आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्यक्षतर्फ सुर्खेत क्षेत्र नम्बर १ बाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई एकल रूपमा सिफारिस गरेको छ।
क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले खड्कालाई सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो। खड्का २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
कांग्रेस क्षेत्रीय सभापति झकबहादुर डाँगीले पार्टीका कार्यवाहक सभापति तथा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका खड्कालाई उनको नेतृत्व क्षमता र संगठनमा देखाएको भूमिकाका आधारमा एकल सिफारिस गरिएको जानकारी दिए।
यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट हृदयराम थानीसहित ६ जना नेताको नाम उम्मेदवारका लागि सिफारिस भएको छ। थानी २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
थानीसहित उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल र बसन्ती बस्नेतको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले जानकारी दिए।
सुर्खेत–२ बाट समानुपातिकतर्फ गंगा नेपाली, पार्वती गिरी, भग्य कामी, धना बिष्ट र भिम शाई नेपालीलाई सिफारिस भएको छ।
Shares

प्रतिक्रिया