सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जाजरकोट जिल्लामा अर्काको नाममा परीक्षा दिन पुगेका दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी एक्कबहादुर नेपालीले दुइ जना नक्कली परीक्षार्थी पक्राउ परेको जानकारी दिए।
पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–६ टासी बस्ने २० वर्षीया सम्झना विक र नलगाड नगरपालिका–६ गर्सेना बस्ने १५ वर्षीय मानबहादुर नेपाली रहेका छन्।
सम्झना बारेकोट गाउँपालिका–२ स्थित वीरन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्सा परीक्षा केन्द्रमा सरिता विकको स्थानमा परीक्षा दिन पुगेकी प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिए।
उनकाअनुसार अर्का पक्राउ परेका मानबहादुर रमेश नेपालीको सट्टामा परीक्षा दिन परीक्षा हलमा सहभागी भएका थिए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पक्राउ परेका २ जनालाई हाल जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
४० थान मोबाइल बरामद
यस्तै, जाजरकोटकै २ परीक्षा केन्द्रबाट ४० थान मोबाइल पनि बरामद गरिएको छ। शिवालय गाउँपालिका–७ स्थित वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्र र शिवालय गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय सिमा परीक्षा केन्द्रबाट मोबाइल बरामद गरिएको हो।
वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ३५ थान र सरस्वती माध्यमिक विद्यालय सिमा परीक्षा केन्द्रबाट ५ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया