कर्णाली


सल्यान: सचिवमा महिला अनिवार्य भनेपछि एमाले अधिवेशनमा विवाद (भिडिओ)

सल्यान: सचिवमा महिला अनिवार्य भनेपछि एमाले अधिवेशनमा विवाद (भिडिओ)

एमालेको सल्यान जिल्ला अधिवेशन।


दिनेश बुढा
चैत २१, २०८० बुधबार ७:४१, सल्यान

नेकपा एमालेको सल्यान जिल्ला अधिवेशनमा विवाद भएको छ। एमाले सल्यानको दसौँ जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलले सचिव पदमा महिला कोटा निर्धारण गरेपछि झमेला भएको हो। 

यही चैत १८ गतेदेखि जारी अधिवेशनमा आज २१ गते भइसक्दा पनि विवाद समाधान हुन सकेको छैन।

जसका कारण एमाले सल्यानको नयाँ नेतृत्व चयन प्रक्रिया नै राेकिएको छ। 

अध्यक्ष मण्डलले विधानविपरीत कदम चालेको आरोप लगाउँदै अधिवेशन प्रतिनिधिहरूले विरोध गरिरहेका छन्।

उनीहरूले चर्को नाराबाजी गरेपछि स्थगित बन्दसत्र मंगलबार पुन: सुरु गरिए पनि सहमति नभएपछि स्थगन भएको थियो। अब आज (चैत २१ गते) बन्दसत्र पुन: थाल्ने तयारी छ। 

प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले निर्वाचनमा गए आफ्नो टिमले हार्ने देखेपछि बखेडा झिकेर बन्दसत्र लम्ब्याउन खोजेको आरोप प्रतिनिधिले लगाएका छन्। 

थुप्रै क्षमतावान् नेता हुँदाहुँदै पनि जिल्लाका माथिल्लो तहका नेताहरुको स्वार्थका कारण सचिव पदमा महिला अनिवार्य गराएर विधान कुल्चिन खोजेको दाबी प्रतिनिधिहरूको छ। 

प्रदेश अध्यक्ष शाहले सचिव पदमा हाल जिल्ला कमिटी उपसचिव पुष्पा बोहरालाई बनाउने रणनीति अपनाएको आरोप एमाले कार्यकर्ताले लगाएका छन्। 

संस्थापनइतर समूहबाट अध्यक्षमा कुलबहादुर गिरी, उपाध्यक्षमा दानबहादुर केसी, सचिवमा दीपेन्द्र प्रकाश डिसीलगायतले उम्मेदवारी दिने तयारी गरेपछि उनीहरूलाई रोक्न सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जिल्ला इन्चार्ज श्रेष्ठ र प्रदेश अध्यक्ष शाहले जोडबलले गरिरहेको आरोप प्रतिनिधिले लगाएका छन्। 

सल्यानमा संस्थापनपक्ष समूहको नेतृत्व गुलाबजंग शाह, गोविन्द पुनलगायत नेताहरूले गरिरहेका छन्।

त्यस्तै संस्थापनइतर समूहको नेतृत्व कुलबहादुर गिरी, दानबहादुर केसीलगायतका नेताहरूले गरेका छन्।

बन्दसत्र लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किन थालेका छन्। अधिवेशनमा जिल्लाभरबाट ३५१ प्रतिनिधि आएका थिए।

हेर्नुहोस् एमाले सल्यान अधिवेशनको बन्दसत्रमा भएको नाराबाजीको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .