कोशी


पाँचथर आगलागी : गाउँलेले थाहा पाउँदा नन्द–भाउजू जलिसकेका थिए

माइत आएकी थिइन् ममता
पाँचथर आगलागी : गाउँलेले थाहा पाउँदा नन्द–भाउजू जलिसकेका थिए

मृतक भाउजू आसाङसिंह (बायाँ), नन्द ममता (दायाँ) र जलेको घर।


ध्रुव भट्टराई
पुस २०, २०७९ बुधबार ११:९, विराटनगर

पाँचथरको फिदिम नगरपालिका ८ घमाउनेटारका भएको आगलागीमा एकै घरका नन्द–भाउजूको तत्काल उद्धार गर्न नसक्दा जलेर मृत्यु भएको खुलेको छ।

गएराति स्थानीय मेखबहादुर गुरुङको घरमा भएको आगलागीमा परी उनका कान्छी छोरी २२ वर्षीया ममता गुरुङ र कान्छी बुहारी २३ वर्षीया आसाङसिंह थेबेको मृत्यु भएको छ। छोरी ममता ल्होसार मनाउन गत बिहीबार दुई सन्तानसहित माइती घर आएकी थिइन्। 

फिदिम नगरपालिका ८ का वडाध्यक्ष सोमबहादुर गुरुङका अनुसार आगोमा जलेर मृत्यु हुने छोरी ममताको घर फिदिम नगरपालिका ७ हो। ममता आफ्ना ८ र ५ वर्षका छोराछोरी लिएर ल्होसार मनाउन माइती आएकी थिइन्। उनका छोरा र छोरी मंगलबार घर फर्किएका भए पनि ममता भने माइतीघरमै बसेकी थिइन्।

ढुङ्गा माटो, काठले बनेको टिनको छानो भएको तीनतले घरमा आगलागी भएको समयमा कान्छी छोरी ममता र बुहारी आसाङसिंह घरको बीच  तलामा सुतेका थिए भने घरका अन्य सदस्य भुइँतालामा सुतेका थिए।

आगलागीबारे गाउँलेले ढिला गरी थाहा पाउँदा घरको माथिल्लो तला  जलिसकेको थियो भने पूरै घरमा आगो दन्किरहेको थियो। गाउँलेले थाहा पाउँदा नै नन्द ममता र भाउजु आसाङसिंहको जलेर मृत्यु भइसकेको थियो।

कान्छी छोरी ममताको ९ वर्षअघि विवाह भएको थियो भने दुई वर्षअघि मात्र कान्छी बुहारी आसाङसिंहको विवाह भएको थियो। उनका श्रीमान् अजय ताप्लेजुङ गएका थिए। उनीहरूका सन्तान छैनन्। 

‘बाक्लो गाउँ भए पनि रातको समय भएकाले आगलागीको घटना निकै पछि थाहा भयो’, वडाध्यक्ष गुरुङले भने, ‘स्थानीय भेला हुँदासम घरको माथिल्लो भाग जलेर पूरै खरानी भइसकेको थियो।’

उनले थपे, ‘निकै ढिलागरी हामीले थाहा पाउँदा उनीहरूले जलेर ज्यान गुमाइसकेका थिए।’ 

आगो लागेको करिब आधा घण्टापछि राति १ बजे स्थानीयले घटनाबारे थाहा पाएका थिए। स्थानीयले आगलागीबारे थाहा पाउँदा घरका अन्य सदस्य घरबाहिर निस्किएर हारगुहार गरिरहेका थिए।

आगलागी भएको मंगलबार रात घरमा सात जना सुतेका थिए। घरमूली मेखबहादुर, श्रीमती सुजता उनका जेठा छोरा, छोरीलगायत घरका अन्य सदस्य सुतेका थिए। नन्द र भाउजू निस्कन नपाई घरभित्र जलेर ज्यान गुमाए पनि परिवारका अन्य सदस्य भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष गुरुङले बताए।

आगलागीमा परी घरमूली मेखबहादुर र उनका जेठा छोरा विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन्। 

आगलागीले घरसँगै त्यसभित्र रहेका अन्नपात, गरगहना, किराना पसलसहित सबै सामान जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ५० लाखजतिको क्षति भएको प्रहरीले जनाएको छ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

आगलागी नियन्त्रणका लागि अस्थायी प्रहरी चौकी तमाखे रानीटारबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमान्डमा खटिएको ५ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा २५ जना प्रहरी परिचालन गरिएको थियो।
स्थानीय, २ वटा वारुण यन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

अग्निपीडितहरूलाई छिमेकमा रहेको एउटा घरमा राखिएको छ। फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले, पाँचथरका प्रमुख जिल्ला अधिकारी, गणेश गैरे, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको टोली घटना स्थलमा पुगेर उनीहरूलाई जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत खाद्यान्न तथा लत्ताकपडा दिने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .