कोशी


कोसीका यी ९ सहकारी खारेज गरिँदै, सफाइ पेस गर्न १५ दिनको म्याद

कोसीका यी ९ सहकारी खारेज गरिँदै, सफाइ पेस गर्न १५ दिनको म्याद

नेपालखबर
असार ५, २०८३ शुक्रबार १४:४२, काठमाडौँ

कोसी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले नियमन क्षेत्रभित्रका ९ वटा निष्क्रिय सहकारी संस्थाहरूलाई खारेजीको तयारी गरेको छ।

कार्यालयले अन्तिमपटक सफाइ पेस गर्ने मौका दिएको छ। कार्यालयले सूचना जारी गरेर लामो समयदेखि निष्क्रिय रहेका र कार्यालयले स्थलगत अनुगमन गर्दा समेत सञ्चालनमा नरहेका त्यस्ता संस्थाहरूलाई १५ दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।

यसअघि पनि पटक–पटक अद्यावधिक हुन समय दिँदासमेत तोकिएको अवधिमा विवरण पेस नगरेका कारण ती संस्थाहरूलाई प्रदेश सहकारी ऐन, २०७६ (संशोधन सहित) को दफा ७३ बमोजिम खारेज किन नगर्ने भनी प्रश्न उठाइएको छ। 

तोकिएको १५ दिनको अवधिभित्र सन्तोषजनक सफाइ वा स्पष्टीकरण पेस नगरेमा ती सहकारी संस्थाहरूको दर्ता स्वतः खारेज गरिने सहकारी रजिष्टार कार्यलयले जनाएको छ।

कार्यालयका अनुसार, खारेजीको प्रक्रियामा रहेका संस्थाहरूमा साविक पथरी १, मोरङ ठेगाना भएको मोफसल प्रकासन सहकारी संस्था लिमिटेड र बेलबारी ११, मोरङ (साविक डाँगीहाट ५) मा रहेको कोशली बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्। 

यसै गरी मोरङकै साविक मृगौलिया-५ को नवजागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सुन्दरहरैंचा–११ को युवा कृषि सहकारी संस्था लिमिटेडलाई पनि स्पष्टीकरण सोधिएको छ।

सुनसरी र मोरङका अन्य क्षेत्रमा रहेका सहकारीहरू पनि यस कारबाहीको दायरामा परेका छन्। जसमा दुहबी २ (साविक सिमरिया २) को निलकण्ठ कृषि सहकारी संस्था लिमिटेड, दुहबी–४ को आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था लिमिटेड र इटहरी १९ (साविक हाँसपोसा ६) को जब्दी महिला कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्। 

त्यस्तै इटहरी १६ (साविक एकम्बा २) को आदर्श कृषि सहकारी संस्था लिमिटेड र रामधूनी ८ (साविक दुम्राहा ३) मा रहेको तीनकुने महिला बचत तथा ऋण सहकारी संस्थाको दर्ता पनि खारेजीको सूचीमा परेको छ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय कार्यालयले अत्यन्तै जरुरी मान्दै सम्बन्धित सहकारीका सञ्चालक तथा सरोकारवालाहरूलाई तोकिएको समयभित्रै आफ्ना प्रमाण र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन पनि भनेको छ।

यस कदमले कोसी प्रदेशमा सहकारी क्षेत्रको नियमनलाई थप कडा बनाउने र निष्कृय संस्थाहरूलाई कानुनी दायरामा ल्याउने भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad