कर्णाली


सुरेन्द्रका हत्या आरोपी गंगासहित बुवाआमालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सुरेन्द्रका हत्या आरोपी गंगासहित बुवाआमालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

दिनेश बुढा
भदौ १०, २०८२ मंगलबार २०:५५, सुर्खेत

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्यामा संलग्न आरोपी तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन दैलेख जिल्ला अदालतले आदेश दिएको छ। 

न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले मंगलबार यस्तो आदेश दिएको हो। 

जिल्ला अदालत दैलेखका श्रेस्तेदार उपसचिव वीरेन्द्रबहादुर मल्लले सुरेन्द्रको हत्या आरोपी उनकी प्रेमिका महाबु गाउँपालिका–५ काँशिकाँधकी २७ वर्षीया गंगा बन, उनका बुबा ६३ वर्षीय नैने बन र ५६ वर्षकी आमा भक्कु बनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ। यो थुनछेको आदेश हो। मुद्दा पुर्पक्षका लागि बाहिर राखेर गर्ने कि थुनामा राखेर पुर्पक्ष गर्ने भन्ने सन्दर्भमा अहिले तीनै जनालाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश भयो।’ 

श्रेस्तेदार मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय दैलेखले सुरेन्द्रको हत्या भएको निष्कर्ष सहतिको प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा आइतबार ‘कर्तव्य ज्यान’ सम्बन्धी मुद्दा दर्ता गरेको थियो। 

उक्त मुद्दाको विषयमा मंगलबार जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल तथा सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपानेको अभियोग दाबी र अधिवक्ता ललितबहादुर थापाको प्रतिरक्षा बहस भएको थियो।

बहसपछि दैलेख जिल्ला अदालतका न्यायाधीश पाण्डेको इजलासबाट तीनै जना आरोपितलाई थुनामा राखी मुद्दाको तहकीकात गर्न आदेश दिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad