कर्णाली प्रदेशमा दुईदिने युवा महोत्सव हुने भएको छ। यही माघ ११ र १२ गते हुने महोत्सवमा करिब ५ हजार बढी युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ।
कर्णालीमा पहिलो पटक हुन लागेको युवा महोत्सव (यूथ फेस्टिभल)को आयोजना प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा गरिने छ। परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो।
महोत्सवका संयोजक हिमाल विष्टले महोत्सवको मुख्य उद्देश्य युवाहरूमा आशा जागृत गर्नु रहेको बताए। संयोजक विष्टकाअनुसार युवाका विचार, सम्भावना र युवालाई सकारात्मक सन्देश प्रवाह महोत्सवमा हुनेछन्।
यस्तै, महोत्सवमा कर्णाली प्रदेशदेखि देशलाई विशिष्ट योगदान गरेका युवा व्यक्तित्व, सामाजिक व्यक्तित्व लगायत स्थानीय कर्णालीका प्रतिभाशाली ५ हजार बढी युवाहरुको उपस्थिति रहने अनुमान गरिएको छ।
यस्तै, महोत्सवका प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले फेस्टिभलले कर्णालीका युवा सशक्तीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। उनले महोत्सवमा स्थानीय, कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, युवा नवप्रवतन र कला सीप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति लगायतका विषयमा केन्द्रित हुने बताए।
Shares

प्रतिक्रिया