कोशी


मानव बेचबिखनविरुद्ध विराटनगरमा यातायातकर्मीलाई प्रशिक्षण

मानव बेचबिखनविरुद्ध विराटनगरमा यातायातकर्मीलाई प्रशिक्षण

नेपालखबर
असार ५, २०८३ शुक्रबार १६:५५, काठमाडौँ

खुला सीमाका कारण विभिन्न प्रलोभनका कारण दिनानुदिन बढ्दै गइरहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सीमावर्ती क्षेत्रका यातायातकर्मीहरूलाई प्रशिक्षण दिइएको छ।

माइती नेपाल मोरङको आयोजनामा सीमा क्षेत्रमा चल्ने सिटी सफारी, अटो, भ्यान तथा स्थानीय बसका चालक एवं यातायातकर्मीलाई प्रशिक्षण दिइएको माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए। 

संयोजक पोखरेलले संस्थाको स्थापना, उद्देश्य र कार्यक्षेत्रबारे प्रकाश पारेका थिए। उनले सीमावर्ती क्षेत्रमा संस्थाले गर्दै आएको उद्धार, रोकथाम, पुनर्स्थापना र पारिवारिक पुनर्मिलन जस्ता गतिविधिमा यातायातकर्मीको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा जोड दिएका थिए। 

त्यसै गरी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले मानव बेचबिखनको वर्तमान अवस्था, यसका कानुनी पक्ष र जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई विभिन्न झुटा आश्वासन वा वैदेशिक रोजगारीको बहानामा कसरी फसाइन्छ भन्नेबारे विस्तृत प्रस्तुतीकरण गरेकी थिइन्।

यात्राका क्रममा देखिने व्यवहार तथा अस्वाभाविक गतिविधि जस्ता शंकास्पद अवस्थाहरू पहिचान गर्ने व्यावहारिक उपायहरूबारे पनि चालकहरूलाई सचेत गराएकी थिइन्। 

अन्तरक्रियात्मक छलफलका क्रममा यातायातकर्मीहरूले सीमा क्षेत्रमा गाडी चलाउँदा भोगेका आफ्ना अनुभव र जिज्ञासाहरू साटासाट गरेका थिए। सहभागीहरूले कार्यक्रमबाट मानव बेचबिखनका स्वरूप र जोखिमका संकेतहरूबारे स्पष्ट जानकारी पाएको र अबका दिनमा कुनै पनि शंकास्पद अवस्था देखिएमा माइती नेपाल तथा सुरक्षा निकायसँग समन्वय गर्ने बताएका थिए।

सीमामा यात्रुको अत्यधिक चापका कारण सूक्ष्म अवलोकनमा गर्न कठिनाइ र कानुनी झन्झटको डरले सूचना दिन हिचकिचाउने जस्ता व्यावहारिक चुनौतीहरूबारे पनि उनीहरूले जानकारी गराएका थिए।

मानव बेचबिखन नियन्त्रणमा सरकारी वा गैरसरकारी निकाय मात्र नभई यातायात क्षेत्रको सहभागिता र सामूहिक प्रयास अपरिहार्य रहेको औँल्याए। कुल २० जनाको सहभागिता रहेको कार्यक्रममा चालकहरू मात्र सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad