वराहक्षेत्र नगरपालिका- ९ को राजावास घाट। आज पनि कोसी आक्रामक छ। उसका छालहरूले आकाश छुन खोजेजस्तो गर्जन गरिरहेका छन्।
नदीले बगाउँदै ल्याएका टुटेका हाँगा, भाँचिएका रूखका टुक्रा, चिरिएको तटबन्ध, सबै एकै चोटि उसकै पेटमा लुटपुटिँदै किनारमा आउँछन्। यही अव्यवस्थित बहावमा बाँच्नेहरूको जीवन पनि नदी जस्तै उथलपुथल छ। नदीले ल्याएका टुक्रिएका काठ, हाँगा र दाउराहरू किनारमा अड्किन्छन्।
जाली लगाएको पर्खालका किनारमा भिजेको बालुवासँगै नाङ्गो खुट्टा टेकेर दुई बालकहरू दाउरा टिप्दै छन्। ११ वर्षका प्रवेश मुखिया र १२ वर्षका राहुल कबत आज शनिबार भएका कारण बिहानैदेखि घाटमा छन्। उनीहरू श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी हुन्। 
स्कुलमा बिदा भएकाले आज दाउरा टिप्ने दिन हो। प्रवेश भन्छन्, ‘पढ्न त जान्छौँ नि, तर छुट्टी परेपछि दाउरा टिप्न आउनै पर्छ।’ पढ्ने उमेरका यी बालकहरूको हातमा बिदाको दिन किताबभन्दा बढी नदीले ल्याएको भिजेको काठहरू हुन्छन्।
नदीको धार उर्लिरहेको छ। कहिलेकाहीँ अचम्मै बढ्छ, एकाएक छालहरू अचानक खतरनाक रूपमा बग्छ। प्रवेश सम्झिन्छन्, ‘अस्ति त दाउरा तान्दै गर्दा पानीले तानेको थियो, थोरैले म बचेको।’
मनमा असङ्ख्य डर छ, डर भए पनि उनीहरू फर्किँदैनन्। कारण भनेको एउटै हो, घरमा चुलो बाल्न दाउरा चाहिन्छ। कहिलेकाहीँ बेच्दा पनि परिवारलाई सानो राहत हुन्छ।
१२ वर्षको राहुल र ११ वर्षको प्रवेश। उनीहरूको अनुहारमा बाल्यताको चमक छ तर काँधमा भने वयस्कको दायित्व। हातमा किताब हुनुपर्ने उमेरमा उनीहरूको हात भिजेको काठको बोझले भारी भएको छ।
राहुल भन्छन्, ‘पढ्न त जान्छौँ, तर शनिबारको छुट्टीमा दाउरा टिप्नै आउनुपर्छ।’ अनि प्रवेश थप्छन्, ‘डर त लाग्छ, पानी एक्कासि बढ्छ। तर घरमा चुलो बाल्न चाहिँ दाउरा नभई हुँदैन।’
बगरमै मानिसहरू व्यस्त छन्। कोही काठ किनारमा तान्दै छन्। कसैले भिजेको दाउरा बोकेर माथि पुर्याउँदै छन्। किनारमा निकालिएका काठहरू ट्याक्टरमा लोड पनि भई नै रहेका छन्।
छेउमै एक महिला दाउरा संकलन गर्दै छिन्। उनको नाम चन्द्र कुमारी राई हो। नदीको किनारबाट मुढोलाई सकी नसकी माथि धकेल्दै ल्याउँदै थिइन्। बोकेको भिजेको दाउरा झार्दै उनले मुस्कुराउँदै भनिन्, ‘बेच्ने पनि गर्छौँ, घरमा बाल्न पनि प्रयोग हुन्छ। एक महिना देखि निरन्तर यही किनारमा छु, दिनदिनै आउँदिन जब नदीले ल्याउँछ, त्यति बेला मात्र टिप्छौँ।’
उनका श्रीमान् नियमित काम गर्दैनन्, परिवार धान्ने जिम्मा उनको काँधमा छ। दाउरा बेच्दा दुई/तीन हजार रुपैयाँ आउँछ। तर त्यो पर्याप्त हुँदैन। ‘थोरै-थोरै पैसा हुन्छ, तर बाध्यता ठूलो छ। के गर्ने, घर चलाउनुपर्ने हुन्छ,’ उनको स्वर भारी लाग्छ।
कोसी नदीसँग जोडिएको यो जीवन डरले भरिएको छ। नदीको पानी अचानक बढ्दा संकलन गर्न आएका मानिसहरू भागाभाग गर्छन्। कतिपयलाई त पानीले तानेको घटनाहरू अझै बस्तीमा चर्चा भइरहेका छन्। ‘डर लाग्छ, तर के गर्ने, हरेक वर्ष यस्तै हो,’ चन्द्र कुमारी भन्छिन्।
कोसी किनारका अधिकांश परिवार कृषिमा आश्रित छन्। धेरैलाई दाउरा टिपेर, मजदुरी गरेर वा सानोतिनो काम गरेर गुजारा गर्नु परेको छ। कोसीले ल्याएको दाउरा उनीहरूका लागि वरदानजस्तो पनि हो, तर त्यो वरदान लिनुअघि उनीहरूले जोखिमसँग सौदा गर्नुपर्छ।
प्रवेश र राहुल जस्ता बालबालिकाले बिहान स्कुल जाने, बिदामा दाउरा टिप्ने, बेलुकी पढाइ र घरको काम सघाउने दैनिकीमा आफूलाई अभ्यस्त पारेका छन्। उनीहरू भन्छन्, ‘सानैदेखि गर्दै आएको हो।’
उनीहरूको कुरा सुन्दा यो जीवन सामान्य लाग्छ, तर बाहिरबाट हेर्ने जो कोहीलाई यो कहालीलाग्दो छ। उनीहरू पानी बढ्दा डराएर चिच्याउँछन्, तर फेरि दाउरा तान्न भुल्दैनन्। 
बालबालिकाहरूले पढाइ र श्रमलाई एउटै डोरीमा बाँधेर बाँचिरहेका छन्। बिहान स्कुल, बेलुकी वा छुट्टीमा घाट। उनीहरूको अनुहारमा हाँसो छ, तर त्यो हाँसोको पछाडि भविष्यप्रतिको अनिश्चितता छ। नदीको गर्जन, बालबालिकाको चिच्याहट र महिलाहरूको थकाइ मिसिएको आवाज मिलेर राजावास घाटको संगीत बनेको छ।
हरेक वर्ष पानी बढ्छ, हरेक वर्ष दाउरा आउँछ र हरेक वर्ष यहाँका बालबालिकाले बाल्यकालभन्दा अघि श्रमको पाठ सिक्छन्। कोसी नदीका छालह जस्तै उनीहरूको जीवन पनि अस्थिर छ। तर त्यो अस्थिरताभित्रै एक अदृश्य साहस लुकेको छ, जसले भोलिको कथा लेख्दै जानेछ।
Shares

प्रतिक्रिया