कोशी


‘जेन-जी आन्दोलन’बाट कोसीमा ७७ करोड क्षति, कुन कार्यालयको कति?

‘जेन-जी आन्दोलन’बाट कोसीमा  ७७ करोड क्षति, कुन कार्यालयको कति?

सुमन सुस्केरा
कात्तिक १४, २०८२ शुक्रबार १९:२८, विराटनगर

गत भदौ २४ गते कोसी प्रदेशमा भएको ’जेन–जी आन्दोलन’ले प्रदेश सरकार र मातहतका निकायहरूलाई करिब ७७ करोड रुपैयाँ बराबरको ठुलो आर्थिक क्षति पुर्‍याएको छ।

आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको विस्तृत अध्ययन गर्न गठित ’क्षति अध्ययन तथा मूल्याङ्कन समिति’ले बुझाएको प्रतिवेदनमा तथ्यांंक उल्लेख गरिएको छ। कोसी प्रदेश सरकारले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण तयार गर्न समिति गठन गरेको थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर बिनम दाहालको नेतृत्वमा वरिष्ठ लेखा अधिकृत ध्यान विलास राई, ई. आश्या भट्टराई, ई प्रवीणकुमार यादव र ई. सोनम सिन्हा (सदस्य सचिव) रहेको समितिले तयार पारेको यो प्रतिवेदनले ठूलो क्षति भएको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको छ।

आन्दोलनले प्रदेशको आर्थिक अवस्थामा गम्भीर प्रभाव पारेको र पुनर्निर्माणका लागि ठूलो चुनौती सिर्जना गरेको यस प्रतिवेदनले औँल्याएको छ।

समितिले बुझाएको प्रतिवेदनमा आन्दोलनले कुल ७६ करोड ९५ लाख २७ हजार रुपैयाँको नोक्सानी पुर्‍याएको छ, जसमध्ये आधाभन्दा बढी हिस्सा सवारी साधनमा भएको क्षतिले ओगटेको छ। प्रदेश सरकारका विभिन्न निकायका २६५ वटा सवारी साधनमा आगजनी र तोडफोड हुँदा ४१ करोड ५२ लाख ९४ हजार १४९ रुपैयाँ बराबरको नोक्सानी भएको छ, जुन कुल क्षतिको करिब ५४ प्रतिशत हो।

आन्दोलनले भवन, सवारी साधन, फर्निचर, कम्प्युटरलगायतका उपकरणहरूमा व्यापक क्षति पुर्‍याएको छ। ५० वटा भवनमा आगजनी र तोडफोड हुँदा १८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। कम्प्युटर, प्रिन्टर, एसी, फ्रिज आदिमा १० करोड ५१ लाख ८५ हजार ७८७ रुपैयाँको क्षति पुगेको तथ्याङ्कमा देखिएको छ। ४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको फर्निचर जलैको छ। सर्भर, कम्प्युटर, राउटर, टेलिफोन, साउन्ड सिस्टम, माइक्रोफोनमा १ करोड ७७ लाख ८३ हजार रुपैयाँको क्षति भएको छ।

ग्यास चुलो, सिलिन्डर, पर्दा, थाल, बिजुलीको तार आदिमा ४१ लाख ७८ हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रतिवेदनमा भनिएको छ।

मन्त्रालयगत क्षतिको विवरण
प्रतिवेदनले मन्त्रालयगत रूपमा भएको क्षति र पुनर्निर्माण खर्चको विस्तृत विवरणसमेत प्रस्तुत गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबैभन्दा बढी १५ करोड ६२ लाख ३० हजार ७५५ रुपैयाँको नोक्सानी पुगेको छ। यसमा भवन पुनर्निर्माणका लागि २ करोड ७८ लाख २३ हजार १४५ रुपैयाँ र ३६ वटा सवारी साधनमा ७ करोड ७९ लाख ४१ हजार ६७२ रुपैयाँको क्षति समावेश छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १३ करोड ५ लाख ८९ हजार ७१४ रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। भवन मर्मतमा ६ करोड ४७ लाख ७३ हजार २१४ रुपैयाँ र २७ वटा सवारी साधनमा ६ करोड ८० हजार रुपैयाँको क्षति भएको छ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा १२ करोड ८२ लाख ९३ हजार ४९८ रुपैयाँको कुल क्षति भएको छ। भवन पुनर्निर्माण लागत ३६ लाख ९० हजार ९९९ रुपैयाँ र ३४ वटा सवारी साधनमा ६ करोड ४३ लाख ५९ हजार ६३१ रुपैयाँको क्षतिमा समावेश गरिएको छ। 

कोसी प्रदेश सभा सचिवालयमा १२ करोड ६७ लाख ४५ हजार ३५२ रुपैयाँको नोक्सानी भएको छ। भवनमा ४ करोड ६७ लाख १० हजार ९३० रुपैयाँ र सवारी साधनमा ५ करोड ५ लाख ३७ हजार ७९६ रुपैयाँको क्षति छ। भौतिक पूर्वाधार विकास मन्त्रालयमा ८ करोड ८८ लाख ७९ हजार ६९१ रुपैयाँको क्षति भएको छ। भवनमा १ करोड ६२ लाख ५५ हजार ७१७ रुपैयाँ र ६१ वटा सवारी साधन (५१ मोटरसाइकल/स्कुटरसहित) मा ४ करोड ४४ लाख ७५ हजार ८५५ रुपैयाँको क्षति पुगेको छ। 

पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ८ करोड १५ हजार ८३० रुपैयाँको क्षति। भवन मर्मत पुनर्निर्माणका लागि १ करोड २ लाख ४९ हजार ८९९ रुपैयाँ र २९ वटा सवारी साधनमा ६ करोड ३७ लाख ८९ हजार ८९५ रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

स्वास्थ्य मन्त्रालयमा ६ करोड ५५ लाख ७५ हजार १७६ रुपैयाँको नोक्सानी हुँदा भवनमा ३३ लाख ३५ हजार १४२ रुपैयाँ देखाइएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयमा ३ करोड ५८ लाख ४० हजार ७९५ रुपैयाँको कुल क्षति हुँदा भवनमा ३ लाख ६४ हजार ५६५ रुपैयाँ रहेको छ। त्यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा २ करोड २३ लाख ९५ हजार ३७६ रुपैयाँको कुल क्षति भएको छ। 

सामाजिक विकास मन्त्रालयमा १ करोड २२ लाख २२ हजार १३४ रुपैयाँ, प्रदेश लगानी प्राधिकरणमा २ लाख ९९ हजार ८५० रुपैयाँको सबैभन्दा कम क्षति भएको छ भने मुख्य महान्यायाधिवक्ता कार्यालयमा ५ हजारको सामान्य नोक्सानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रदेश लोक सेवा आयोगमा कुनै पनि क्षति भएको छैन।

धेरै सवारीमा क्षति
आन्दोलनमा प्रदेश सरकारका ६८ वटा चार पाङ्ग्रे सवारी साधन, १७३ वटा मोटरसाइकल/स्कुटर, २० वटा साइकल र ४ वटा इलेक्ट्रिक सवारी साधन जलेर खरानी भएका छन्। सवारी साधनमा भएको क्षतिको ९० प्रतिशतभन्दा बढी हिस्सा मोरङ जिल्लामा केन्द्रित रहेको छ।

मोरङमा मात्रै २३७ वटा सवारी साधनमा ४० करोड ८६ लाख ७७ हजार ४६२ रुपैयाँ बराबरको क्षति भएको छ। झापामा ६० लाख ४१ हजार र सुनसरीमा ५ लाख ७५ हजार बराबरको सवारी साधनमा क्षति पुगेको तथ्याङ्कले देखाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad