समाज


कीर्तिपुरको कटेरोमा खाँदिएका सुत्केरीको माग : बच्चालाई सुरक्षित ठाउँ देऊ

कीर्तिपुरको कटेरोमा खाँदिएका सुत्केरीको माग : बच्चालाई सुरक्षित ठाउँ देऊ

आयुषा ढकाल
बैशाख १४, २०८३ सोमबार २२:५४, काठमाडौँ

कीर्तिपुरस्थित राधास्वामी सत्संग ब्यासमा जस्ताको छानो र वरिपरि कपडाले बारिएको एउटा अस्थायी कटेरो छ। बाहिर घामको राप छ अनि भित्र मानिसहरूको घुइँचोका कारण कोलाहल र उकुसमुकुस छ। 

त्यही कोलाहलको बीचमा एउटा कुनामा चार महिनाकी सुत्केरी ३६ वर्षीया सविना नेपाली आफ्नी छोरी च्यापेर स्तनपान गराइरहेकी थिइन्। चिन्ताले उनको अनुहार कलेटी परेको छ।

१८ वर्षदेखि गैरीगाउँको सुकुम्बासी बस्ती सविनाले तीन सन्तान जन्माएको र हुर्काएको ममताको थलो थियो। जब बस्ती खाली गराउनका लागि सरकार पक्षबाट माइकिङ भयो, तब उनले सोचेकी थिइन्, ‘पहिले पनि यस्तो हल्ला चलिराख्थ्यो। यसपालि पनि केही नहोला।’ 

तर, जब शनिबार थापाथलीमा डोजर चलेको खबर सुनिन्, उनको मुटुले ठाउँ छाड्यो।

सविनाका श्रीमान् दक्षिणकालीमा काम गर्ने भएकाले कहिलेकाहीँ छुट्टीमा मात्र घर आउँथे। भर्खरैकी सुत्केरी उनी गह्रौँ सामान उठाउन सक्दिनथिन्। तर परिस्थिति यस्तो आइदियो कि छोरी नाबालक छोरालाई जिम्मा लगाएर उनी र अर्का छोराले घरबाट सामान निकाल्न थाले। धेरै सामान घरको ढोकामै छुटे र डोजरको चपेटामा परे। निकाल्न भ्याएजति पोकापुन्तुरा उनकै छेउमा थिए। अहिले त्यही नै उनको सम्पत्ति हो।

नुवाकोटमा जन्मिएकी सविनाले प्रेमविवाह गरेकी थिइन्। सिन्धुलीको गाउँमा उनका सासू–ससुरा बस्छन्। तर, उनीहरूको पनि लालपुर्जा छैन। 

सोही कटेरोको अर्को कुनामा अर्की ४ महिनाकी सुत्केरी रहिछन्। तर, आमा–छोरीकै स्वास्थ्य अवस्था ठीक नभएकाले सोमबार उनीहरू उपचारका लागि अस्पताल गएका थिए। उनी थापाथलीको सुकुम्बासी बस्तीबाट विस्थापित भएकी हुन्।

सानो शिशुलाई राख्नका लागि त्यो ठाउँ उचित नभएपछि उनको परिवारले बच्चा र आमालाई केही दिन आफन्तकहाँ पठाउने सोचिरहेको सुत्केरीका ससुराले बताए।

कि मेरो नातिनीलाई मारिदिनुस् कि खान दिनुस् : पवित्रा
कटेरोको बीचको लाइनमा ९ महिनाकी नातिनीलाई पवित्रा मगर काखमा खेलाइरहेकी थिइन्। नातिनी जन्मिनेबित्तिकै आमाले छोडेर हिँडेपछि हजुरआमा नै आमा बनेर हुर्काइरहेकी छिन्।

थापाथलीमा डोजर चल्दा आफ्ना बाख्रा र कुकुरलाई छोडेर नातिनी च्यापेर मगर घरबाट निस्किएकी थिइन्। शनिबार दिउँसो जब उनी कीर्तिपुरको अस्थायी बासस्थानमा आइन्, नातिनी भोकले रोइरहेकी थिइन्।

‘७ महिनामै जन्मिएकी, त्यसैमाथि आमाको दूध खान नपाएकाले ९ महिनाको हुँदा पनि नानी कमजोर छे,’ पवित्राले सुनाइन्।

बच्चा रुन थालेपछि पवित्रा दूध किन्न बाहिर जान खोजिन्। सुरक्षाकर्मीले उनलाई रोके, ‘चुरोट खान जान खोज्नु भएको होला!’

सुरक्षाकर्मीको कुरो सुनेर पवित्राको धैर्य टुट्यो। उनी कराइन्, ‘मेरी नातिनीलाई दूध खान दिनुहुन्न भने बरु मारिदिनुस्, तड्पिएको हेर्न सक्दिनँ।’

त्यसपछि सुरक्षाकर्मीले उनलाई बाहिर जान दिए।

अहिले पवित्राको रात नातिनीलाई लामखुट्टेबाट जोगाउँदा–जोगाउँदै बित्छ। उनको आफ्नै अनुहारमा लामखुट्टेले टोकेर रातो–रातो दाग बनाइदिएको छ। 

हाल राधास्वामी सत्संग व्यासमा ५० परिवारका १६५ जनाले आश्रय लिइरहेको नगर प्रहरी बताउँछ। यसबाहेक दुई होटल र नागार्जुनको भवनमा पनि सुकुम्बासीहरू आश्रय लिइरहेको प्रधानमन्त्रीका प्रेस सहायक सुरेन्द्र बजगाईंले बताए। 

उनीहरुलाई काठमाडौँ महानगर र सत्संगले खाजा (चिया–बिस्कुट) को व्यवस्था गरेको छ। तर सुत्केरी, बालबालिका र गर्भवतीका लागि चाहिने पौष्टिक आहारको लागि यो कम भएको सुत्केरी र गर्भवतीको परिवार बताउँछन्।

आफ्नो शिशुको स्वास्थ्यका लागि सविना, पवित्रा लगायतका आमाहरूको एउटै माग छ, ‘हाम्रो बच्चालाई सुरक्षित ठाउँ मिलाइदिनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad