तबहादुर रावतको क्यान्सरका कारण एक वर्षअघि मृत्यु भएको थियो। उद्योग वाणिज्य संघ दैलेखका पूर्व उपाध्यक्षसमेत रहेका भक्तबहादुर एक सफल व्यवसायीका रुपमा परिचित थिए। व्यवसाय धानिरहेका भक्त क्यान्सरले थलिएपछि उनको व्यावसायमा ब्रेक लाग्यो। उनको उपचारमा भएभरको सम्पत्ति सकियो। र, २०७९ साल मंसिरमा १२ गते भक्तबहादुरको उपचारकै क्रममा मृत्यु भयो।

उपचारको क्रममा भएभरको सम्पत्ति सकिएपछि घरको सबै जिम्मेवारी छोरा सुजनको काँधमा आयो। त्यो जिम्मेवारीलाई बहन गर्न सुजनले कोरियन भाषा सिकेर कोरिया जाने निधो बनाए। गएको मंसिरमा बुबाको बरखी सकेर भाषा अध्ययनका लागि काठमाडौँ हानिएका थिए। सुजनको निधनसँगै उनकी विधवा आमा नन्दा रावतमाथि वर्षदिनमै अर्को ठूलो बज्रपात परेको छ।

बुवा बितेपछि आमा, भाइबहिनीको पालन पोषण गर्ने जिम्मेवारी बोकेका सुजनको मृत्युले परिवारमा अर्को बज्रपात थपेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .