झापा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा विवाद उत्पन्न भएको मतगणनाको विवाद २ दिन पछि फेरि सुरु भएको छ। झापाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं–२ मात्रै अझै नतिजा टुङ्गो लाग्न सकेको छैन। क्षेत्र नं.–१, ३, ४ र ५ को मतगणनामा अध्यक्ष केपी ओली समूहको वर्चस्व रहेको भए पनि क्षेत्र नम्बर २ मा धेरै नेताहरू एकै ठाउँमा उम्मेदवार बन्दा विवाद चुलिएको थियो।
झापा–२ मा खुलातर्फका पाँच प्रतिनिधिका लागि १९ जना प्रतिस्पर्धामा छन्। जसमा प्रमुख प्रतिस्पर्धीमध्ये प्रदेश मन्त्री एकराज कार्की, प्रदेशसभा सदस्य चिन्तन पाठक, जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, प्रदेश संयोजक देवराज कार्की र लगायतका नेता मुख्य प्रतिस्पर्धी हुन्। कुल ६९८ मत गणना बाँकी रहँदा मतान्तरका विषयपछि विवाद ‘उत्कर्ष’ मा पुगेको नेताहरूले बताएका छन्।
बिर्तामोडस्थित एमाले जिल्ला कार्यालयमा शनिबार राति साढे २ बजेसम्म मतगणना जारी थियो। यस क्रममा मेयर बलदेवसिंह गोम्देनका समर्थनमा आएको सदर मतलाई बदर गरिएको भन्दै करिब १२–१५ जना स्थानीय युवाहरूले विरोध जनाएपछि मतगणना रोकिएको हो। विवादपछि करिब २ हजार मत गनिसकिएका थिए भने थप १०० मत गणना हुँदा अग्रता बढ्दै गएपछि गोम्देन समूहले मतगणना अवरुद्ध गराएको आरोप प्रतिद्वन्द्वीहरूले लगाएका छन्।
सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशव ढुङ्गेललाई पनि घटनामा नाम जोडिएको छ।
ढुङ्गेलसहित अग्नि खरेल, गोविन्द थापा र स्थानीय नेताहरू मेयर गोम्देनको समर्थनमा सक्रिय भएको स्रोतको दाबी छ। मत गणना गर्दागर्दै अवरुद्ध पछि रोकिएको ६ सय मत गणना गर्ने सहमति भए पनि एमालेका केन्द्रीय नेता रविन कोइराला आएपछि ‘सबै मत गनिनुपर्छ’ भन्ने माग उठेपछि सहमति भङ्ग भएको एमाले निकटका नेताहरू बताउँछन्।
‘बलदेवको डरले धेरै नेताहरू खुलेर बोल्न सकेनन्। त्यसैले विवाद छिटो समाप्त हुन सकेन’ एमालेका एक नेताले भने।
सबै पक्ष पुनः सहमतिमा आएपछि आज बिहानदेखि मतगणना फेरि सुरु भएको छ। सुरु देखि नै मत गणना गर्ने सहमति पछि अहिले गणना जारी रहेको छ। १२ सय बढी त गणना हुँदा प्रतिस्पर्धीमध्ये प्रदेश मन्त्री एकराज कार्की, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, प्रदेशसभा सदस्य चिन्तन पाठक, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, प्रदेश संयोजक देवराज काकी क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ छन्।
नेकपा एमालेका नेता एवम् कोसी प्रदेश सरकारका मन्त्री एकराज कार्कीले मत गणनामा सामान्य समस्या आए पनि अहिले कुनै समस्या नभएको बताए। रोकिएको मत गणनाको विषयलाई गलत प्रचार भएको एमाले झापा जिल्ला अध्यक्ष गिरीले बताए। शान्तिपूर्ण रूपमा अहिले मत गणना भइरहेको उनले जानकारी दिए।
कुल ९ सदस्यीय प्रतिनिधिका लागि ५ खुला, ३ महिला र १ अन्य खुला पद रहेका छन्। झापा क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्र सभामुख देवराज घिमिरेको क्षेत्र हो। २०७९ मा उनी यहीँबाट निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया