कर्णाली


कर्णालीमा निर्वाचन लक्षित सुरक्षा: १४ हजार भन्दाबढी प्रहरी परिचालन

कर्णालीमा निर्वाचन लक्षित सुरक्षा: १४ हजार भन्दाबढी प्रहरी परिचालन

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १४:३८, सुर्खेत

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रबाट १३१ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। उक्त निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल प्रहरीले सुरक्षा रणनीति तयार गरी आवश्यक जनशक्ति परिचालन गरिसकेको छ। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रको संवेदनशीलता मूल्यांकन गरी सोही अनुसार सुरक्षाकर्मी खटाउने योजना छ। सीमावर्ती क्षेत्र तथा विगतमा विवाद देखिएका स्थानमा विशेष निगरानी बढाइएको प्रदेश प्रहरीले जनाएको छ। सुरक्षा निकायले मतदातालाई निर्भिक भई मतदान गर्न आग्रह पनि गरेका छन्। 

कर्णालीमा करिब १४ हजार ७१९ भन्दाबढी प्रहरी जनशक्ति निर्वाचनमा खटाएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। कर्णालीको भूगोललगायत अन्य कारणले केही चुनौती भए पनि प्रहरीले मतदाता, उम्मेदवार, मतदान केन्द्र र मतदानस्थलको पूर्ण रूपमा सुरक्षा दिने प्रहरीले दाबी गरेको छ। 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा निर्वाचन गराउन र मतपेटिका ल्याउनेबेला हुनसक्ने समस्यालाई मध्यनजर गरी सोहीअनुसार तयारी गरिएको बताए।

अतिसंवेदनशील केन्द्रहरूमा सुरक्षाको विशेष व्यवस्था गरिने प्रहरीले जनाएको छ। 

प्रदेशका हिमाली तथा दुर्गम जिल्लामा भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका विवाद, राजनीतिक प्रतिस्पर्धा र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदान केन्द्रको वर्गीकरण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। 

कर्णालीका विभिन्न जिल्लामा रहेका अन्य मतदान केन्द्रहरूलाई संवेदनशील र सामान्य श्रेणीमा पनि राखिएको छ। अतिसंवेदनशील केन्द्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा आवश्यक परे नेपाली सेनाको समेत परिचालन गरिने तयारी गरिएको छ।

कर्णालीमा ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन्, भने प्रदेशभर मतदाता १० लाख ३७ हजार २५० जना छन्। प्रहरीले प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ। निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले जोखिम मूल्यांकन गरेपछि ती मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरिएको हो। 

प्रदेश प्रहरी कार्यालयले प्रदेशका एक हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ सामान्य र ६५१ संवेदनशील सूचीमा राखेको छ। सोही अनुसार जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सरोकारवाला निकायले मतदानस्थल अनुगमनलाई पनि तीब्र बनाएका छन्। 

कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, मुगु र डोल्पाका अधिकांश मतदान स्थलहरुमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टरबाट निर्वाचन सामग्रीहरु तथा कर्मचारीहरु पुर्याउने काम भइहरेको छ। 

डोल्पा जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले निर्वाचनलाई लक्षित गर्दै मतदान सामग्री, सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी ओसारपोसार गर्न हेलिकप्टरकै भर पर्नुपर्ने स्थिती रहेको बताए। उनले भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण माथिल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गरेर निर्वाचन सम्बन्धि गतिविधि भइरहेको बताए। 

उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्धका बस्तीहरूमा सडक पहुँच नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। पैदल हिँड्दा धेरै दिन लाग्ने भएकाले हेलिकप्टरबाट मतपत्र लगायतका सामाग्री पुर्याउने काम भइरहेको निर्वाचन कार्यलयले जनाएको छ। 

यस्तै, निर्वाचन आयोगका अनुसार कर्णालीका १२ वटै जिल्लामा मतपेटिकाहरु पुगिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad