दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका सुरेन्द्रबहादुर शाहीका तीन छोराछोरी बिचल्लीमा परेका छन्। एक वर्षअघि सुरेन्द्रकी श्रीमतीले दोस्रो विवाह गरेको र सुरेन्द्रको पनि मृत्यु भएपछि छोराछोरीको बिचल्ली भएको हो।
३३ महिना मलेसियामा रोजगारी गरेर घर फर्किएका २८ वर्षीय सुरेन्द्रको गत साउन ११ गते बिहान दैलेखको दुल्लु नगरपालिका–११, कयलकुनास्थित छामघाट खोला किनारमा शव फेला परेको थियो।
असार ३२ गते नेपाल फर्किएका सुरेन्द्र दैलेखमा रहेका आफन्तलाई भेट्न नपाउँदै बाटोमै शव भेटिनुले हत्या भएको हुनसक्ने आशंका छ।

सुरेन्द्रका तीन छोराछोरी ४ वर्षका आशिष शाही, ६ वर्षकी सुशीला शाही र ७ वर्षीया रविना शाही छन्। रविना कक्षा ३ मा पढ्छिन् भने आशिस र सुशीला भर्खरै बालविकासमा भर्ना भएका छन्।
सुरेन्द्रका दाइ नाता पर्ने दीपक शाहीले सुरेन्द्रको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले छोरा छोरीको पालन पोषण र संरक्षणका लागि सबैले सहयोग गरिदिन आग्रह गरे।
उनले भने, ‘घरको पारिवारिक अवस्था नाजूक छ। सानो एक तलाको कच्चि घरमा सुरेन्द्रका तीन छोराछोरी र बुवाआमा बस्दै आएका छन्। आर्थिक अवस्था कमजोर छ। टुहुरा बालबालिकाको लागि हामीले सहयोगको अपिल गरेका हौँ।’

उनले थपे, ‘उनको छोरा सानै भएको हुँदा छोराले काजक्रिया गर्न नसक्ने भएकाले उनको अङ्कलले काजक्रिया गरिरहनु भएको छ।’
दीपकले सहयोग गर्न चाहानेहरूका लागि ९८१२४२४५२४ नम्बरमा सम्पर्क गरेर आर्थिक सहयोग गर्न सकिने बताए।
यता, सुरेन्द्रको शव जिल्ला अस्पताल दैलेखमा पोष्टमार्टम गरेर पादुका खोलाका अन्त्येष्टि गरिसकिएको छ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान जारी राखेको जनाएको छ। आफन्तहरूले सुरेन्द्रको हत्या भएको आशंक गर्दै घटनामा संलग्नमा व्यक्तिलाई कारबाहीको दायरमा ल्याउन माग गरिरहेका छन्।
Shares

प्रतिक्रिया