कोसी प्रदेशका प्रमुख राजनीतिक दलहरूले आगामी फागुन २१ गते चुनाव हुने कुरामा आशङ्का व्यक्त गरेका छन्। अहिलेकै अवस्थामा चुनाव हुन नसक्ने बताएका हुन्।
कोसी प्रदेशमा क्रियाशील राजनीतिक दलहरूको सहभागिता संवाद समूहले आयोजना गरेको संवादको क्रममा दलहरूले निर्धारित समयमा चुनाव हुनेमा आशा व्यक्त गरेका हुन्। संवादमा वर्तमान राजनीतिक–सामाजिक अस्थिरता, सेवा प्रवाहको अवरोध, सुरक्षा चुनौती र सुशासनप्रति जनआकाङ्क्षालाई सम्बोधन गर्न दलहरू एकजुट भएर अघि बढ्ने साझा निष्कर्ष निकालिएको छ।
मंगलबार विभिन्न दलका प्रतिनिधिहरूले आ–आफ्नो धारणा राख्दै समाधानका मार्ग र राज्यका संरचनालाई सबल बनाउने विषयमा विस्तृत छलफल गरेका छन्।
नेकपा एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले सेना–प्रहरी असुरक्षित अवस्थामा परेको स्थिति चिन्ताजनक रहेको बताए। स्थानीय जनप्रतिनिधिको मनोबल बढाउन पुनर्निर्माणका लागि तत्काल सरकारले काम थाल्नु पर्नेमा जोड दिए।
कांग्रेस कोसीका उपसभापति रमेशजंग रायमाझीले आफूहरू तेस्रो पुस्ताका नेता भएर पनि सुध्रिन नसकेको स्वीकार गरे। अहिले प्रहरीको मनोबल घटेको अवस्थामा चुनाव हुन समस्या हुने बताउँदै तत्काल प्रहरीलाई स्रोत–साधन उपलब्ध गराई प्रहरीलाई पूर्ण रूपमा काम गर्ने वातावरण बनाउन आग्रह गरे। उनले प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाई शान्ति–सुरक्षा बलियो बनाउनुपर्ने बताए।
माओवादी केन्द्रका सचिव गणेश उप्रेतीले संघीयता कार्यान्वयनका लागि संविधान मान्नै पर्ने भन्दै जेनजी आन्दोलन व्यवस्था विरोधी नभएको तर त्यसलाई नकारात्मक रूपमा मोड्ने शक्तिहरू जिम्मेवार रहेको आरोप लगाए। संघीयता बलियो बनाउन दलहरू सबै जिम्मेवार बन्नु पर्ने बताए। उनले निर्धारित मितिमा चुनाव हुन नसके फागुन २२ गते संसद् पुन स्थापना गरेर जानुपर्नेमा जोड दिए।
कांग्रेसका प्रदेश सहमहामन्त्री डा प्रमिला गच्छदारले सेवा प्रवाह सञ्चालनमा व्यापारी तथा स्थानीय समुदायको सहयोग प्रशंसनीय रहेको बताइन्। आगामी दिनमा उनले नागरिकका सेवा प्रवाहलाई सहज बनाउनको लागि प्रविधि–मैत्री सेवा र एउटै ढोकाबाट सेवा दिने प्रणाली अनिवार्य भएको टिप्पणी गरिन्।
जसपा कोसी प्रदेशका उपाध्यक्ष सुनिल ठाकुरले सेवा प्रवाह चाहिएको खण्डमा एउटा कोठाबाट पनि सुरु गर्न सकिने बताए। धेरै स्थानीय तहमा जनप्रतिनिधिको व्यवहारमा अहिले पनि सुधार हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री प्रह्लाद साहले अदूरदर्शिताले अहिलेको समस्या चुलिएको बताए। फरक विचार राख्नेहरूलाई धरपकड गर्नु समाधान नभएको टिप्पणी गर्दै भोलीका दिनमा देशको अवस्था भयावह आउन सक्ने भएकोले सचेत हुनु पर्नेमा जोड दिए।
एकीकृत समाजवादीकी प्रदेश अध्यक्ष सरिता थापाले राज्य सञ्चालन संयन्त्र जनचाहनासँग तालमेल नहुँदा युवा पुस्तामा निराशा बढेको भन्दै सुशासन र भ्रष्टाचारमाथि निर्मम छानबिन आवश्यक रहेको बताइन्।
Shares

प्रतिक्रिया