कोशी


मन्त्रीको कार्यकक्षमा ‘नक्कली’ स्वकीय सचिव

मन्त्रीको कार्यकक्षमा ‘नक्कली’ स्वकीय सचिव

खैरो कोट पाइन्टमा अमृत


सुमन सुस्केरा
जेठ १२, २०८२ सोमबार २१:५७, विराटनगर

सोमबार कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीको कार्यकक्षमा केही कार्यालय सहयोगी बाहेक सुनसान थियो। मन्त्री सदानन्द मण्डल काठमाडौँमा थिए। सचिव विशाल घिमिरे पनि कामको सिलसिलामा काठमाडौँ गएको भनेर कर्मचारीहरू कुरा गर्दै थिए। 

केही कर्मचारी चिया खाएर गफिँदै गरेको अवस्थामा मन्त्रीले एउटाको नाममा अर्कोलाई काम लगाएको विषय एकाएक चर्चामा आयो। ती कर्मचारीमध्ये एउटाले भने, ‘मन्त्री नै ठिक रहेनछन्, अनि स्वकीय त झन् काम नलाग्ने नै भए। यसरी अर्काको नाममा सेवा-सुविधा लिने हो?’

लगत्तै अर्कोले भने जवाफ फर्काउँछन्, ‘यस्ता मन्त्रीबाट के आस गर्नु? पहिलादेखि नै सचिवालय ठिक छैन भनेको त हो नि, यस्तै हर्कत गर्नलाई रहेछ। यस्तै, मन्त्रीले गर्दा मन्त्रालयको नै बेइज्जत गरे।’ 

यो कुराकानी सम्बन्धित मन्त्रालयमा मात्रै भएनन्, अन्य कार्यालयहरूमा पनि उसै गरी हुँदै थिए। कोसी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले स्वकीय सचिव नियुक्त गर्दा एउटाको नाममा अर्कोलाई जागिर लगाएको विषय अहिले सतहमा आएको हो।

मन्त्री मण्डलले स्वकीय सचिव नियुक्त गरेका व्यक्ति मन्त्रालयमा उपस्थित नहुने तर उनको नाममा अर्कै व्यक्तिले काम गर्ने गरेकोबारे विषय सार्वजनिक हुनुभन्दा पहिलादेखि नै मन्त्रालयभित्र चर्चा हुने गरेको एक कर्मचारी बताउँछन्।

मन्त्री मण्डलले औपचारिक रूपमा सन्तोष मेहतालाई स्वकीय सचिवमा नियुक्त गरेका छन् तर मन्त्रालयमा उपस्थित भएर काम भने अमृत मेहताले गर्ने गरेको विषयले कर्मचारी पनि सशंकित भएका छन्।

मन्त्री सदानन्द मण्डलको सचिवालय स्रोतका अनुसार, सचिवालयमा कर्मचारीका लागि तीनवटा टेबुल-कुर्सी रहेकोमा एउटामा प्रमुख स्वकीय सचिव बस्छन् भने अर्कोमा अमृत बस्ने गर्छन्। 

सचिवालयको कुर्सीहरूमा को कहाँ बस्छ भनेर प्रमुख स्वकीय सचिव सुजित राईको बाहेक कसैको पनि नेमप्लेट राखिएको छैन। मन्त्रीले प्रमुख स्वकीय सचिव एकजना, स्वकीय सचिव एकजना, कम्प्युटर सहायक एकजना र दुईजना कार्यालय सहयोगी र एक चालक पाउँछन्।

मन्त्री मण्डलका प्रमुख स्वकीय सुजित राई, स्वकीयमा सन्तोष मेहता, कम्प्युटर सहायकमा कुन्दन मण्डल, कार्यालय सहयोगी मिथुन र कमल हुन्। अमृत मेहताको रेकर्ड मन्त्रालयको कुनै पनि ठाउँमा देखिँदैन।

उनले आएका सेवाग्राहीलाई घण्टौँसम्म कुराउने, मन्त्री छैनन् भनेर पठाउने गरेको अन्य कर्मचारी बताउँछन्।

यसबारेमा नेपालखबरले अमृतलाई टेलिफोन गरी 'तपाईँलाई स्वकीयमा नियुक्ति दिइएको छ?' भनी सोधेको प्रश्नमा उनले भने, ‘छैन, मैले मन्त्रीज्यूलाई सहयोगीको रूपमा काम गरेको हुँ।’

उनले सन्तोष आफू नजिकैको दाजुभाइ समेत नभएको स्वीकार गरे।

‘हामी आफ्नै दाजुभाइ होइनौँ, टाढाको हौँ’, उनले भने।

पारिश्रमिकबारे सोध्दा भने उनी टेलिफोन सम्पर्कबाट बाहिरिए।

मन्त्रीको स्वकीय सचिव बन्न पाऊँ भनी लेखिएको पत्रमा सन्तोषको हस्ताक्षर देखाइएको भए पनि सम्पर्क नम्बरमा अमृतको राखिएको छ। उनले नै सन्तोषको हस्ताक्षर गरेको समेत मन्त्रालय स्रोत बताउँछ।

यसबारे पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले यो कुनै ठूलो विषय नभएको प्रतिक्रिया दिए।

कर्मचारीहरूका अनुसार यस्तो अभ्यासले कार्यक्षेत्रमा भ्रम मात्र सिर्जना भएको छैन, अनधिकृत व्यक्तिले मन्त्रीको स्वकीय सचिवको रूपमा काम गरिरहनु फौजदारी कसुरसम्बन्धी विषय पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad