हुम्लाको अदानचुली गाउँपालिकाले मापदण्डविपरीत कर्मचारी भर्ना लगेको भन्दै विरोध भएको छ। पालिकाले कर्मचारी भर्नाका लागि विज्ञापन गरेको ८ महिनापछि उम्मेदवारहरुको छोटो सूची प्रकाशन गरेको छ। जो रोजगार संयोजक पद प्रर्ति तथा सेवा सुविधा सम्बन्धी मापदण्ड–२०७६ विपरीत हो।
अदानचुली गाउँपालिकाले करारमा पदपूर्ति गर्ने भन्दै २०८१/०१/१७ गते रोजगार संयोजक र रोजगार सहायक पदका लागि विज्ञापन खोलेको थियो। जसमा रोजगार संयोजक (पाँचौ) पदका लागि १ जना र रोजगार सहायक (पाँचौ) पदका लागि १ जना माग गरिएको विज्ञापनमा उल्लेख छ।
उक्त विज्ञापनमा २०८१/०१/३१ गतेसम्म र सेवा सुविधा तथा अन्य रोजगार संयोजक पतपूर्ति सम्बन्धी मापदण्ड २०७६ तथा स्थानीय तहमा प्राविधिक सहायक तथा रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड, २०७८ बमोजिम हुने उल्लेख छ। तर, पालिकाले यसै मापदण्डमा भएको नियमविपरीत विज्ञापन भएको ८ महिनापछि कर्मचारी भर्नाका लागि छोटो सूची प्रकाशन गरेको भन्दै केही उम्मेदवारहरु विरोधमा उत्रिएका छन्।
उम्मेदवार धर्मराज बोगटीले उम्मेदवारहरुको छोटो सूची प्रकाशन मापदण्डविपरीत भएको भन्दै आफूसहित अन्य उम्मेदवारहरुले यो प्रक्रिया रद्द गरी पुनः विज्ञापन गर्न माग गरेको बताए।
उनले भने, ‘आवेदन लगेको १० दिनभित्र प्रारम्भिक सूची प्रकाशन हुनुपर्ने हो। विज्ञापन खारेज गर्यो होला भनेर हामीले कुनै खोजी पनि गरेनौं। पालिकाले आफ्नो मान्छेलाई भर्ना गर्नका लागि यो समय कुराएको हुनसक्छ। किन भने २०८१/०९/१२ गते करिब ८ महिनापछि आवेदकको सूची प्रकाशन गरेपछि त्यो मापदण्डविपरीत भएकाले हामी केही जना उम्मेदवार साथीहरुले विरोध गरेको हौँ। विज्ञापन दद्दको माग गर्दै पालिकाका प्रमुख प्रशासकीयलाई निवेदन पनि दिएका छौँ।’
साथै विज्ञापन रद्दको माग गरेका उम्मेदवारहरुले पालिकाले आफ्ना निकटका व्यक्तिलाई भर्ना गर्नका लागि मापदण्ड मिचेर छनौट प्रक्रिया अगाडि बढाएको बताए। उम्मेदवारहरु धर्मराज बोगटी, बिर्खराज छत्याल, सुशिल शाही लगायतले विज्ञापन रद्दको माग गर्दै पालिकालाई निवेदन दिएका छन्।

आवेदन दिएका सबै उम्मेदवार पालिकामा उपलब्ध नभएको मौका छोपेर पालिकाले ८ महिनापछि प्रारम्भिक सूची प्रकाशन गरेको उनीहरुको आरोप छ। साथै उनीहरुले अन्य करारमा कर्मचारी भर्ना गर्ने भन्दै पालिकाले सयौंको संख्यामा आवेदक मागेर राजश्व उठाउँने गरेको आरोप समेत लगाए।
गाउँपालिकाले गत बैशाख १७ गते भएको उक्त विज्ञापनको प्रारम्भिक योग्यताक्रम सूची प्रकाशन २०८१/०९/१२ गते गरेको छ। रोजगार संयोजक १ जना पदका लागि ७ जना र रोजगार सहायक १ जना पदका लागि ४ जनाको नाम छनौट गरिएको छ।
यस्तै, रोजगार संयोजकका लागि लिखित परीक्षा मिति पुस २१ गते र रोजगार संयोजक सहायक पदका लागि पुस २२ गते बिहान ८ बजे श्री सुर्योदय माध्यमिक विद्यालय श्रीनगर हुम्लामा तोकिएको छ।
रोजगार संयोजक पतपूर्ति तथा सेवा सुविधा सम्बन्धी मापदण्ड २०७६ को दफा ७ मा रोजगार संयोजकको रिक्त दरबन्दीमा पदपूर्तिका लागि १५ दिनको समय सीमा तोकी दरखास्त आह्वान गर्नुपर्ने उल्लेख छ।
दफा ८ मा समितिले आवेदन दर्ता गर्न तोकिएको म्याद समाप्त भएको मितिले १० दिन भित्रमा योग्य ठहरिएका आवेदकहरु मध्येबाट उपलब्ध भएमा १० जना र नभएमा उपलब्ध संख्याका उम्मेदवारको प्रारम्भिक योग्यताक्रमको सूचि प्रकाश गर्नु पर्नेछ भनेर उल्लेख गरिएको छ।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हंस महताराले रोजगार संयोजकको छनौट स्थानीय तहलाई अधिकार दिए अनुसार काम गरिरहेको बताए। उनले भने, ‘पदपूर्ति समितिका लागि जिल्ला प्रशासन कार्यालयबाट एक जना, रोजगार विज्ञ एक जना र सदस्य सचिवमा म आफै छु। पहिला (विज्ञापन भएको समयमा) नभएका कारण र अन्य प्राविधिक कारणले गर्दा कर्मचारी छनौटमा ढिलाई भएको हो। त्यो समयमा विज्ञापन रद्द गर्ने कुनै आधार पनि भएन्। अहिले मन्त्रालयले पनि ताकेता गरेपछि त्यो प्रक्रिया अगाडि बढेको हो।’
प्रशासकीय अधिकृत महताराले मापदण्डभित्रै रहेर काम भएको जिकिर गरे। उनले भने, ‘यो मापदण्डभित्रै भएको छ। कम्तिमा १४ दिनको सूचना गर्नुपर्छ। त्यो भन्दा कम भयो भने मान्ने हुँदैन्। तर, हाम्रो कार्यालयको प्राविधिक समस्याका कारण ढिलो हुनपुग्यो।’
उनले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर रोजगार संयोजक र सहायक संयोजको पतपूर्तिको काम गरिरहेको बताए। उनले भने, ‘गाउँपालिकाले गर्ने भए उतिबेलै छनौट गरिसक्ने थियो। पतपूर्ति समितिका लागि रोजगार विज्ञ हामीले बाहिरबाट ल्याउनका लागि अन्य पालिकाहरुसँग छलफल र समन्वय गर्नुपर्ने भएकाले रोकियो।’
सबै ठाउँमा समन्वय गरेर भोली बिहान परीक्षाका लागि सम्पूर्ण तयारी गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महताराले बताए।
Shares

प्रतिक्रिया