सरकारले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाययता नागरिकले फेरि ‘लोडसेडिङ’ फर्किएको अनुभूति गरिरहेका छन्। तर कार्यकारी निर्देशक शाक्यले यसलाई ‘अफवाह’को संज्ञा दिइरहेका छन्।
यो विषय कोसी प्रदेशसभामा समेत जोडतोडका साथ उठिरहेको छ।
कोसी प्रदेशसभाका सांसद गम्बु शेर्पाले संसद् बैठकमा हरेक दिनजसो ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ गीत गाइरहेका छन्।
हिजो साउन १३ गते बुधबार पनि उनले यो गीत गाएर प्रदेशसभाको हल गुञ्जायमान बनाए।
सोलुखुम्बुबाट निर्वाचित माओवादी सांसद शेर्पाले बिजुली बेलाबेला झ्याप्पझ्याप्प गएर हैरान आम नागरिकको भावना गीतमार्फत प्रस्तुत गरे।
सांसद शेर्पाले कुन बेला बिजुली आउने र कुन बेला बिजुली जाने कुनै टुंगो नै नभएको बताए।
बिजुली ३/४ घण्टासम्म निरन्तर गइरहने र बिजुली आउँदा पनि असाध्यै लो भोल्टेजको आउँदा फेन र एसी पनि नचल्ने गुनासो उनले गरे।
‘कुनै सूचना विना घण्टौँसम्म गायब हुने बिजुलीले जनता हैरान छन्,’ उनले भने, ‘प्राधिकरणको दाबी छ- लोड थेग्न सकिएको छैन, के ८/९ वर्षअघि लोड थेगिएको देश अहिले बिजुली उत्पादन वृद्धि हुँदाहुँदै लोडले थेग्न नसक्ने अवस्थामा पुगेको हो?’
सरकार र विद्युत् प्राधिकरणले केही इन्भर्टर र सोलर कम्पनीसँग मिलेर जनतालाई अन्धकारमा राख्ने काम गरिरहेको आरोपसमेत उनले लगाए।
‘घुस लिएर निजी व्यवसाय फस्टाउने वातावरण बनाइएको छ,’ उनले भने।
यस क्रममा उनले भ्रष्टाचारविरुद्ध पनि गीतकै शैलीमा प्रहार गरे।
उनले गाए:
‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर,
भ्रष्ट पालेर, दलाल पालेर...
जनता अन्धकारमा,
सरकार भ्रष्टाचारमा
जनता रोएको रोयै
सरकार हाँसेको हास्यै
यस्तो गर्न पाइँदैन, अब धेरै सहिन्न...’
लामो समय स्थगित कोसी प्रदेशसभाको बैठक साउन ११ गतेदेखि सञ्चालन भएको हो।
पहिलो दिनको बैठकमा सांसद शेर्पाले सिखु खोलाले ल्याएको गेग्र्यानले दुधकोसी थुनिएको जानकारी गराए। दुधकोसीमा रहेको पुलको पिलर बांगिएको र पुरेको बताए।
२०७६ सालमा प्रदेश सरकारको बजेटबाट ठेक्का लागेको पुल यातायात सञ्चालन नहुँदै पुरिएपछि यसको प्राविधिक डिजाइनमै सांसद शेर्पाले प्रश्न उठाए थिए।
यसपछि भोलिपल्ट अर्थात् साउन १२ गतेको संसद् बैठकमा उनले सगरथामा अहिले शवहरू छरिएर रहेको, फोहोर प्रशस्त रहेकाले यस विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे।
‘रोयल्टी उठाउने सरकारले त्यहाँ वर्षौँदेखि छरिएर रहेका शवहरू र फोहोर उठाउने काममा किन ध्यान दिन नसकेको, उनले भने, ‘हजारौँ किलो फोहोर थुप्रिएको अवस्था छ, सगरमाथाको ८ हजार ७ सय ९० मिटरको हिलारी स्टपेमा बर्षौं पुरानो पर्वतारोहीको पार्थिव शरीर रहेको छ भन्ने जानकारी आएको छ।’
अहिले सगरमाथा आरोहण गर्नेहरू शव टेकेर जानुपर्ने अवस्था रहेको उनले बताए।
केन्द्र सरकारले सगरमाथाका शव र फोहोर व्यवस्थापन गर्न नसकेको टिप्पणी गर्दै उनले प्रदेश सरकारलाई समन्वय गर्न आग्रह गरे।
Shares

प्रतिक्रिया