कर्णाली


कर्णालीमा कस्तो छ निर्वाचन आचारसंहिता उल्लंघनको अवस्था?

कर्णालीमा कस्तो छ निर्वाचन आचारसंहिता उल्लंघनको अवस्था?

दिनेश बुढा
माघ २८, २०८२ बुधबार १७:३९, सुर्खेत

निर्वाचन आयोगले कर्णाली प्रदेशमा आचारसंहिता उल्लंघन गर्नेमाथि निगरानी राखिएको जनाएको छ। प्रदेशका १० जिल्लाका सम्बन्धित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूले जिल्ला–जिल्लामा उल्लंघनमा निगरानी बढाएका हुन्। 

हालसम्म सुर्खेत र कालीकोटमा मात्रै निर्वाचन आचारसंहिता उल्लंघनका घटना अनुगमन अधिकृत समक्ष पुगेका छन्। अन्य जिल्लाहरूमा उल्लंघनका घटना नदेखिएको आयोगको भनाई छ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासन कार्यालयका कर्मचारी र सम्बन्धित जिल्लाको कोष नियन्त्रक प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। 

आयोगले निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबैलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिनुका साथै सरकारी स्रोतसाधनको दुरुपयोग, मतदातालाई प्रभावित पार्ने गतिविधि, सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार, आचारसंहिताविपरीत सभा–समारोह तथा खर्चको सीमा नाघ्ने कार्यप्रति विशेष निगरानी राखेको छ।

तर, कर्णालीका सबै जिल्लाहरूमा निर्वाचन आचारसंहितको मर्ममा रहेर घरदैलो अभियान सञ्चालन भइरहेको पाइएको छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले निर्वाचनको अवधिमा शान्ति सुरक्षा खलल पुर्‍याएको भन्दै केही समयअघि सुर्खेतबाट ‘द डेन्जरस स्कुल’ नामक समूहका २५ युवालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

‘जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–११ बाट धुलियाबिटनजिक तीनकुने चोकहुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा युवाहरूलाई नियन्त्रणमा लिएको छ’ काकीले भने। 

वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी बस्ने ती युवा क्लबका सदस्यहरूले स्थानीय प्रशासनको अनुमतिबिना कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा र्‍याली निकालेका थिए।

‘र्‍यालीका क्रममा उनीहरूले हो–हल्ला गर्दै सार्वजनिक शान्ति खलल पुर्‍याउने गतिविधि गरेको र निर्वाचन आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्यमा संलग्न रहेको पाइएकोले प्रहरीले नियन्त्रणमा लिएको हो’, कार्कीले भने, ‘अहिले प्रहरीले सोधबुझ गर्दा आचारसंहिता बारे कुनै जानकारी नपाएर र्‍याली निकालिएको बयान दिएका छन्।’

यस्तै, कार्कीले विभिन्न दलका उम्मेदवारहरूले घरदैलो अभियानका क्रममा आफ्नो पार्टीको टोपी, टिर्सट लगायतका बाँडेको मौखिक जानकारी आएको बताए।

उनले भने, ‘अहिलेसम्म लिखित रुपमा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी आएको छैन। फोन मार्फत आएका गुनोसाहरूलाई हामीले भेरिफाइ गर्छौं। सम्बन्धित उम्मेदवार तथा उनीहरूका सम्बन्धित फोकल पर्सनसँग कुरा गरेर सचेत पनि गराएका छौँ। तर, फोनमा आएका जानकारीहरू अपुष्ट आउने गरेका छन्।’

साथै उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई मौखिक रुपमा सेचत गराइएको जानकारी दिए।

यस्तै, निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा कालीकोटमा कार्यरत दुई शिक्षकलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। कालीकोटको रास्कोट नगरपालिकास्थित कालाशिल्ला माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागाई र खाडाचक्र नगरपालिकास्थित चुलीमालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक दीपबहादुर शाहीलाई स्पष्टीकरण सोधिएको निर्वाचन अनुगमन समिति कालीकोटले जनाएको छ। 

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले दुवैजना शिक्षकलाई आचारसंहिता उल्लंघन गरेको भन्दै माघ १८ गते स्पष्टीकरण सोधेको थियो। चौलागाईलाई विद्यालय बन्द गरेर नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभामा सहभागी भएको र शाहीलाई एकीकृत मालेका उम्मेदवारलाई विद्यालयभित्र निर्वाचन कार्यक्रम गर्न दिएको भन्दै आचारसंहिता उल्लंघन गरेकोबारे लिखित जवाफ मागेको थियो।

आचारसंहिता अनुगमन अधिकृत तथा कालीकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले दुई विद्यालयका प्रध्यानाध्यापकले आचारसंहिताविपरीत काम गरेको गुनासो आएपछि स्पष्टीकरण सोधेको नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार प्रध्यानाध्यापक चौलागाईले निर्वाचन आचारसंहिता जानकार रहेको बताउँदै बेलुकी ४ बजेपछि शिक्षक कर्मचारीका पेशागत माग नेकपाको चुनावी घोषणापत्रमा राख्नका लागि सुझाव दिन आफू कार्यक्रममा गएको प्रष्टीकरण दिएका छन्। 

यस्तै, चुलीकालिका माविका प्रध्यानाध्यापक शाहीले उम्मेदवार विद्यालय बाहिरको बाटो हुँदै गाउँ जाने क्रममा विद्यालयको भवन अभाव लगायतका समस्या सुनाउन हाता बाहिर होस्टेलमा भेटघाट गरेको दाबी गरेका छन्। आचारसंहिता उल्लंघन नगरेको उनको तर्क छ।

यस्तै, हुम्ला, मुगु, डोल्पा, रुकुमपश्चिम, सल्यान लगायतका जिल्लाहरूमा निर्वाचन आचारसंहिताविपरीत गतिविधिहरू हालसम्म नभएको सम्बन्धित जिल्लाका अनुगमन अधिकृतहरूले बताएका छन्।

यता, जुम्लाका प्रकाशकीय अधिकृत एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मीनबहादुर रावलले जुम्लामा आचारसंहितको अनुगमनलाई तीब्र पारिएको जानकारी दिए। रावलले जुम्लामा हालसम्म कुनै पनि उजरी नपरेको बताए।

‘हामीकहाँ कुनै पनि उजुरी पेस भएको छैन’, उनले भने, ‘म आज अनुगमनका क्रममा पातारासी गाउँपालिका पुगेको छु। अनुगमनमा जाँदा त्यस्तो उल्लंघन भएको भेटिएको छैन।’

यस्तै, जाजरकोटका निर्वाचन आचारसंहित अनुगमन अधिकृत दीपेन्द्रबहादुर शाहीले जाजरकोटमा आफू अनुगमन अधिकृत तोकिएपछि आचारसंहिता उल्लंघनका उजुरी नपरेको बताए।

‘हालसम्म उजरी परेको छैन। केही समस्याहरू फोन मार्फत आउने गर्छन्। ती सूचनाहरू पुष्टि हुँदैनन्। केही समयअघि नेकपा उम्मेदवार शक्तिबहादुर बस्नेतलाई निर्वाचन आयोगले नै स्पष्टीकरण सोधेको थियो।’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटा जिल्लाका १२ निर्वाचन क्षेत्रबाट १३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad