कोशी


पूर्वकै एउटा राम्रो सरकारी विद्यालयको प्रवेश परीक्षामा शिक्षक नेताको अवरोध प्रयास

पूर्वकै एउटा राम्रो सरकारी विद्यालयको प्रवेश परीक्षामा शिक्षक नेताको अवरोध प्रयास

सुमन सुस्केरा
बैशाख ६, २०८२ शनिबार १७:०, विराटनगर

विराटनगर महानगरपालिका-३ स्थित पोखरिया माध्यमिक विद्यालयमा शनिबार बिहान अभिभावकहरू विद्यालयमा पुगे। विद्यार्थीको भर्ना गर्नका लागि फर्म लिइसकेको विद्यालयले प्रवेश परीक्षा नलिएको भन्दै दुई/तीन दिन अगाडिदेखि विद्यार्थीका अभिभावकहरूले विद्यालयलाई प्रवेश परीक्षा लिन दबाब दिँदै आएका थिए। 

त्यही दबाब थेग्न नसकेको विद्यालयले शनिबार बिहान ११ बजेदेखि प्रवेश परीक्षा लिने मिति तय गरेको थियो। त्यो बारेमा दुई दिन अगाडि नै सूचना सार्वजनिक भइसकेको थियो। अभिभावकहरु बिहान ९ बजे नै विद्यालयमा पुगिसकेका थिए। 

धनुषा, सप्तरी, सिराहा, इलाम पाँचथर टाढा टाढाबाट पुगेका अभिभावकहरु लाइन लागेर प्रवेश परीक्षा लिने तरखरमा थिए। त्यही क्रममा एकजना व्यक्ति मुखमा मास्क लगाउँदै विद्यालयमा प्रवेश गर्छन्। उनको हाउभाउ अस्वाभाविक देखेपछि कर्मचारीहरू तथा शिक्षकहरू झस्किन्छन्। उनको बारेमा सोधीखोजी गर्दै जाने क्रममा उनले आफू शिक्षक महासंघबाट आएको भन्ने प्रतिक्रिया दिन्छन्। 

अनि बल्ल मास्क खोल्छन् र आफ्नो परिचय दिन्छन्। उनी थिए,आदर्श माध्यमिक विद्यालय विराटनगरकै सहायक प्रधानाध्यापक इन्द्र चौहान। चौहान आफू शिक्षक महासंघबाट आएको भन्दै भिडिओ खिच्न थाल्छन्। उनले भिडिओ खिचेको कसैलाई पनि मन परेको थिएन। कर्मचारी र अभिभावकहरू भिडिओ नखिचि कुरा गर्न भन्छन्। उनी निरन्तर भिडिओ खिचिरहन्छन्।

चौहान भन्छन्, ‘सरकारले हाम्रो माग सुनेको छैन, तपाईंहरू महासंघलाई नटेर्ने? तपाईंहरू तुरुन्त प्रवेश परीक्षा बन्द गर्नुस्, नत्र अरू साथीहरूलाई बोलाउछु।’

अभिभावकहरुले प्रवेश परीक्षा जसरी पनि गर्नुपर्ने दवाव दिन्छन्। तर, चौहान कुनै पनि हालतमा प्रवेश परीक्षा गर्नै नदिने गरी आफ्नो अडान दोहोर्‍याउँछन्। अरु शिक्षकहरूलाई पनि बोलाउने र परीक्षा नै हुन नदिने भन्दै उनले अडान लिँदै जान्छन्।  

अभिभावक र चौहानबीचको निकैबेरको भनाभनपछि पनि उनले भिडिओ खिच्न छाड्दैनन्। अभिभावककै भिडिओ खिच्छन् अनि विद्यालयका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको पनि उसैगरी भनाइहरु रेकर्ड गरिरहेका हुन्छन्। 

शिक्षकले यसरी भिडिओ खिचेको स्वाभाविक नभएको अभिभावकहरू बताउँदै थिए। उनले लगतै ८/१० जना शिक्षकलाई विद्यालयमा लिएर आउछन्। शिक्षक र अभिभावकबीच घम्साघम्सी चल्छ। उनीहरूलाई प्रहरीले रोक्छ। त्यसपछि शिक्षकहरूलाई विद्यालय नर्सको कार्यकक्षमा राखेर छलफल हुन्छ। पोखरियाले अरू स्कुलका शिक्षकहरूलाई काठमाडौँ लगेर प्रवेश परीक्षा लिएको उनीहरूले बताए। 

कक्षा ८मा आफ्नो बच्चा भर्ना गर्न आएका सप्तरीका विनोदकुमार मण्डलले सूचना प्रकाशित गर्दा नबोलेको महासङ्घ अभिभावक र विद्यार्थीहरू प्रवेश परीक्षा लिन थालेपछि भाड्न खोज्नु शिक्षकहरूको अराजकता भएको बताए ‌। महासंघका शिक्षकहरूले विधि र प्रक्रियामा चल्नुपर्नेमा हुलहुज्जत गर्न खोजिएको जस्तो देखिएको उनको भनाइ छ। ‘शिक्षकका मागहरू जायज छन् हाम्रो पनि समर्थन छ’, उनले भने, ‘यसरी अभिभावक र विद्यार्थीहरू परीक्षा दिन आइसकेपछि भाडभैलो गर्न खोज्नु ठिक होइन।’

नयाँ शैक्षिक सत्रका लागि पोखरिया माध्यमिक विद्यालयमा प्रवेश परीक्षाका लागि फर्म भर्ने विद्यार्थीहरू विराटनगरका मात्रै छैनन्। मधेस प्रदेशका अधिकांश जिल्ला र कोशी प्रदेशका पहाडी जिल्लाका समेत रहेको विद्यालयले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले कर्मचारी आन्दोलनमा भएपनि विद्यालय व्यवस्थापन समितिले परीक्षा गराएको प्रतिक्रिया दिएका थिए। ‘हामीले कर्मचारी आन्दोलन गर्न पठाएका छौं।अभिभावकको धेरै दवाव आएपछि प्रवेश परीक्षा मात्रै लिन खोजेका हौँ’, उनले भने, ‘अभिभावकलाई सहजताका लागि यो काम गरिरहेका छौं।’

वैशाख ३ गतेलाई तोकिएको प्रवेश परीक्षा ६ गतेलाई सारेको थियो। त्यो बेला शिक्षक महासंघले विद्यालय खोल्ने शिक्षकलाई कालोमोसो दल्ने बताउँदै आएको थियो। 

शिक्षकहरूको होल्ला बाबजुद अभिभावकहरुको साथ पाएपछि विद्यालयले  प्रवेश परीक्षा सम्पन्न गरेको छ।  २ हजार ४ सय ३० जनाले प्रवेश परीक्षा दिएका छन्। पोखरिया माध्यमिक विद्यालय सरकारी विद्यालयहरुमा देशकै राम्रो विद्यालयमा पर्छ। त्यसले यहाँ पढ्न चाहानेहरुको संख्या धेरै हुनेगर्दछ।

प्रवेश परीक्षा लिएपछि पोखरिया मावीविरुद्ध आक्रोशपूर्ण विज्ञप्ति,  प्रधानाध्यापकलाई कारबाहीको माग
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad