हिमाली युवा क्लब बाजुराले कर्णाली करिडोर जेठ १० गते दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि बन्द गरेकाे घोषणा गरेकाे छ।
क्लबले आइतबार एक ज्ञापनपत्र बुझाउँदै हुम्ला-बाजुरा सीमा विवाद सम्बन्धमा पटक-पटक सरोकारवाला निकायसँग छलफल तथा सहमति भए पनि कार्यान्वयन नभएको भन्दै बन्दकाे घाेषणा गरेकाे हाे।
ज्ञापनपत्रमा केही दिनअघि बाजुराकाे हिमाली गाउँपालिका-३ मा भएको घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।

क्लबले हुम्लाका केही स्थानीयले बाजुरकाे हिमाली गाउँपालिका-३ का वडासदस्यको घरमा तोडफोड र लुटपाट भएको घटनापछि समेत सम्बन्धित निकाय गम्भीर नदेखिएको बताएको छ।
हिमाली युवा क्लबले घटनामा संलग्नमाथि कडा कारबाही, घाइते तथा पीडित परिवारलाई उपचार र राहतको व्यवस्था, क्षति भएका घर तथा सम्पत्तिको उचित मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेको छ। साथै स्थानीय सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ।
उक्त ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला प्रशासन कार्यालय हुम्लालाई दिइएको छ।
Shares

प्रतिक्रिया