कर्णाली


एमालेले दियो पुरानै अनुहारलाई टिकट, यी हुन् कर्णालीबाट उम्मेदवार

एमालेले दियो पुरानै अनुहारलाई टिकट, यी हुन् कर्णालीबाट उम्मेदवार

दिनेश बुढा
माघ ४, २०८२ आइतबार १७:४५, सुर्खेत

नेकपा एमालेले कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको एमालेको सचिवालय बैठकले पार्टीले उम्मेदवार टुंगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। 

कर्णाली प्रदेशका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका नेताहरूमा अधिकांश पुरानै र २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन हारेकालाई टिकट दिइएको छ। 

डोल्पा, मुगु, जुम्ला र सुर्खेत–२ बाहेक अन्य सबै निर्वाचन क्षेत्रमा पुरानै नेताहरूले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि टिकट पाएका छन्।

एमाले उपमहासचिव भट्टका अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ मा ध्रुवकुमार शाही, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा कुलमणि देवकोटा, दैलेख निर्वाचन क्षेत्र नम्बर–१ रविन्द्रराज शर्मा, दैलेख निर्वाचन क्षेत्र नम्बर–२ मा लक्ष्मीप्रसाद पोखरेल, कालिकोटमा  नगिन्द्र शाही जुम्लामा शान्तिलाल महतले टिकट पाएका छन्।

यस्तै, हुम्लामा दल फडेरा, मुगुमा पूर्णबहादुर रोकाया, डोल्पामा लंकबहादुर रोकाया, जाजरकोटमा डम्बरबहादुर सिंह, रूकुमपश्चिममा नन्दराम देवकोटा र सल्यानमा गुलावजंग शाहले प्रतिनिसभाको टिकट पाएका छन्। 

टिकट पाएका आधिकांश नेताहरू पुरानै हुन्। जसमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका शाही सोही क्षेत्रबाट विगतदेखि चुनाव लडदै आएका छन्। एमाले कर्णाली प्रदेश कमिटी सचिव समेत रहेका शाही २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कासँग पराजित भएका थिए। 

दैलेख–१ बाट उम्मेदवार बनेका शर्मा र दैलेख–२ बाट उम्मेदवार बनेका पोखरेल पनि २०७९ को निर्वाचनमा पराजित उम्मेदवारहरू हुन्। एमाले कर्णाली प्रदेश कमिटी उप–सचिवको जिम्मेवारीमा रहेका शर्मा तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टी हालको नेकपाका नेता अम्मरबहादुर थापासँग पारजित भएका थिए। आगामी निर्वाचनमा पनि यो क्षेत्रमा शर्मा र थापाबीच नै मुख्य प्रतिस्पर्धा हुनेभएको छ। 

यस्तै, दैलख–२ बाट उम्मेदवार बनेका पोखरेल हालै सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा पारजित नेता हुन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट कांग्रेसका दिक्पाल शाहीसँग पराजित भएका थिए। यस पटक यस क्षेत्रमा एमालेले उम्मेदवार सिफारिसका लागि आन्तरिक निर्वाचन गरेर नेताहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको थियो। उक्त निर्वाचनको नतिजा अनुसार १ नम्बर एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक ६७ मत प्राप्त गरेका थिए। टिकट पाएका पोखरेल दोस्रो नम्बर थिए।

यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट एमालेकै पूर्वनेता योगेन्द्रबहादुर शाही उम्मेदवार बनेका छन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रदेशमा चुनाव लडेका थिए। तर, एमालेका विनोदकुमार शाहसँग झिनो मतान्तरले पराजित हुन पुगेका थिए।

यस्तै, कालिकोटमा उम्मेदवार बनेका एमालेका केन्द्रीय सदस्य नगिन्द्र शाही पनि २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुरी शाहीसँग पराजित भएका थिए। 

हुम्लाबाट उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्य फडेरा र जाजरकोटबाट उम्मेदवार बनेका एमालेकै केन्द्रीय सदस्य डम्बरबहादुर, सल्यानबाट उम्मेदवार बनेका नकेपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष शाह २०७९ सालको निर्वाचनमा प्रदेशसमा निर्वाचन लडेका थिए। यी तीनै जना उम्मेदवारहरू पराजित हुन पुगेका थिए। 

यस्तै, रुकुमपश्चिमबाट उम्मेदवार बनेका देवकोटा एमाले जिल्ला कमिटी रुकुमपश्चिका अध्यक्ष हुन्। उनी अध्यक्ष बनेपछि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मासँग भारी मतका साथ पराजित भएका थिए। देवकोटा दुई कार्याकाल पार्टी अध्यक्ष भएपछि रुकुमपश्चिमा नेकपा एमालेको संगठन कमजोर हुँदै गएको पार्टीभित्रैका नेता–कार्यकर्ताहरूको दाबी छ। रुकुमपश्चि नेकपा एमालेको लागि चुनाव जित्ने लिस्टमा पर्दैन। 

यस्तै, एमालले चार वटा जिल्ला कमिटी अध्यक्षहरूलाई पनि विभिन्न क्षेत्रबाट उम्मेदवार बनाएको छ। यी चारै जना नेताहरू प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार हुन्। जसमा जुम्लाबाट शान्तिलाल महत, मुगुबाट पूर्णबहादुर रोकाया, डोल्पाबाट लंकबहादुर रोकाया र सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट कुलमणि देवकोटा उम्मेदवार छन्। 

डोल्पाबाट उम्मेदवार बनेका जिल्ला अध्यक्ष रोकाया ४० वर्षमुनीका युवा नेता हुन्। उनी सहित महत, पूर्णबहादुर र देवकोटा पहिलो पटक संसदीय चुनावमा भाग लिँदैछन्।

पार्टीले पुरानै नेताहरूलाई टिकट दिएर कर्णालीका चर्चित युवा नेताहरू जाजरकोटका निरज आचार्य, दैलेखका विष्णु रिजाल लगायतले टिकट नपाएपछि कतिपय नेता–कार्यकर्ता भने रुष्ट बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad