कर्णाली


एमालेमा पहिलो पटक कर्णालीले पायो पदाधिकारी

एमालेमा पहिलो पटक कर्णालीले पायो पदाधिकारी

दिनेश बुढा
पुस ३, २०८२ बिहिबार १५:२९, सुर्खेत

नेकपा (एमाले) मा कर्णाली प्रदेशबाट पहिलो पटक पदाधिकारी चुनिएका छन्। ११औँ महाधिवेशनबाट सचिव पदमा सुर्खेतका यामलाल कँडेल निर्वाचित भएका हुन्। कँडेल पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहबाट ११८५ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएका हुन्।

एमालले हालसम्म कर्णाली प्रदेलाई पदाधिकारीमा उपेक्षा गर्दै आएको थियो। 

अन्य राजनीतिक दलहरूले कर्णालीका नेतालाई पदाधिकारीमा समावेश गरे पनि एमालेले पहिलो पटक पदाधिकारी बनाएको हो।

को हुन्, सचिवमा निर्वाचित कँडेल?
२५ कात्तिक २०१८ सालमा दैलेखको साविक सेरी गाविसमा बुबा मनिराम कँडेल र आमा भागिरथी कँडेलको कोखबाट जन्मिएका कँडेल राजनीतिमा आउनुपूर्व शिक्षण पेसामा संलग्न थिए।

२०३६ मा सुर्खेतको दशरथपुरमा किसान आन्दोलनको साक्षी थिए, कँडेल। चार जनाले ‘सहादत’ प्राप्त गरेको उक्त आन्दोलनमा सहभागी भएर कँडेलको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो।

उनी त्यतिबेला शिखर माध्यमिक विद्यालय दशरथपुरमा शिक्षण पेसामा संलग्न थिए। किसान आन्दोलनबाट सुरु भएको कँडेलको राजनीतिक यात्रा २०४० सालमा काठमाडौंको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवारसम्म पुग्यो। तर, उनी नेविसंघका उम्मेदवार सुर्खेतका हृदयराम थानीसँग पराजित भए।

२०४२/०४३ मा झण्डै नौ महिना कँडेलले बन्दी जीवनसमेत बिताएका थिए। २०४० देखि ०४६ सम्म पार्टीको काठमाडौं उपत्यकाको विद्यार्थी कमिटीमा रहेर कँडेल राजनीतिमा संलग्न भएका थिए।

२०४९ मा एमाले सुर्खेत जिल्लाको प्रथम अधिवेशनबाट सचिव बनेका कँडेल सोही समयबाट पार्टी राजनीतिमा सक्रिय भए। २०४९ को स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भए।

२०५१ मा मेयर पदबाट राजीनामा दिई मध्यावधि निर्वाचनमा होमिएका कँडेल कांग्रेसका हृदयराम थानीलाई पराजित गर्दै पहिलोपटक प्रतिनिधि सभा सदस्य बने।

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा थानीसँग हारेको बदला कँडेलले प्रतिनिधिसभा सदस्य चुनावमा लिएका थिए। २०५१ मा साविक एमालेको भेरी अञ्चल सचिव भएका कँडेल २०५४ मा एमाले विभाजनपछि वामदेव गौतम नेतृत्वको नेकपा मालेमा आबद्ध भएका थिए। मालेमा आबद्ध भएलगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने।

२०५६ को संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ मा मालेको तर्फबाट उम्मेदवार बनेका कँडेल कांग्रेसका हृदयराम थानीसँग पराजित भए। २०६४ मा एमालेको तर्फबाट सुर्खेत २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए। २०७० मा पुनः सोही क्षेत्रबाट कांग्रेसका हृदयराम थानीसँग कँडेल पराजित भए।

यस्तै, २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा सुर्खेत–२(२) बाट प्रत्यक्ष निर्वाचित भएका कँडेल एमाले प्रदेशसभा संसदीय दलको नेता एवम् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसमेत हुन्। 

एमालेको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै १०औँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका कँडेल एघारौँ महाधिवेशनमा सचिवमा निर्वाचित भएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad