चिया निर्यातमा उत्पन्न अवरोधका कारण झापा र इलामका चिया उद्योगहरू बन्द भएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोसी प्रदेश कमिटीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
चिया टिप्ने मुख्य सिजनमै इलाम जिल्लामा सञ्चालित ५३ वटा, झापा जिल्लामा सञ्चालित ३६ वटा तथा पाँचथरका समेत चिया उद्योगहरू पूर्ण रूपमा बन्द भएका छन्। उद्योगहरू ठप्प हुँदा चिया क्षेत्रमा कार्यरत करिब ६० हजार मजदुर प्रत्यक्ष रूपमा प्रभावित बन्न पुगेका छन्।
नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्येको एक रहेको चियाको निर्यातमा देखिएको समस्या तत्काल समाधान हुन नसकेमा किसानले उत्पादन गरेको चियापत्तीको उचित मूल्य नपाउने, उद्योगहरू सञ्चालनमा कठिनाइ आउने र हजारौँ श्रमिकको रोजगारी तथा आयआर्जनमा प्रतिकूल असर परेको भन्दै एमालेले आपत्ति जनाएको हो।
एमाले कोसी प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडाले नेपालको कुल चिया खेतीमध्ये ९५ प्रतिशत कोसी प्रदेशमै हुने गरेको उल्लेख छ। प्रदेशको प्रमुख समृद्धिको आधारका रूपमा रहेको चिया क्षेत्रमा बारम्बार देखिने यस्ता संकटले यस क्षेत्रको आर्थिक गतिविधिलाई धराशायी बनाउने अवस्था सिर्जना गरेको उनले उल्लेख गरेका छन्।
यो विषम् परिस्थितिमा नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक तथा सरकारी तहमा तत्काल संवाद, वार्ता र समन्वय गरी नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन आवश्यक पहल गर्न नेकपा (एमाले) कोसीले आग्रह गरेको छ। साथै दुई देशबीचको मित्रवत् सम्बन्ध, व्यापारिक सहकार्य तथा पारस्परिक हितलाई ध्यानमा राख्दै उत्पन्न समस्या वार्ता र संवादको माध्यमबाट छिटोभन्दा छिटो समाधान गर्न एमालेले भारतीय पक्षसँग पनि अनुरोध गरेको छ।
खतिवडाद्वारा जारी विज्ञप्तिमा पार्टी सधैँ चिया किसान, मजदुर तथा उद्योगीव्यवसायीहरूको पक्षमा रहेको र चिया क्षेत्रका समस्यालाई दिगो रूपमा समाधान गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। अहिलेको समस्या समाधानका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र सहकार्यको लागि एमाले निरन्तर तयार रहेको र त्यसको लागि सरकारसँग समेत माग गरेको छ।

प्रतिक्रिया