कोशी


कोसी सरकारको विवाद पूर्ण इजलासमा पठाइयो, सार्न नमिल्ने गरी जेठ २७ गते पेसी

कोसी सरकारको विवाद पूर्ण इजलासमा पठाइयो, सार्न नमिल्ने गरी जेठ २७ गते पेसी

नेपालखबर
जेठ २३, २०८१ बुधबार १२:१३, काठमाडौँ

कोसी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले आज (बुधबार) पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।

अब पेसी सार्न वा स्थगित गर्न नपाइने गरी इजलासले नै अर्को पेसी जेठ २७ गतेका लागि तोकिदिएको छ। अब यस विवादको छिनोफानो कम्तीमा ३ न्यायाधीशको इजलासबाट हुने भएको छ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा यसअघि जेठ १६ गते पनि सुनुवाइ भएको थिएन। 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका छन्।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन्। 

उनलाई पनि धारा १६८ को उपधारा ५ अनुसार नै नियुक्त गरिएको हो।

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो।

तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि उनी अल्पमतमा परेका थिए। 

२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad