कोशी


शेखर कोइरालाको आरोप : देउवा र प्रचण्डका कारण पाँचदलीय गठबन्धन टुट्यो

शेखर कोइरालाको आरोप : देउवा र प्रचण्डका कारण पाँचदलीय गठबन्धन टुट्यो

ध्रुव भट्टराई
पुस १४, २०७९ बिहिबार ११:१४, विराटनगर

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पाँच दलीय गठबन्धन टुट्नुमा पार्टी सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोष लगाएका छन्। 

बिहीबार बिहान विराटनगरस्थित कोइराला निवासमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता कोइरालाले तत्कालीन सत्ता गठबन्धन लामो समयसम्मका लागि बने पनि आफ्ना पार्टी सभापति देउवाको अदूरदर्शिता र माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्ति जिम्मेवार भएको आरोप लगाएका हुन्।

‘तत्कालीन सत्ता गठबन्धनले लामो समयसम्म यसलाई निरन्तरता दिने भनेर सहकार्य गरेको थियो’, कोइरालाले भने, ‘तर दुर्भाग्य यसलाई टिकाउन सकिएन।त्यसमा कांग्रेस, त्यसमा पनि पार्टी सभापति साथै माओवादी र त्यस पार्टीका अध्यक्ष प्रचण्डजीको प्रधानमन्त्री पदप्रतिको आशक्ति मुख्य कारण बन्यो।’

चुनावपछि गठन हुने सरकारको नेतृत्व प्रचण्डलाई दिने कांग्रेस सभापति एवं तत्काली प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति भए पनि देउवाले सहमति तोडेको भन्ने आरोप माओवादीको छ नि भनी पत्रकारले राखेको प्रश्नमा कोइरालोले तत्कालीन प्रधानमन्त्री देउवा र प्रचण्डबीच लिखित सहमति भएको कुरा आफूलाई थाहा नभए पनि चुनावपछि गठन हुने सरकारको प्रधानमन्त्री बन्ने प्रचण्डसँग कुराकानीमा आफूले थाहा पाएअनुसार देउवालाई उक्त कुरा जानकारी गराएको उनले बताए। 

तर कांग्रेसले निर्णय गर्ने कुरामा कमजोरी गरेको उनको भनाइ छ। योसँगै अरू विषयले पनि गठबन्धन टुट्ने कारण रहेकोले यो कुरा बिस्तारै खुल्दै जाने कोइरालाले बताए।

उनले सरकारमा नजाँदैमा कांग्रेस खुम्चिने र कमजोर नहुने पनि दाबी गरे। नेपाली कांग्रेस ठूलो शक्ति भएकाले अब जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका सदन र सडकमा कांग्रेसले निर्वाह गर्ने उनले बताए। 

पाँचदलीय गठबन्धनबाटै सरकार गठन गर्ने कुरा भइरहेका बेला देउवा र प्रचण्डबीच को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति नहुँदा अन्तिम समयमा माओवादी केन्द्रले नेकपा एमालेलगायत सात दलको समर्थनमा सरकार गठन गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .