ad ad

कर्णाली


कर्णाली मतगणना : ४ जिल्लाको सकिँदा संघका ४ र प्रदेशका ७ सिटमा गठबन्धन विजयी

कर्णाली मतगणना : ४ जिल्लाको सकिँदा संघका ४ र प्रदेशका ७ सिटमा गठबन्धन विजयी

फाइल तस्बिर


दिनेश बुढा
मंसिर ८, २०७९ बिहिबार १५:५८, सुर्खेत

कर्णाली प्रदेशका १० जिल्लामध्ये ४ जिल्लाको मतगणना सकिएको छ भने अन्य ६ जिल्लामा जारी छ। 

जुम्ला, जाजरकोट, दैलेख र सल्यान जिल्लाको मतगणना सकिएको हो। चार जिल्लाका ५ वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धन अगाडि देखिएको छ। 

जसमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका जुम्लामा राप्रपा, जाजरकोटमा माओवादी, सल्यान र दैलेख–१ मा समाजवादी र दैलेख–२ मा नेपाली कांग्रेसले जित हात पारेको छ।

यस्तै, मतगणना ४ जिल्लाका १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा एक/एक स्वतन्त्र र माओवादी, दुई एमाले र सात निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले निर्वाचन जितेको छ। 

जुम्ला 
जुम्लाबाट प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत रहेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले विजयी हात पारेका छन्। 

शाही दोब्बर मतान्तरसहित विजयी भएका हुन्। शाहीले २२ हजार ८ सय १९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा कुँवर ११ हजार ९ सय ५९ मत प्राप्त गरेकी छिन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रतननाथ योगी ६ हजार ५२८, नेपाल मजदुर किसान पार्टी डिल्लीप्रसाद काफ्लेले ९५५, स्वतन्त्र उम्मेदवार डा.कलबहादुर रोकाया ५४५ मत प्राप्त गरेका छन्। 

यस्तै, जुम्ला प्रदेश सभा–१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार देबेन्द्रबहादुर शाहीले वाम–लोकतान्त्रि गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका ललितजंग शाहीलाई हराएका हुन्। 

देबेन्द्रबहादुरले ९ हजार ६५४ मत प्राप्त गरेर प्रदेश सभा सदस्यमा निर्वाचित भए भने ललितजंगले ७ हजार ७५५ मत मात्रै प्राप्त गरेका छन्। ललितजंग नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापतिसमेत हुन्। उनलाई कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रूपमा समेत हेरिएको थियो। 

एमालेका धिरेन्द्रराज गिरी तेस्रो नम्बरमा सिमित भए। उनले ५ हजार ४८० मत मात्रै प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटाले ६९४ मत प्राप्त गरेका छन्।

यस्तै, जुम्ला प्रदेश सभा–२ मा भने नेकपा एमालेका टेकराज पछाईले बाजी मारेका छन्। उनले ७ हजार ८२७ मत प्राप्त गर्दै  निर्वाचन भएका हुन्। 

पछाईले वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकाया पराजित भएका छन्।

रोकायले ६ हजार ७१५ मत प्राप्त गरेका छन्। स्तन्त्रका धनबहादुर बस्नेतले ४ हजार १६५, नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावतले १ हजार २०२ मत प्राप्त गरेका छन्। 

सल्यान 
यस्तै, सल्यानबाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला विजयी भएका छन्। 

ज्वाला ३५ हजार ७ सय मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर राई १३ हजार २९ मतका साथ तेस्रो भएका छन्। 

यस्तै, प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भीमप्रकाश शर्मा २२ हजार २४३ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार कुलबहादुर गिरीले १४ हजार २२५ मत पाएका छन्। 

प्रदेशसभा–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेश अधिकारी २० हजार ४०८ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार गुलाबजंग शाहले १६ हजार ६२८ मत ल्याएका छन्। शाह यस अघि सल्यान प्रदेश सभा–१ बाट निर्वाचित भएका थिए। 

जाजरकोट
जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार माओवादीका शक्तिबहादुर बस्नेत विजयी भएका छन्। बस्नेत प्रतिनिधिसभा सदस्यमा जाजरकोटबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। 

बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेका छन्।

बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले १ हजार १९१, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक खनाले  ७३८ मत प्राप्त गरेका छन्। 

जाजरकोट प्रदेश सभा–१ मा पनि वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका बेदराज सिंह निर्वाचित भएका छन्। उनल १८ हजार ५४३ मत प्राप्त गरेर प्रदेश सभामा विजयी भएका छन्। बेदराजले नेकपा एमालेका डम्बरबहादुर सिंहलाई हराएका हुन्।

डम्बरबहादुरले ११ हजार ४७० मत प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार कमानबहादुर खड्का ४ हजार ४४६, राष्ट्रिय प्रजातन्त्र पार्टीका  गणेशबहादुर वटालाले ४५७ मत प्राप्त गरेका छन्। 

जाजरकोट प्रदेश सभा–२ मा वाम–लोकतान्त्रि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजीवबिक्रम शाह निर्वाचित भएका छन्।

उनले १६ हजार ४० मत प्राप्त गरेका छन्। शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन्। शाहीले १० हजार ५३० मत प्राप्त गरेका छन्। भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्णबहादुर शाहीले ४८५ मत पाएका छन्। 

दैलेख
दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा दुई निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनले जित हात पारेको छ। दैलेख–१ मा नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजयी भएका छन्। उनले आफ्ना पूर्वसहकर्मी एमालेका रविन्द्रराज शर्मालाई हराएका हुन्। 

दैलेख क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार अम्मरबहादुर थापा विजयी भएका छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका थापा १८ हजार २ सय ५६ मतसहित वियजी भएका हुन्।

थापाका प्रतिस्पर्धी शर्माले १७ हजार ४ सय ७ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी दुवैजना एमालेका पूर्वसहयात्री हुन्। शर्मा एमालेका दैलेख जिल्ला अध्यक्ष हुन् भने थापा समाजवादीका कर्णाली प्रदेश अध्यक्ष हुन्। थापा–शर्मा झण्डै तीन दशक एउटै पार्टीमा थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री समेत रहेकी कुन्तीकुमारी शाही ४ हजार ६ सय २ मतसहित तेस्रो स्थानमा रहेकी छिन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ३ सय ८६ मत पाएका छन्।

दैलेख–१ प्रदेश सभा (१) मा वाम–लोकतान्त्रिबाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन्। उनले नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

खत्रीले ९ हजार ४६४ मत ल्याएर निर्वाचित हुँदा रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन्। रेग्मीले ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेका थिए।

दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२) नेपाली कांग्रेसका कृष्णकुमार बिसी निर्वाचित भएका छन्। बिसीले १० हजार ५४५ मत ल्याएर प्रदेश सभामा निर्वाचित भएका हुन्।

बिसीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर थापाले ९ हजार ४७१ मत ल्याए। यहाँ राप्रपाका रणबहादुर सिंहले १ हजार ७०४, टेकबहादुर खाँण (ठेकी) ले ४१६ र नेमकिपाका लक्ष्मीकुमारी सिंहले २०१ मत प्राप्त गरे।

यस्तै, दैलेख निर्वाचन–२ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन्। उनले नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्ज लक्ष्मीप्रसाद पोखरेललाई हराएका हुन्।

शाही १५३ मत अन्तरसहित विजयी भएका हुन्। उनले २० हजार १५८ मत ल्याएका छन्। शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मी प्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए।

नेपाल मजदुर किसान पार्टीले केसेन्द्र प्रकाश कार्की ३ हजार ८४, राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारी ७१३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रराज गिरीले ४८८ मत प्राप्त गरेका छन्। 

दैलेख निर्वाचन–२ प्रदेश सभा (१)मा पनि वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका घनश्याम भण्डारी निर्वाचित भएका छन्। भण्डारीले नेकपा एमालेका तिलकप्रसाद रिजाललाई एक हजार ३०५ मतले हराएका हुन्।

भण्डारीले १० हजार ८०० मत पाएका हुन्। रिजालले ९ हजार ४९५ मत प्राप्त गरेका छन्। प्रदेश सभामा निर्वाचित भण्डारी दुल्लु नगरपालिकाका पूर्वप्रमुख समेत हुन्।

राप्रपाका यज्ञबहादुर थापाले ४७८, नेमकिपाका मदन भण्डारीले ३३७, हाम्रो नेपाली पाटी प्रेमबहादुर भन्डारीले ४७२ र  स्वतन्त्रका पुरुषोत्तम रिजालले २७० मत पाएका छन्। 

यस्तै, प्रदेश सभा–२ मा भने एमालले आफ्नो जित हासिल गरेको छ। यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका विनोदकुमार शाह विजयी भएका छन्। उनले वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार योगेन्द्र शाहीलाई हराएका हुन्।

शाहले योगेन्द्रलाई ८४ मतले हराएका हुन्। शाह ९ हजार ४६४ मत प्राप्त गरेर प्रदेश सभामा विजयी भएका छन्। शाहका निकटतम प्रतिद्वन्द्वी योगेन्द्रले ९ हजार ३८१ मत पाए। योगेन्द्र टिकट नपाएपछि एमाले पार्टी परित्याग गरी रातारात माओवादीमा प्रवेश गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .