कर्णाली


शैक्षिक सहकार्यका लागि पाँच विश्वविद्यालयबीच सम्झौता

शैक्षिक सहकार्यका लागि पाँच विश्वविद्यालयबीच सम्झौता

नेपालखबर
माघ २६, २०८१ शनिबार १०:३६, सुर्खेत

नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सुर्खेतमा सम्झौता भएको छ।

विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता भएको हो।

उक्त सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रममार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ।

सम्झौताअनुसार विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजना, शिक्षक, कर्मचारी तथा विद्यार्थी आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमको विकासमा सहकार्य गर्नेछन्। साथै संयुक्त रूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजना आयोजना गरिनेछ भने शैक्षिक स्रोत र प्रकाशन आदानप्रदान हुनेछन्। 

सम्झौतापत्रमा सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकाल गरी पाँचै विश्वविद्यालयका उपकुलपतिले हस्ताक्षर गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको उक्त सम्झौताको साक्षीमा पाँचै विश्वविद्यालयका रजिस्ट्रार उपस्थित थिए।

सुरुवाती सम्झौता अवधि पाँच वर्षको छ भने प्रत्येक पाँच वर्षमा स्वत नवीकरण हुने बताइएको छ।

कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा ६ महिनाअघि सूचना दिनुपर्नेछ।

सम्झौताले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई प्रवर्द्धनका साथै विद्यार्थी तथा शिक्षकका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad